अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०७:४२ | Colorodo: 19:57

जुनेली रूप

तीर्थराज अधिकारी, लप्सीबोट, गोरखा २०७८ माघ २५ गते २०:३५ मा प्रकाशित

तिमी सगरमा फुल्दा फुल्छ्यौ सागरमा पनि
सहस्रौँ तालमा फेरि भेटिन्छ्यौ रूपकी धनी
विम्ब यौटै तिमी किन्तु प्रतिविम्ब ओहो ! कति !
इन्द्रेणीभित्रका रङ्ग तिम्रा यी कति सन्तति ! १।

लाखौँ तारा तिमीलाई गर्दछन् अभिनन्दन
गुन बिर्सन को सक्छ हे जून ! तिमी नै भन
छैन सम्मानको भोक गति चाल्छ्यौ शनैः शनैः
पक्षका पथमै हुन्छ्यौ यौवना अनि बालिकै ।२।

संसारभरिका भाषा भाव पोती सिँगार्दछन्
सारा संसारले आफ्ना तिमीमै दृष्टि पार्दछन्
प्रीतमा गीत गुन्जन्छ्यौ आस्थामा आरती तिमी
रङ्गमा रूप उत्रिन्छ्यौ कहाँ छैनौ तिमी तिमी ।३।

प्रकाश रङ्ग पोतेर रूप तिम्रो सजाउने
कलाकार कहाँ होला दीप पङ्ख चलाउने ?
थुम्थुम्याई उता तारा शैलमाला हुँदै तल
बस्ती बस्ती गरी गस्ती पार्छ्यौ धर्ती समुज्ज्वल ।४।

औँसीको धारले रश्मि रेटिएनन् कहीँ कतै
हुरीका साथका मेघ बिलाए ढुन्मुनाउँदै
जुनेली ! सुकिलो रूप अझै साँच अनन्तमा
म हुँ नाटकको पात्र, पर्दा लाग्दछ अन्तमा ।५।

———————————-

 

गोरखा , लप्सीबोट; हाल: काठमाडौँ – ६ ,सरस्वतीनगर ।