अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०१:०८ | Colorodo: 13:23

गठबन्धनमा नबस्दा कांग्रेसलाई नै घाटा हुन्छ : उपमहासचिव तुलाधर

बिआरटीनेपाल २०७८ फागुन २६ गते ७:४८ मा प्रकाशित

नेकपा एकीकृत समाजवादीका उपमहासचिव गंगालाल तुलाधरले स्थानीय तह निर्वाचनमा गठबन्धन नभए त्यसले नेपाली कांग्रेसलाई नै घाटा हुने बताउनुभएको छ । पार्टीको केन्द्रीय कमिटीको तेस्रो पूर्ण बैठकको बीचमा सञ्चारकर्मीसँग बोल्दै उपमहासचिव तुलाधरले गठबन्धनमा कांग्रेस नहुँदा उसैलाई नोक्सानी पुर्याउने बताउनुभयो ।

‘गठबन्धनमा आबद्ध दलमध्ये नेपाली कांग्रेस प्रमुख दल हो, उसको इच्छा भएन भने नेपाली कांग्रेसबाहेकको गठबन्धन बन्नसक्छ,’ उहाँले भन्नुभयो, ‘त्यो उसकै लागि घाटा हुनसक्छ ।’कांग्रेसको शीर्ष नेतृत्व गठबन्धनका विषयमा सकारात्मक भए पनि दोस्रो तहका नेताहरूले सस्तो लोकप्रियताका लागि उत्ताउलो अभिव्यक्ति दिने गरेको तुलाधरको आरोप छ ।

‘कांग्रेसभित्रको शीर्ष नेतृत्वले एउटाका कुरा गरिरहनुभएको छ’ उहाँले थप्नुभयो, ‘दोस्रो तहका नेताहरूको उत्ताउलो अभिव्यक्ति सस्तो लोकप्रियताका लागि मात्र हो भन्ने कुरा उहाँहरूकै नेताले भन्नुहुन्छ ।’गगन थापाको नाम नलिइ तुलाधरले महाधिवेशनमा चुनाव जित्नका लागि चर्को, उत्ताउला र अरुलाई खसाल्ने किसिमका अभिव्यक्ति दिएको आरोप लगाउनुभयो । आफ्ना पक्षमा रहेका कार्यकर्ता आफूतिर नै रहिरहुन् र आफ्नो पल्लाभारी भइरहोस् भन्ने हेतुले पनि कांग्रेसका केही नेताहरूको चर्का अभिव्यक्ति आइरहेको उहाँको भनाइ छ ।

सभापति लगायतका शीर्ष नेताहरू गठबन्धन कायम गरेर अघि बढ्न चाहेको बताउँदै उहाँले गठबन्धन कांग्रेसकै लागि पनि आवश्यक रहेको जिकिर गर्नुभयो । यस्तै, ६ हजार ७ सय ४३ वडा सबैमा आफ्ना कमिटीहरू नबनेको स्वीकार गर्दै तुलाधरले वडा कमिटी बनाउने र चुनावको प्रचार एकैपटक हुने बताउनुभयो । डेढ महिनाभित्र मुलुक पूरै नेकपा (एकीकृत समाजवादी)मय हुने र कमल चिन्हको माहोल देशभर छाउने उहाँको दाबी छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू