अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १४:१३ | Colorodo: 02:28

लव गाउँलेको नन्फिक्सन: ‘अनिच्छित आवाजहरू’ को चड्किलो स्वर

गोपी मैनाली २०७९ वैशाख २८ गते ८:११ मा प्रकाशित

(समालोचना)

लव गाउँलेको ननफिक्सन ‘अनिच्छित आवाज’ (एन अनवान्टेड साउन्ड) भित्र पस्नुअघि नन्फिक्सनका बारेमा थोरै प्रकाश पार्ने अनुमति चाहन्छु । ननफिक्सनका विषयमा प्रकाश पारेपछि लव गाउँले र उनको सिर्जनामाथि विश्लेषण गर्नु सान्दर्भिक हुन्छ ।

फिक्सन राइटिङ् वा कथ्य लेखनमा जस्तो रहस्य, रोमान्स, फैन्टेसी, कल्पना, स्वच्छन्दता, वैचारिक उहापोहभन्दा पर रहेर सामाजिक सङ्केत र वास्तविकताको उजागर गर्नु ननफिक्सन् हो । अझ यो दमित स्वरहरू उठाउन खप्पिस देखिँदै आएको छ ।

यो आख्यानकारिताभन्दा विस्तृत हुन्छ । तथ्य र यथार्थलाई उठाउँछ । यसको दायरा पनि विस्तृत हुन्छ । विद्वानहरू यसलाई ‘अ स्टोरी द्याट इज वेस्ड अन ट्रु इभेन्ट एण्ड इन्फर्मेशन’ भन्ने गर्छन् ।

सरल रूपमा लिँदा ननफिक्सन अरू केही नभएर सामाजिक वास्तविकताको प्रकाशन हो । फिक्सनले फर्मालिटी पु¥याउँदा वास्तविकता छोपिन सक्छ, कल्पना (इमाजिनेशन), स्वैरकल्पना (फेन्ट्यासी), रहस्य (मिस्टेरी), तिलस्मी, भावुकता, मनोलाप जस्ता चरित्र बोक्ने गर्दा कलात्मक पक्ष र लेखकीय आग्रहको भारी बोक्छ । त्यसपछि सामाजिक वास्तविकताबाट बाहिरिन पुग्छ । ननफिक्सनले सामाजिक विकृति, विभ्रम र विव्ल्याटाहरुलाई उदिनीदिन्छ । कतिपय अवस्थामा लुकेको सत्य, गुम्सिएको जीवन वृत्ति, दबिएको आवाज, नबोलिएको स्वर र समाजसंरचनाको सीमान्तपींधमा पारिएका विषय बस्तुलाई अगिल्तिर ल्याइदिन्छ । त्यसैले यो सामाजिक बस्तु हो । कल्पना होइन, यथार्थ हो ।

यसको मतलब ननफिक्सनमा कलाकारिता हुँदैन भन्ने खोजिएको होइन, यसरी बुझ्नु पनि हुन्न । कलाका आडम्बर जवर्दस्त आग्रह चाहिँ हुँदैन भन्न खोजिएको हो । कला, शिल्पसन्धान र प्रस्तुति मिठासता यसका आधार चरित्र नै भए । कलाविनाको सिर्जनाको कल्पना हुँदैन ।

वास्तविकता छोप्नु हुन्न, उदिन्नु पर्छ, त्यो नै समाज निर्माण र विनिर्माण, सामाजिक प्रवर्तन र प्रजननशीलताको आधार हो भन्ने जगमा ननफिक्सन गरिन्छ । समाजलाई सिर्जनात्मक तनाव दिन ननफिक्सन गरिन्छ । गरिएको लेखिन्छ, देखिएको लेखिन्छ, भएको उठाइन्छ तर आदर्शको आग्रह राखिन्न ।

गैरआख्यान विधा पनि हो, अविधा पनि हो । विधा यस अर्थमा कि यसभित्र धेरै उपविधाहरु अटाएका हुन्छन्, यसले आफैलाई गैरआख्यान भनेको छ । विधागत नामकरण गर्न सकियो, पद्यात्मकबाट छुट्टाइयो, गद्यात्मकमा लगियो । गद्य वा प्रोजभित्र पनि कथा विधान र संरचनाहरू हटाइयो र जेजस्तो भोगाइ छ, त्यस्तै उठाइयो । त्यसैले विधाको परिभाषामा समेटिएको छ ।

अविधा यस अर्थमा कि धेरै उपविधाको मिश्रणले यौगिक बनाइन सक्छ । वाङ्मयमा कुनै विधामा नपर्दा पनि विधा नभएको विधा वा ‘अविधा’ बनाउन सकिन्छ, बन्ने गरेको पनि छ । केही नियात्रा, केही घटना, ससाना कथ्य, तथ्य, सन्देश, विचार आदि एकै ठाउँमा यौगिक बनाइन्छ । तर यौगिक बनाउने प्रक्रिया रासायन विज्ञानको जस्तो पनि हुँदैन, यसका विधि र प्रविधि सामाजिक प्रकृतिका हुन्छन् । लव गाउँले नन्फिक्सनलाई त्यही अविधातर्फ लगेका छन् ।

वोधगम्यता र सम्प्रेषणका आधारमा यो सरल हुन्छ । हुनुपर्छ । कला अभिव्यक्ति कहिले पनि क्लिष्ट हुनुहुन्न । त्यसमा पनि अविधा वा ननफिक्सनले सरलतालाई अत्मासात गरेकाले नै ती रुचाइएका हुन् । पाठकबाट नरुचाइएको सिर्जना बाँच्न सक्दैनन् । सिर्जनालाई जीवन दिन, बचाइ राख्ने नै पाठक हुन् । दैनिकी, मेम्वाएर, डायरी, न्यूज स्टोरी, आत्मवृत्तान्त, ट्राभल मेमोरी, अरू थुप्रै कुराहरू सरल भएकाले नै रुचाइएर पाठकका मन जितेका हुन्छन् । अभिव्यक्ति सरल हुनुको विकल्प छैन ।

ननफिक्सनमा संरचना वा रचनाविधानको भार हुँदैन । रचनाहरू संरचनाको भारले थिच्दा पनि बोझिला बनेका थुप्रै उदहारणहरु छन् । तर ननफिक्सन त्यो बोझबाट मुक्त हुन्छ । जस्तो कि कथ्य लेखनमा पात्रको घटना–विकास–द्वन्द्व–उत्कर्ष–साम्य वा विसर्जन (इभेन्ट–डेभलपमेन्ट–कन्फ्लीक्ट–क्लाइमेक्स र रिजोलुसन) को सिलसिला हुन्छ । पात्र त्यस शृङ्खलाबाट उम्किन सक्दैन । यो ‘क्लइमेक्स लिङ्क’ प्रक्रिया जति गहन भयो, त्यति नै आख्यान राम्रो मानिन्छ । शास्त्रीय विधानले त यसलाई झनै महत्त्व दिएको छ । यस अर्थमा मुख्य पात्र ‘हिरोइक जर्नी’ गरिरहेको हुन्छ र उप÷सहायक पात्रहरुले त्यो संरचनालाई विभिन्न किसिमबाट, आआफ्नै भूमिकामा सघाइ रहेका हुन्छन्, वा भनौँ, सघाउन लगाइएको हुन्छ । स्वयम् लेखक प्रधान पात्र भएर बकिरहेको हुन्छ । तर ननफिक्सनमा सामान्य घटना, सामान्य पात्र दैनन्दिनी क्रियामा हुन्छ, औपचरिक संरचना शृङ्खला बुनिएको हुँदेन । जस्तो कि लव गाउँलेको मुख्य पात्र केशव कुमार खकुरेल सामान्य पात्र हो, सामान्य दिनचर्यामा छ, घटना वस्तुलाई सामान्य रूपमा हेरिरहेको छ, विचार र विश्लेषण गर्दैन, केवल क्यामेरा स्क्यानिङ गर्छ । त्यसैले यो घटना विकास–विकास–उत्कर्ष–विसर्जनको शृङ्खलामा छैन ।

ननफिक्सनका प्रमुख स्वरूपहरू, जस्तो कि संस्मरण, ट्राभल राइट, अटोवायोग्राफी, सिर्जनात्मक पत्रकारिता, निबन्धमा वैयक्तिक अनुभवले लेखनीलाई विश्वसनीय बनाएको हुन्छ ।

ननफिक्सनले लेखनीको शास्त्रीय सीमा भत्काउँछ । अनुभव र तथ्यलाई आत्मसात् गर्छ । शास्त्रीय सीमाबद्धता भत्काउनुको अर्थ मिथ मेकिङ् गर्दैनन्, रहस्य, फैन्टेसीमा पुग्दैन । यो प्रथम भाष्यमा वा फस्र्ट ह्याण्डमा लेखिन्छ । फेव्रिकेशन हुँदैन, कस्मेटिक पनि हुँदैन । आजभोलि पत्रिकाको फिचर राइटिङ्मा नन्फिक्सन लेखन औधी रमाएर आएको छ । त्यो सर्वसाधारणको सम्प्रेषणीयताका कारण हो । अव यो विधा (वा अविधा) बाट ‘लेखन शैली’ बन्ने दिशामा छ । जस्तो कि सौरभ गरिरहेका छन् ।

यस्ता गैर आख्यानहरू साहित्यिक समालोचनाबाट केही सीमामा छन् । समालोचनाका प्राथिमकितामा पद्य, आख्यानहरू छन् । आजभोलि समालोचना विधा पनि कि त हराउँदै छ वा संरचनामुखी बन्दैछ । तर ननफिक्सनको मूल्य गवेषकहरू स्वयम् पाठक हुन्, समालोचनाले पाखा लगाए पनि पाठकले मूल्य लिए भने सच्चा समालोचना त्यही भइहाल्छ । समालोचक प्राज्ञिक विवेचना गर्छ, पाठक अनुभूतिमा मनभित्रै विवेचना गर्छ ।

पत्रकार, स्तम्भकार, पेसा अनुभवी, यात्राकार, चिन्तन पृष्ठभूमिका थुप्रै अविधा भन्न लायक ननफिक्सनमा लेखकहरू आएका छन् । जस्तो कि प्रदीप गिरिको ‘आधारभूत सङ्कलन’, सौरभको ‘असहमति’ विजय चालिसेको ‘जीवनका वक्र रेखा’, हरिवंश आचार्यको ‘चिना हराएको मान्छे’ मोहन मैनालीको ‘मन्ठा हराएको जुग’ र ‘उपल्लो थलो’ घनश्याम राजकर्णिकारको ‘विदेशको यात्रा स्वदेशको सम्झना’ आदि । यसले लेखक र साहित्यकार बिचको भेदलाई भत्काइदिन्छ ।

ननफिक्सनले आफ्नो दायरा फैलाएर समाजको साहित्य बनेको छ । यस शताब्दीमा भएको विचार र प्रविधिको विस्फोटले भनांै, चौथो औद्योगिक क्रान्तिले ननफिक्सनको महत्त्व अरू उठाइदिएको छ । किनकि जीवन सोलोडोलामा हिँडेको छैन, सिद्धान्त र सूत्रमा हिँडेको छैन, सजिलोमा हिँड्न चाहेको छ । आयामेली प्रतिष्ठाता इन्द्रबहादुर राईले बनेझै दूध भातमा चिनी हाल्दैमा खीर बन्दैन । खीरको छुट्ट्रै स्वाद भएझैँ ननफिक्सनले अतिरेक मिसाएर सिर्जना गर्न हुन्छ र ? भन्ने चुनौती दिन्छ । त्यसैले ननफिक्सनले खीरजस्तै सादा जीवन उठाउँछ । त्यसैमा रमाउँछ । चिनी हालेर खीर बनाउने यत्नभ्रम गर्दैन । त्यसैले जीवनको आयामिक अर्थ यसैले उठाउँछ ।

केही नेपाली ननफिक्सनलाई दृष्टान्तमा राख्न सकिन्छ । जुलिया वेबर गार्डनको ‘ग्रामीण स्कुलमा चार वर्ष’ (अमेरिकी शिक्षिकाको डायरी), नारायण वाग्लेको ‘कोरियना कफी गफ’, अभि सुवेदीको ‘साहित्य र आमवृत्त’, उत्तम कुँवरको ‘स्रष्टा र साहित्य’, ददि सापकोटाको ‘दुखेको युरोप’, सौरभका ‘असहमति’ आदिलाई लिन सकिन्छ । ताना शर्मा, खगेन्द्र लुइटेल, शङ्कर लामिछाने, यादव खरेलहरू गैरआख्यन भित्र पनि शीर्ष प्रयोगमा छन् । लव गाउँले प्रखर र हिम्मतिलो अभिव्यक्तिमा थपिएका छन् । यसको दायरा निकै लामो हुन्छ । किनकि कथा विधानमा नबाँधिएका अरू थुप्रै सिर्जना ननफिक्सनमा पर्ने भएपछि यसको आयतन फराकिलो हुने नै भयो ।

तर फिक्सन भित्र पनि ननफिक्सन मिसिएको हुन्छ, त्यस्तै नन्फक्सनभित्र पनि फिक्सनका ससाना कथ्यचरित्र, घटामक्रम र पात्र चरित्र हुनसक्छ । अथवा भनौँ, दुवै विशुद्ध हुँदैनन्, यी दुईबिचको मिश्रित क्षेत्र ‘ग्रे एरिया’ ले रचनालाई हाइब्रिड बनाउन सक्छ । आख्यानकारिता र गैर आख्यानकारिताको मात्रा कति छ भनेर हेर्नुपर्ने हुन्छ ।

अव दोस्रो प्रसङ्गमा प्रवेश गरौंं, लव गाउँलेको ‘अनिच्छित आवाज’ (एन अनवान्टेड साउन्ड) भित्र । लव गाउँले र उनको कृतिको विश्लेषण गर्दा ननफिक्सनका आधारभूत चरित्र र प्रवृत्तिमा रहेर गर्नुपर्ने हुन्छ । हो, लव गाउँले एउटा साहित्यिक सर्जक हो । पेसागत अनुभव अँगालेको सर्जक, देश विदेश चहारेको, संस्कार–संस्कृति सिकेको, सुखदुख भोगेको, चेतन र अवचेतनमा पोखिएको, गुम्सिएको एउटा पात्र । सर्जक पनि हो, पात्र पनि हो । प्रत्येक सर्जक आफ्ना सिर्जनामा प्रधान पात्र भएर चरित्र देखाउँछ, लव गाउँले त्यसको अपवाद होइन, समाजको पात्र त हुँदै हो । निजामतीवृत्तिबाट राष्ट्रसेवामा लागेको पात्र हो । लेखाइमा आफना् वृत्ति, भोगाई, आकाङ्, अनुभूतिहरू कुनै माध्यम भएर पोखिने हुन् । ‘अनिच्छित आवाज’ मा यही पृष्ठभूमि पोखिएको छ । केशव खकुरेल, लव गाउँले हो कि होइन थाहा छैन, तर त्यो लव गाउँले नै बनेको छ ।

नौ खण्डमा विभाजित कृति सानो छ, तर कृतिले उठाएको कुरा चाहिँ ठुला छन् । कृतिले तत्कालीन समाजको भोगाई वृत्ति, जनजीवनको दुख, आत्म पीडा र उकुसमुकुसलाई तथ्यमा उठाएको छ । तथ्य वा गणितमा त वैज्ञानिक र व्यवस्थापकहरू बोल्छन्, साहित्यकार भावनामा बहकिन्छन् भन्ने अप्रमाणित गरेको छ । नेपालको दुर्गम गाउँ चराङ, घमीदेखि गोलार्धको पूर्वीय कुनो गिङ्न्जा–सिवुया, पश्चिमी कुनो फ्रेङ्कफट, फेरी प्रशान्तीय टापु अस्ट्रेलिया–न्यूजील्याण्ड, उत्तर पश्चिमी आँगन अमेरिका र दक्षिण एशियाली मैदान बङ्लादेश–बैङ्लोर हुँदै पूर्वीय संस्कृतिको पहाडी कुना–कन्दरा नेपालमा आएर टुङ्गिन्छ । पढिसक्दा पुस्तक सकिए जस्तो पनि लाग्दैन, केही बाँकीमै छोडिएको छ । शायद ननफिक्सन नै त हो भनेर ‘फिक्सन’ नगरिएको होला ।

सिर्जना देश देशावर यसरी घुम्नुको मतलव यो नियात्रा लेखन जस्तो लाग्छ । तर नियात्राका सबै स्वरूपहरू यसमा देखिदैनन्, जसरी उनकै अर्को कृति ‘अस्ट्रेलिया ब्लुज’ मा देखिन्छ । गाउँलेले पाठकलाई धेरै ठाउहरु सिलसिला नमिलाईकन घुमाएका छन् । जहाँ जहाँ पुग्यो, त्यहाँ केही विशिष्ट जीवन चरित्र छ, सहायक चरित्र र परिवेशले विशिष्ट चरित्र–कार्यलाई सघाएका छन् । सबै परिवेश र पात्रमा आआफ्नै भोगाइ हुने नै भए, भोगाइहरु इच्छित–अनिच्छित हुने नै भए । तर जहाँ पनि देखिएको, लुकेर रहेको, नसुनिएको, गढेर बसेको तर नछिएको भोगाइ वा अनिच्छित आवाज छ, त्यो यौन, यौवन र आशक्तिको छ । सबैलाई जीवनको माया छ, त्यसैले आशक्ति र तृष्णमा छन् । भूगोल, विकास, चेतना, सुविधा, अभाव, अवस्था र उमेरमा त्यो एकै छ । तर त्यो त्यति सुनिएको छैन, सुनिन खोजे पनि इग्नोर गरिएको छ, आफै दबिएको छ । साधु सन्तमा यौन छ, मेलामा यौन छ, मन्दिरमा यौन छ, पसलमा यौन छ, पत्रिकामा यौन छ, राजनैतिक क्रान्तिका कार्यकर्तामा यौन छ, अधिकार अभियन्तामा यौन छ । समाज, संस्कृति सवैतिर भित्रभित्रै छताछुल्ल छ, तर त्यो लेपिएको छ, छोपिएको छ, जानाजान लुकाइको छ । त्यसैले ‘एन अनवान्टेड साउन्ड’ भनिएको होला । अनवान्टेड कुरा मन पराइन्न, तर वास्तविकता छोपिनु हुन्न, सुनिनुपर्छ भन्ने आग्रह गाउँलेको छ ।

कृतिमा ऋतु, सौन्दर्य र यौनबाट विषयवस्तु प्रवेश हुन्छ । ग्रीक मिथक एडोनिससंग तुलना गरिएका केशव खकुरेलको दिनचर्या, कथावृत्तिको वरिपरि ननफिक्सनले चक्कर मार्छ । दोस्रो खण्डले मन्दिर, थरीथरिका बाबा, साधु भेषका दमित वासनाका विकृत अनुहारहरू, पवित्र चेहराभित्रका अर्कै चरित्रहरू छरपस्ट पार्छ । परिवेशका सबैहरू एक्स्ट्यासीको आशक्तिमा छन् । मनमनै आन्दोलित छन्, तर आफैमा दबेका छन् ।

तेस्रो खण्डमा मुलुकको दुर्दशा (स्याड एण्ड सरो) को चित्र छ, इमानदार कर्मचारीको पीडा, बन्दको पीडा, द्वन्द्वको पीडा, शासन व्यवस्थाको वर्वादी, खबरले किचेर बनेका इन्फ्लेटेड खबरहरू, नकारात्मक सञ्चारको चित्र कोरिएको छ । एउटा अन्तहीन मेलानकोली । त्यहाँभित्र पनि वासना, मनोवासानानुराग वा स्याडोमासोसिज्म छ ।

चौथो खण्ड बन्दुकको त्रास र बेरोजगारीको बाध्यताभित्र पनि लाहुरेकी श्रमितीको समयसाथी (डेट पार्टनर) कुकोल्डको अनुभूति उठाउँदै सुरक्षा, अवसर, संस्कृति र मानवीयताको खानी ठानिएको जापानको किताक्युसी, योकोहामा, हिरोसिमा, क्योतो पुग्छ, त्यहाँ पनि त्यै संस्कार देखिन्छ । अमेरिका र अस्ट्रेलिया पुग्छ र फेरि नेपालको ब्लु डायमन्ड सोसाइटी आइपुग्छ । प्रधान पात्र खकुरेल वासना उत्कण्ठा र यौन स्वतन्त्रताका मामिलामा धनी र गरिबको बिच भिन्नता देख्दैन । र, अनुसुया र द्रौपदीका प्रतिस्पर्धी चरित्रलाई उदाङ्गो पारेर यथार्थ नङ्ग्याउँछ ।

पाँचौँ खण्ड सामाजिक कुरीतिबाट प्रवेश गर्छ । झारफुक, धामी झाँक्री, बैद्य, हुँदै पशुपति यात्राका गुजराती महिलामा पुग्छ । विषयवस्तु रन्थनिएर यताबाट उता, उताबाट यता, देश विदेश दौडिए पनि त्यो अनिच्छित आवाज जहीतही छिपेकै छ ।

छैटौँ खण्ड पोखरा–जोमसोम–कागबेनी–चेले हुँदै लोमान्थाङतिर पुग्छ, खकुरेल र घिर्लिङको वास सौन्दर्य वार्तामा टक्क अडिन्छ । सातौँ खण्ड जापानको गिन्जातिर हानिन्छ । सिवुया सहरको डिस्कोथेक, जापानीहरूको ओर्कोहोलिक र अल्कोहलिक प्रवृत्ति औँल्याउँदै मनिला, ढाका, बैङ्गलोर, फ्रैङ्कफर्ट हुँदै फेरि अमेरिका पुग्छ । सबै यात्राका स्पर्श, अनुभूति र आवाजहरूमा तिनै अनिच्छित मनोवृत्ति छ, दवाइएका आवाजहरू छन् । यस खण्डमा अर्को लुकेको तथ्य उद्घाटित छ, त्यो हो वेदश यात्रामा रहने नेपाली महिलाको ‘बुलिष्ट’ व्यवहार । तर लेखकले पुरुष पात्रलाई त्यत्तिकै आदर्श बनाएका छन् । यसले पनि पुरुषमा भन्दा महिलामा दवाईका आवाज धेरै छन् भन्ने देखाएको छ ।

आठौँ खण्डमा एउटा अन्तरवार्ता छ, जसमा सिने आयाम, प्रशासनिक र राजनैतिक आयाम देखाइएको छ । यसभित्र पनि काउस्टिङ् कोच लगायत थुप्रै गर्भित आवाजहरू छन् ।

नवौँ खण्ड चरित्रहीन चेलीबाट सुरु हुन्छ । ‘टियर अफ सल’ को आदर्श वाक्यबाट नारी मुक्ति, स्वतन्त्रता र उन्मुक्तिको खोजी छ । यौन हिंसा, बाल हिंसा, मासिक धर्म जस्ता सामाजिक विकृतिहरू उदिनिएको छ । जैविक रूपमा (बायोलोजिकल मेकअप) मा मात्र पुरुष महिला भिन्न हुन, सामाजिक रूपमा (सोसल मेकअप मा समान छन् । महिला स्वतन्त्रता, प्रजनन अधिकार, आफ्नै शरीर–अङ्गमाथिको नियन्त्रणमा, आत्म सुरक्षामा दबिएका आवाज छन् ।

कृतिको समग्र यात्रा वृत्ति, भावातिरेक, संवाद, मनोवाद, विवाद जे छन्, ती सबैमा एउटा दबिएको आवाज, अनिच्छित आवाज, गर्भित कुरा उदिनिएको छ । पुरै किताब केशव खकुरेल, जो प्रधान पात्र, पढलेखा, देश विदेश घुमेको, भाग्यशाली छ, उसैको वरिपरि घुमेको छ । केशवको मनोलापमा जोडिएका अरू पात्रहरूको पर्यवेक्षण छ । यो केशव, समय र समाजको मेलानकोली हो । जसरी गाउँले ‘अष्टे«लिया ब्लुज’ मा अथाह पीडा, अतृप्त तिर्खा, अव्यक्ति छटपटी, विरह–बिछोड, विरक्त, उकुसमुकुस–उफान, एक किसमको पागलपन (म्यानिया), विक्षिप्तता, अवसाद र कहिलेकाहीँ कुनै प्रकारको दुव्यर्सनमा देखिएको छ ।

प्रस्तुति, संरचना, घटना विधान, पात्र विन्यास र प्रस्तुतिको आधारमा यो पर्फेक्ट ननफिक्सन हो । तर भन्नु पर्ने कुरा के पनि छ भने लव गाउँले अतिरञ्जना त गर्दैनन्, तर अराजकता देखाउँछन् । उनका ननफिक्सनमान मात्र होइन, पद्य, आख्यानमा पनि त्यो अराजकता छ । तर त्यो सिर्जनात्मक अराजकता बज्र्य होइन, स्वीकार्य हो भनेर बुझ्नु पर्छ । तर समाज सबै स्वरलाई स्वीकृति दिँदैन, समयले देला भन्ने अपेक्षा गरौँ । जसरी समाजको अनिच्छित आवाज वा वृत्तिलाई मन व्यवहारले स्वीकृति दिएको छ, कुनै दिन स्वीकृतिको सीमामा आउँछ, आउनै पर्छ । कृतिको सन्देश पनि यही हो कि सामाजिक वास्तविकतालाई दबाएर राख्नु हुन्न ।

किन त्यही विषयमा कलम चलाए ? भनिएला । पहिला भिक्षु, पोषण पाण्डे, बिपी, तारिणीले पनि आख्यानबाट त्यो अराजकता (हिम्मत ?) देखाएका थिए । पारिजात, दौलतविक्रमहरूले भने दबाएका थिए । अहिले पनि नगर कोटिहरू आख्यानमै यसलाई स्थान दिइरहेका छन् । गैरआख्यानमान लव गाउँलेले छलाङ मारे । विषय, विधान, बान्की र प्रस्तुति सबैमा गाउँलेले छलाङ मारेका छन् । नौलो प्रयोगले विधाप्रतिको न्याय गरेका छन् ।

– मैनाली निवास
क्षितिज मार्ग, शंखमूल ।