अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०६:०० | Colorodo: 18:15

प्रधानमन्त्रीले आचारसंहिता उल्लंघन गरे पनि कारबाही हुन्छ- निर्वाचन आयोग

बिआरटीनेपाल २०७९ वैशाख ३ गते ७:५५ मा प्रकाशित

निर्वाचन आयोगले निर्वाचन आचारसंहिता उल्लंघन गर्ने जो सुकैलाई कारबाही गर्ने चेतावनी दिएको छ ।रूपन्देहीका सञ्चारकर्मीहरूसँग शनिबार आयोजित अभिमुखीकरणमा आयोगले आचारसंहिता प्रधानमन्त्रीदेखि आम नागरिकसम्म सबैले पालना गर्नुपर्ने र उल्लंघन भए कारबाही हुने प्रतिबद्धता जनाएको हो ।

आचारसंहिता उल्लंघन भए त्यसबारे जानकारी गराउन र आचारसंहिता पालनामा सचेत गराउन पनि आयोगले सञ्चारकर्मीलाई आग्रह गरेको छ ।कार्यक्रममा निर्वाचन आयोगका आयुक्त सगुन शम्शेर जबराले निर्वाचन आचारसंहिता कसैले पनि उल्लंघन गर्न नहुने बताउनुभयो ।

पत्रकारिता क्षेत्रले पनि आचारसंहिता पालना गर्नुपर्नेमा पनि जोड दिँदै उहाँले सुरक्षा निकाय जस्तै सञ्चारमाध्यमको भूमिका पनि महत्वपूर्ण रहेको बताउनुभयो ।नागरिकले सबैभन्दा बढी विश्वास मिडियाको गर्ने र मिडियानै नागरिकमा सूचना पुग्ने पहिलो माध्यम भएकाले त्यसलाई अझ बढी विश्वस्त बनाउन उहाँले आग्रह गर्नुभयो ।

उहाँले निर्वाचनको माहोल सिर्जना गर्न मिडियाको भूमिका महत्वपूर्ण रहेकोमा जोड दिनुभयो । आयोग संविधान ऐनमा रही नयाँ कार्य गर्न गर्न खोजिरहेको उहाँको भनाइ छ । ‘निर्वाचन आयोगका क्रियाकलाप, नागरिकका विचार र दलका गतिविधिसम्मलाई अनुगमन गरेर सत्यतथ्य समाचार आउन जरुरी छ,’ उहाँले भन्नुभयो, ‘यसले आयोगलाई समेत गल्ती कमजोरी पत्ता लगाउन र सुधार्न सहज हुनेछ ।’

निर्वाचन आयोगका कानुन तथा राजनीतिक दल महाशाखा प्रमुख यज्ञप्रसाद भट्टराईले निर्वाचन आचारसंहिता नैतिक र कानुनी बन्धन भएकाले त्यसमा आमसञ्चार पनि संवेदनशील हुनुपर्नेमा जोड दिनुभयो ।

 

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू