अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १२:१५ | Colorodo: 00:30

कोलोराडोबासीले प्रोपर्टी ट्याक्स, रेन्ट र हिट एक्स्पेन्सका लागि रिबेटको आवेदन दिन पाउने

बिआरटीनेपाल २०७८ माघ १७ गते २०:०६ मा प्रकाशित

कोलोराडो । कोलोराडो निवासीले प्रोपर्टी ट्याक्स, रेन्ट, र हिट एक्स्पेन्स (पिटिसी) बापतको रकमका लागि रिबेटको लागि आवेदन दिन पाउने भएका छन् । जाडो बढ्दै गर्दा कोलोराडो निवासीका लागि यस्तो आवेदन खुला गरिएको हो । यो कार्यक्रम अन्तर्गत आवेदन कम आय भएको, अपाङ्गता भएका तथा ज्येष्ठ नागरिकले समेत दिन सक्नेछन् । उनीहरूले प्रति व्यक्ति ९ सय ७६ डलरसम्म प्राप्त गर्ने छन् । कोलोराडोका गभर्नर जारेड पोलिस र लिउटनेन्ट गभर्नर डियान प्रिमावेराले सोमबार यो कार्यक्रम आयमा आधारित भएको बताएका छन् ।

‘कोलोराडोको जनजीवन सहज बनाउन प्रोपर्टि ट्याक्स, रेन्ट, र हिट एक्स्पेन्सवापत बढीमा ९ सय ७६ डलरसम्म प्रदान गरिने छ,’ गभर्नर पोलिसले भने, ‘म खासगरि अपाङ्गता भएका र ज्येष्ठ नागरिकलाई आवेदन दिन र यो अवसरको सदुपयोग गर्न प्रोत्साहन गर्छु ।’

प्रेस विज्ञप्ति अनुसार गत वर्ष यो कार्यक्रम अन्तर्गत १३ हजार कोलोराडो निवासी लाभान्वित भएका थिए । प्रशासनले यो कार्यक्रम अन्तर्गत गर्न वर्ष १७ दशमलव १ मिलियन डलर वितरण गरेको थियो । त्यसमध्ये कम्तीमा ६ मिलियन डलर हिट एक्स्पेन्समा वितरण गरिएको थियो ।

कोलोराडो डिपार्टमेन्ट अफ रेभेन्युले पिटिसी रिबेटका लागि आवेदन खुला गरेको छ । आवेदन भर्न स्पेनिश भाषामा समेत जानकारी प्रदान गरिएको छ । सन् २०१९ को अमेरिकन कम्युनिटी सर्भे अनुसार कोलोराडोको कम्तीमा ८ लाख घरधुरी स्पेनिश भाषा बोल्छन् । आवेदन फारम कोलोराडो ट्याक्स वेबसाइटमा उपलब्ध छ ।

प्रतिक्रिया