अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०७:१५ | Colorodo: 19:30

सहकारी ठगीसम्बन्धी समाचार रोकाउन पक्राउ पुर्जी: कान्तिपुर अध्यक्ष सिरोहिया

बिआरटीनेपाल २०८१ जेठ ८ गते ५:०६ मा प्रकाशित

कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहियाले सहकारी ठगीसम्बन्धी समाचार रोकाउनलाई ब्ल्याकमेलिङ गर्न र मूल मुद्दा विषयान्तर गर्न आफूविरूद्ध उजुरी गर्न लगाएर सोधपुछसमेत नगरी पक्राउ पुर्जी जारी गरिएको बताउनुभएको छ । धनुषा जिल्ला अदालतबाट मंगलबार पक्राउ पुर्जी जारी भएपछि अध्यक्ष सिरोहियाले विज्ञप्ति जारी गर्दै सो कुरा बताउनुभएको हो । सहकारी ठगी लगायत हरेक बेथितिका विषयमा समाचार लेख्ने कर्तव्यबाट कान्तिपुर एक इन्च पछि नहट्ने पनि उहाँले उल्लेख गर्नुभएको छ ।

‘समाचार लेखेका भरमा मिडिया हाउसका अध्यक्षमाथि व्यक्तिगत प्रतिशोध लिएर प्रहरी प्रशासनको शक्ति र जिम्मेवारी दुरुपयोग गर्ने पदाधिकारीले यो पनि सोचून्, दोहोरो पासपोर्टमा अनुसन्धान हुनुपर्ने व्यक्ति महान्यायाधिवक्ताको कार्यालयबाट मुद्दा नलाग्ने निर्णय गराएर राजनीतिक बार्गेनिङ गरी सत्तामा गएको विषयमा अनुसन्धान कहिले हुने हो ‘? विज्ञप्तिमा उल्लेख छ। सिरोहियाले दोहोरो नागरिकता लिएको भन्दै जिल्ला प्रहरी कार्यालय धनुषामा जाहेरी परेको थियो। त्यही जाहेरीका आधारमा जिल्ला अदालतका न्यायाधीश चित्रबहादुर गुरूङको इजलासले उहाँविरूद्ध पुर्जी जारी गर्न आदेश दिएको हो।

‘कानुनअनुसार हुने हरेक अनुसन्धानमा सम्पूर्ण सहयोग गर्न एक जिम्मेवार नागरिकका रूपमा म तयार छु। तर राज्यशक्ति दुरुपयोग गरेर हुने कुनै प्रतिशोध र हस्तक्षेपबाट म अध्यक्ष रहेको कान्तिपुर मिडिया ग्रुप किञ्चित विचलित हुने छैन,’ सिरोहियाले विज्ञप्तिमा भन्नुभएको छ, ‘सत्ता र शक्ति दुरुपयोग गरेर कान्तिपुरमाथि विगतमा पनि हस्तक्षेप भएको हो, म आफै पनि जेल गएको हुँ’। ‘ुनिरंकुश शाही शासनमा र लोकमान सिंह कार्कीसमेतका पालामा समाचार लेख्दा पनि कान्तिपुरमाथि यस्तै षड्यन्त्र भएको हो। तर कान्तिपुर हरेक घडीमा निर्भीक रूपमा उभिँदै आएको छ। म अहिले पनि व्यक्तिगत रूपमा हरेक मूल्य चुकाउन तयार छु, तर कान्तिपुर आफ्नो सम्पादकीय स्वतन्त्रता र जिम्मेवारीमा सम्झौता गर्न तयार छैन’।

‘जनमतको जिम्मेवारी सुशासन स्थापनाको प्रत्याभूतिका लागि हो कि आफ्नो बेथिति ढाकछोप गर्न र आफूमाथि प्रश्न गर्ने नागरिक र सञ्चार माध्यममाथि व्यक्तिगत प्रतिशोध लिनका लागि हो’?  विज्ञप्तिमा भनिएको छ, ‘सरकार, राज्यका हरेक जिम्मेवार निकाय, राजनीतिक दल, नागरिक समाज र समस्त सचेत नेपालीले विवेक प्रयोग गर्नुपर्छ भन्ने मेरो मान्यता छ। राज्य शक्ति र स्रोत दुरुपयोग गर्नेमाथि कान्तिपुरको खबरदारी जस्तोसुकै प्रतिकूलताबीच पनि निरन्तर छ। कान्तिपुरको पहिचान र विरासत यही हो’।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू