अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०८:५४ | Colorodo: 21:09

नारी

चिनु पोखरेल २०७८ फागुन २५ गते १९:१० मा प्रकाशित

कविता
( अनुष्टुप् छन्द)

नारी हुन् जगकी खम्बा, नारी हुन् फूल सृष्टिकी
ममता समता बाेक्ने, नारी हुन् जून दृष्टिकी
बाँडेर प्यार सारामा, सिर्जना झुल्छ गेहमा
सपना सजिए धेर, नारीकाे शान्त देहमा।१।

सन्तान आज हुर्काई, प्रेरणा दीप बल्दछ
नभए जगमा नारी, कसरी सृष्टि चल्दछ
अधिकार मिले नारी, बढ्नेछन् नि निरन्तर
परिवार हुने राम्राे, नारीमै हुन्छ निर्भर।२।

फूलका पत्र पत्रैमा, सुगन्ध फैलिए सरी
नारीकाे भाव निष्ठामा, पद्धति घुम्छ बेसरी
पिएर दर्दका अाँसु, जिएर जिन्दगी कथा
भाेग्नु पर्ने सबै भाेग्छिन्, काे सुन्छ उनका व्यथा।३।

मनमा सपना साँची, तनमा दुःख खेप्दछिन्
बगाई अाँसुका धारा, विरह उनी पाेख्दछिन्
पाएमा पद गर्विलाे, देश यो हाँक्न सक्दछिन्
कमजोर भए नारी, हिंसा सहेर बस्दछिन्।४।

साहशी मनकी नारी, वागडाेर सम्हाल्दछिन्
कलाकी जननी नारी,सिर्जनासित झुल्दछिन्
नछुटाेस् उनको स्थान, नटुटोस् धैर्य वा बल
नारी हुन् सँगिनी साथी, नारी हुन् जल निर्मल।५।

प्रतिक्रिया