अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २३:३० | Colorodo: 11:45

नारी

चिनु पोखरेल २०७७ फागुन २४ गते ११:४९ मा प्रकाशित

कविता


नारीको मन त्यो सफेद रसिलो सौन्दर्यले शोभित
नारीको रूप हुन्छ शान्त हँसिलो बन्छन् सबै मोहित
मायाले सपना सजाइ मनले वात्सल्य त्यो पोख्दछिन्
झेल्दै कष्ट सयौँ उदार दिलले बाधा सबै रोक्दछिन्

नारीको मन दुख्छ चोट सहँदा आँखा बगे बर्बरी
के गर्छौ मनुवा विभेद जगमा देवी उनै हुन् चरी
बन्ला त्यो घर नै विचित्र रसिलो नारी पुजे ईश्वर
नारी नै नभए बिना घरमुली के जिन्दगी हुन्छ र

नारीको अपमानले हरघडी सन्त्राश निम्त्याउँछ
के गर्छौ पशु तुल्य भई अधम भई माया कहाँ पाउँछ
रोकेरै अघि बढ्न भन्छ मनले हिंसा बलात्कार त्यो
नारीमा पनि चाहना सुमनको सौन्दर्य सत्कारको

नारीको हक निम्ति नै बढिरहे संस्कार भो बाधक
जागौँ है अब ता समान दुनियाँ खोजेर आफ्नो हक
नारीले अब भन्दछिन् पुरुषको धम्की सुनी रुन्न है
सम्झी मानवता अठोट गर है रोई बसे हुन्न है

प्रतिक्रिया