अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २०:४१ | Colorodo: 08:56

नेपालमा हाइड्रोजन, एमोनिया र युरियाबाट इन्धन उत्पादन हुने

बिआरटीनेपाल २०७९ जेठ १० गते ८:१७ मा प्रकाशित

नेपालमा हाइड्रोजन, एमोनिया र युरियाबाट इन्धन उत्पादन हुने भएको छ । दक्षिण कोरियाको ग्लोबल ग्रीन ग्रोथ इन्स्टिच्युट (जीजीजीआई) सँग नेपाल विद्युत् प्राधिकरणले गरेको सम्झौता पत्रमा नेपालमा हाइड्रोजन, एमोनिया र युरियाबाट इन्धन उत्पादनको काम सुरु गर्ने उल्लेख गरिएको हो ।

आज मङ्गलवार सिंहदरबारमा ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालको उपस्थितिमा जीजीजीआईका महानिर्देशक फ्रेङ्क रिजस्बेर्मन र नेपाल विद्युत् प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङले सम्झौतामा हस्ताक्षर गर्नुभएको हो । सम्झौतामा जीजीजीआईले इन्धन उत्पादनका लागि आवश्यक अध्ययन गरिदिने, त्यसको कार्यान्वयनका लागि नेपाल सरकारलाई सहजीकरण गरिदिने र त्यसका लागि आवश्यक सबै खालका प्राविधिक सहयोग गरिदिने भनिएको छ ।

कार्यक्रममा मन्त्री भुसालले यो परियोजनाले विश्वमै महँगो बन्दै गइरहेको पेट्रोलियम पदार्थलाई विस्थापित गर्न उल्लेख्य भूमिका निर्वाह गर्ने बताउनुभयो । उहाँले यो परियोजनाले नेपालको ऊर्जा क्षेत्रको नयाँ ढोका खोलिदिएको पनि बताउनुभयो । मन्त्री भुसालले भन्नुभयो, ‘यो एमओयू महत्त्वपूर्ण छ । यसलाई समयमै कार्यान्वयन गर्दा नेपालको ऊर्जाको क्षेत्रमा नयाँ ढोका खोल्नेछ ।’

सम्झौतामा काठमाण्डौ विश्वविद्यालयलाई पनि संलग्न गराएर नेपालमा हाइड्रोजन इन्धन उत्पादन कामलाई अघि बढाउने उल्लेख गरिएको प्राधिकरणका प्रबन्ध निर्देशक घिसिङले बताउनुभयो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू