अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ००:४९ | Colorodo: 13:04

वनकरिया समुदायबाट सन्तमाया पहिलो उम्मेदवार

बिआरटीनेपाल २०७९ वैशाख २४ गते ६:४४ मा प्रकाशित

नेपालमै वनकरिया समुदायबाट मकवानपुरमा सन्तमाया वनकरिया पहिलो उम्मेदवार बन्नुभएकाे छ । मकवानपुरको मनहरी गाउँपालिका–४ वनकरिया बस्तीकी ५८ वर्षीया सन्तमाया वनकरिया पहिलो उम्मेदवार बन्नुभएकाे हाे। लोपोन्मुख समुदाय अन्तर्गत पर्ने वनकरिया समुदाय नेपालमा मकवानपुर जिल्लाको मनहरी गाउँपालिकामा मात्रै बसोबास गर्ने गरेको छ । यहि वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा पहिलो उम्मेदवार बन्नुभएकी सन्तमाया मनहरी गाउँपालिका वडा नम्बर ४ मा नेकपा माओवादी केन्द्रको तर्फबाट वडा सदस्यमा आफ्नो उम्मेदवारी दिनुभएकाे छ ।

करिब २० वर्ष जंगल जीवन बिताउनु भएकी उहाँलाई सामान्य रुपमा आफ्नो नाम मात्रै लेख्न सक्ने सन्तमाया १८ वर्षअघि जंगल जीवन त्यागेर वनकरिया समुदायसँगै बस्तीमा सर्नुभएकाे हाे। चेपाङ परिवारमा जन्मीनुभएकी उहाँले जंगलमा कन्दमुल टिप्न जाँदा कृष्ण बहादुर वनकरियासँग विवाह गर्नुभएकाे थियाे । उहाँले तीन वटा सन्तानलाई जंगलमा नै जन्माएर हुर्काएको बताउनुहुन्छ । उहाँका दुई छोरा र ७ छोरीहरू रहेका छन । स्थानीय तहको निर्वाचनमा वडा सदस्य बन्न पाउदा सन्तमाया वनकरिया आफैँ अचम्मित भएकाे बताउदैं पहिलो पटक वनकरिया समुदायबाट निर्वाचनमा उम्मेदवार बनेको सपनाजस्तै लागेको छ । अहिले उहाँ गाउँमा भोट माग्नमा व्यस्त हुनुभएकाे छ ।

उहाँ भन्नुहुन्छ, ‘म पनि यसरी राजनीति गरौँला, चुनावमा उठौँला भन्ने कुरा कल्पनामा पनि थिएन । अहिले चुनावमा उम्मेदवार बन्न पाउँदा खुशी लागेको छ’ । आफूले वनकरिया समूदायमा सधै नेतृत्वदायी भूमिका खेलेकै कारण गाउँलेले पनि चुनावमा उठ्नुपर्छ भनेपछि आफूले उम्मेदवारी दिएको उहाँकाे तर्क छ । आफूले निर्वाचनमा जितेकाे खण्डमा वनकरिया समुदायको लागि धेरै राम्रो काम गर्ने उम्मेदवार सन्तमाया वनकरियाकाे दावी छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू