अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १८:४२ | Colorodo: 06:57

टी-ट्वान्टी विश्वकप छनोट खेल्न नेपाली टोली ओमान प्रस्थान

बिआरटीनेपाल २०७८ माघ २५ गते ५:४२ मा प्रकाशित

आईसीसी पुरुष टी-ट्वान्टी विश्वकप अन्तर्गतको ग्लोबल छनोटमा सहभागिता जनाउन नेपाली राष्ट्रिय क्रिकेट टोली बुधबार ओमान प्रस्थान गरेको छ ।  नेपाली टोलीलाई नेपाल क्रिकेट संघ (क्यान) र युवा तथा खेलकुद मन्त्री महेश्वर गहतराजले बिदाइ गरेका थिए । ग्लोबल छनोट ए मा नेपालसहित आयोजक ओमानसहित, फिलिपिन्स, क्यानाडा, युएई, बहराईन, आयरल्यान्ड र जर्मनी रहेका छन् ।

खेलहरु फेब्रुअरी १८ देखि २४ तारिखसम्म हुनेछन । समूह ‘ए’ मा नेपाल, क्यानाडा, फिलिपिन्स र ओमान रहेका छन् । समूह ‘बी’ मा युएई, बहराईन, आयरल्यान्ड र जर्मनी रहेका छन् । नेपालले ओमानविरुद्ध खेल्दै छनोटको सुरुआत गर्नेछ । नेपाल र ओमानबीचको खेल फेबु्रअरी १८ तारिखमा ओमान क्रिकेट एकेडेमी ग्राउन्डमा हुनेछ ।

नेपालको दोस्रो खेल फिलिपिन्सविरुद्ध अल अमेरात क्रिकेट मैदानमा फेब्रुअरी १९ मा हुनेछ । नेपालले तेस्रो खेल क्यानाडाविरुद्ध ओमान क्रिकेट एकेडेमी मैदानमा फेब्रुअरी २१ मा खेल्ने तालिका रहेको छ ।समूह चरणको खेलपछि शीर्ष दुई टोली दुबै समूहबाट सेमिफाइनलमा प्रवेश गर्नेछन् । सेमिफाइनल खेलहरु फेब्रुअरी २२ तारिखमा हुनेछ । फाइनल भने फेब्रुअरी २४ मा ओमान क्रिकेट एकेडेमीमा हुनेछ ।

फाइनल प्रवेश गर्ने दुबै टोली अष्ट्रेलियामा अक्टोबर १६ देखि नोभेम्बर १३ तारिखसम्म हुने आईसीसी पुरुष टी–ट्वान्टी विश्वकपको लागि छनोट हुनेछन् । छनोट अघि नेपालले ओमानमा चारदेशीय टी–ट्वान्टी सिरिज खेल्नेछ । सिरिजमा नेपालसहित आयरल्यान्ड, युएई र ओमान रहेका छन् ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू