अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १३:५३ | Colorodo: 02:08

लाप्राकमा ‘नेपाल ग्रामीण चलचित्र महोत्सव’ सुरु

बिआरटीनेपाल २०७९ वैशाख ६ गते २०:०० मा प्रकाशित

काठमाडौँ । गोरखा जिल्लाको दुर्गम मानिने लाप्राक गाउँमा ‘नेपाल ग्रामीण चलचित्र महोत्सव’ सुरु भएको छ । सेलिब्रेटी नेपालको आयोजनामा धार्चे गाउँपालिका –४ लाप्राकमा मङ्गलवार चलचित्र महोत्सवको उद्घाटन गरिएको हो ।

उद्घाटन कार्यक्रमका प्रमुख अतिथि रहेका गाउँपालिका अध्यक्ष सन्त बहादुर गुरुङले गाउँमा चलचित्र महोत्सव हुँदा खुसी लागेको बताउँदै महोत्सवले गाउँको पर्यटन प्रवर्द्धनमा समेत टेवा पुग्ने विश्वास व्यक्त गरे ।

महोत्सवका स्थानीय व्यवस्थापक राज गुरुङको सभापतित्वमा भएको उद्घाटन कार्यक्रमसँगै राज सागरको टिमले नेपाली चलचित्रका गीतमा प्रस्तुति दिएका थिए । महोत्सवमा गुरुङ चलचित्र ‘फुङ’बाट चलचित्रको प्रदर्शनी सुरु गरिएको थियो । त्यस्तै, मङ्गलवार स्थानीयसँग ग्रामीण चलचित्र सम्बन्धी अन्तरक्रिया समेत गरिएको छ ।

बुधवारसम्म चल्ने महोत्सवमा विभिन्न भाषामा बनेका अन्य सांस्कृतिक चलचित्र, वृत्तचित्र, सर्टमुभी र फिचर फिल्मसमेत प्रदर्शन गरिने आयोजक संस्थाका अध्यक्ष रघुनाथ सापकोटाले बताए ।

कलाकार रवीन्द्र खड्का, लेखक एवं निर्देशक शिवम अधिकारी, सम्पादक शिव पुरी, साउन्ड एडिटर किशोर आचार्य, पत्रकार तथा निर्देशक लक्ष्मण सुवेदी महोत्सवको जुरी टिममा रहेका छन् ।

जुरी टिमले छनोट गरेका उत्कृष्ट ९ विधामा अवार्ड समेत वितरण गर्दै महोत्सव सकिनेछ । नेपाल चलचित्र विकास वोर्डसँगको सहकार्य रहेको महोत्सवको सह–आयोजकमा ‘भ्वाइस अफ नेपाल म्युजिक इण्डष्ट्रिज’ रहेको छ । महोत्सवमा काठमाडौँबाट गजित विष्ट, पनाह अधिकारी, छिरिङ भुटीया लगायतका फिल्मकर्मीहरू लाप्राक पुगेका छन् भने स्थानीयहरूको उत्साहजनक उपस्थिति छ । स्थानीयहरूले गाउँमा यस प्रकारको कार्यक्रम हुँदा खुसी लागेको बताएका छन् ।

नेपाली मौलिक चलचित्र, चलचित्रकर्मी र स्थानीय पर्यटकीय स्थलको प्रचारप्रसार तथा प्रवर्द्धन गर्नु, नेपाली आम दर्शकलाई नेपाली मौलिक चलचित्रप्रति आकर्षित गराउनु र नियमित चलचित्र हेर्ने बानी बसाल्नु, नेपाली समाजका मौलिकता बोकेका र ग्रामीण कथामा बनेका चलचित्रहरूलाई स्वदेशी तथा विदेशी दर्शकमाझ पुर्‍याउनु र स्थानीय क्षेत्रको भाषा, कला, संस्कृति एवं पर्यटकीय क्षेत्रको प्रवर्धन गर्ने लगायतका उद्धेश्यले महोत्सव गरिएको आयोजक संस्था सेलिब्रेटी नेपालले जनाएको छ ।

तस्वीर: विदुर पौडेल

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू