अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०६:४५ | Colorodo: 19:00

प्रदेश २ को राजधानी र नामका लागि फेरि मतदान हुने

बिआरटीनेपाल २०७८ पुष २७ गते ६:१६ मा प्रकाशित

प्रदेश २ को नामकरण र राजधानीसम्बन्धी प्रस्ताव फेरि मतदानमै लैजाने दलहरूबीच सहमति भएको छ । दलहरूबीच मतदानका लागि प्रदेश सभामा प्रस्ताव लैजाने सहमतिसँगै प्रदेश सभाको बैठक आउँदो माघ २ गते बस्ने भएको छ । बैठकमा विभिन्न दलका प्रदेश सभा सदस्यबाट नाम र राजधानीका लागि आएका प्रस्ताव टेबल गर्ने र माघ ३ गते मतदान गर्ने दलहरूबीच सहमति भएको नेकपा माओवादी केन्द्र संसदीय दलका नेता भरतप्रसाद साहले जानकारी दिनुभयो ।

प्रदेशको नाम र राजधानीसम्बन्धी आएका फरक–फरक प्रस्तावमा सहमति जुटाउनका लागि प्रदेश सभाले सभामुख सरोजकुमार यादवको संयोजकत्वमा १६ सदस्यीय प्रदेशको नामकरण र राजधानीसम्बन्धी विशेष अध्ययन समिति गठन गरेको थियो ।

यो समितिले विभिन्न चरणमा गरेको छलफल तथा राजनीतिक नेतासँग गरेको बैठकमा सहमति जुटाउन नसकेपछि फेरि मतदानद्वारा नै ती प्रस्ताव टुङ्गो लगाउने दलहरूबीच सहमति भएको छ । यो समितिको पहलमा बसेको सर्वदलीय बैठकमा प्रदेशको नाम र राजधानीको प्रस्तावलाई मतदानमै लैजाने सहमति भएको प्रदेश सभा सचिवालयका सचिव रञ्जीतकुमार यादवले जानकारी दिनुभयो ।

समितिले प्रदेश सभामा दर्ता भएको प्रदेशको नाम मधेस, जानकी, मिथिला भोजपुरा, मध्य मधेस र राजधानीको प्रस्ताव जनकपुर र वीरगञ्जमाथि सांसदहरूबीच छलफल सकेर संसदीय दलका नेतासँग छलफल गरेको थियो । तर कुनै प्रस्तावमा सहमति नभएपछि मतदानका लागि सहमति भएको सचिव यादवले बताउनुभयो । प्रदेशको नाम र स्थायी राजधानीको प्रस्ताव पारित हुन प्रदेश सभामा दुई तिहाइ बहुमत आवश्यक छ ।

तर दलहरूबीच प्रदेशको राजधानी जनकपुर कायम गर्नुपर्नेमा झन्डै–झन्डै सहमति रहे पनि नामको विषयमा फरक–फरक प्रस्ताव आएका छन् । सत्तारुढ जनता समाजवादी पार्टी, नेकपा (माओवादी) र प्रमुख प्रतिपक्षी दल लोकतान्त्रिक समाजवादी पार्टीले प्रदेशको नाम मधेस प्रदेश राख्नुपर्ने प्रस्ताव गरेका छन् । एक सय सात सदस्यीय प्रदेश सभामा तीनै दलको सदस्य सङ्ख्या जोड्दा ६३ जना पुग्छ । तर प्रस्ताव पारित गर्न ७० सांसद चाहिने देखिन्छ । यस्तै सत्तारुढ नेकपा (एकीकृत समाजवादी) पार्टी र प्रतिपक्षी दल नेकपा (एमाले) ले प्रदेशको नाम जानकी राख्नुपर्ने प्रस्ताव गरेको छ । ती दुवै दलको प्रदेश सभामा २१ जना सांसद छन् भने प्रदेशको नाम मिथिला भोजपुरा प्रस्ताव गरेको नेपाली कांग्रेससँग १९ प्रदेश सभा सदस्य छन् ।

यसबाहेक नेपाली कांग्रेसकै राजेश्वरप्रसाद साहले प्रदेशको नाम मध्य मधेश प्रस्ताव गर्नुभएको छ । यसरी अङ्क गणितलाई केलाउँदा मधेसको प्रस्ताव ल्याएका तीनलाई कांग्रेस, नेकपा एकीकृत समाजवादी पार्टी वा नेकपा एमालेमध्ये कुनै एक दलले समर्थन गर्नुपर्ने हुन्छ । तर अहिलेकै अवस्थामा कुनै पनि प्रस्तावमा दुई तिहाइ पुग्ने अवस्था नदेखिएको प्राध्यापक देवनारायण यादवको भनाइ छ । ‘सत्तारुढ गठबन्धनसँग प्रदेश २ सभामा रहेको त्यो सङ्ख्या प्रस्ताव पारित गर्न दुई तिहाइ पुग्छ’, प्राध्यापक यादवले भन्नुभयो, ‘तर गठबन्धन दलहरूभित्रै प्रदेशको नामका विषयमा फरक–फरक धारणा र प्रस्ताव छन् ।’ कुनै प्रस्तावमा सहमति नभए फेरि अघिल्लो मतदानकै जस्तै परिणाम आउने उहाँको भनाइ छ ।

यसअघि गएको चैत ५ गते प्रदेश २ को राजधानी र नामकरणको विषयमा प्रदेश सभामा मतदान भएको थियो । त्यतिबेलै प्रदेशको राजधानी जनकपुर राख्ने विषयमा सहमति नजिक पुगेका राजनीति दलहरूबीच नामकरणमा सहमति नभएपछि मतदान प्रक्रियाबाटै दुवै विषय टुङ्ग्याउने भन्दै मतदान भएको थियो । त्यतिखेर दुई तिहाइ बहुमत नपुगेपछि राजधानी र नामकारणको प्रस्तावसमेत पारित हुन सकेको थिएन ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू