अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २१:०७ | Colorodo: 09:22

अमेरिकामा मनाइयो उँधौली चाड सँगै यलम्बर साँझ

सुरेश चाम्लिङ २०७८ पुष ५ गते १९:२३ मा प्रकाशित

टेक्सस । युनाइटेड किरात राई अर्गनाइजेसन अफ अमेरिका ट्याफ लोकल च्याप्टरले किरातीराईहरुको महान् चाड साकेला उँधौली र यलम्बर साँझ तेस्रो टेक्ससमा भव्य रूपमा सम्पन्न गरेको छ ।

उक्त सभालाई सम्बोधन गर्दै अर्गनाइजेसनका केन्द्रीय सभापति मुना राईले हामी २८ भाषी किरात राई हरू जहाँ रहे भएता पनि सुम्नीमा पारुहांगको सन्तान भएकोले र पितृ पूजक, तीन चुला पुज्ने भएकोले हाम्रा तीनै धर्म संस्कार र संस्कृतिको जगेर्ना गर्ने उद्देश्यले अमेरिकामा ओर्गनाइजेसनको जन्म भएको कुरा बताउनु भयो । यसै हुनाले हालै टेक्सस, अर्कान्सास र फ्लोरिडा राज्यलाई मिलाएर सङ्गठन बिस्तार गरी ट्याफ लोकल च्याप्टर गठन गरिएको कुरा बताउनु भयो ।

अहिलेको विश्व ग्लोबलाइजेसनले साँगुरी रहेको अवस्थामा हामीले नेपालबाट आत्मसात् गरी आएको संस्कार संस्कृति भावी पुस्ताको लागी जगेर्ना गर्नु परी रहेछ भने आफ्नो कर्मभूमि अमेरिकाको नियम कानुन यहाँको संस्कार र संस्कृतिको पालन गर्दै अन्तर राष्ट्रिय भातृत्वको बिस्तार गर्नु परी रहेको कुरा बताउनु भयो ।

अर्का वक्ता अर्गनाइजेसनका संस्थापक सभापति तथा एन आर एन अमेरिकाका पूर्व सभापति शिवकुमार राईले संस्थाको स्थापना किन आवश्यक भयो र स्थापना काल देखि अहिलेसम्मको चुनौती र कठिनाइ बारे प्रकाश पार्नु भयो । उहाँले नव नियुक्त ट्याफ समितिका कार्यकारिणीहरूलाई शपथ समेत खुवाउनु भएको थियो ।

संस्थाका पूर्व केन्द्रीय सभापति तथा साकेला थान निर्माण समितिको संयोजक विष्णु राईले साकेला उँधौली र उभौली किन मनाउने र यसको महत्त्व के छ भन्ने बारेमा प्रकाश पार्नु हुँदै अमेरिकामा साकेला थान किन आवश्यकता छ भन्ने बारेमा प्रस्ट पार्नु भयो । सोही समारोहमा साकेला थान खरिदको लागी उहाँले डलर ५००१/- दिनु भएको थियो भने अन्य दाताहरू मुक्ति राई डलर ५००१/- शिव राई डलर ५००१/-चन्द्र राई डलर ५००१/-सोही समारोहमा बचन बद्धता गर्नु भएको थियो भने सभापति मुना राईले सिडमनीको रूपमा पहिले नै ५००५ डलर र उपाध्यक्ष जी एस राई क्यालिफोर्नियाले २५०० डलर प्रदान गर्नु भएको थियो । अन्य दाताहरू र देउसी भैलो लगायतबाट लगभग पचास हजार डलर सङ्कलन गरिएको कुरा पनि जानकारी गराइएको थियो ।

एन आर एन अमेरिकाका पूर्व अध्यक्ष सुनिल साहले साकेला उँधौलीको शुभ कामना दिनु हुँदै, युनाइटेड किरात राई अर्गनाइजेसनले किरात भाषा धर्म संस्कृतिको संरक्षण गर्नुका साथै एन आर एनको जग बसाउने नेता पनि जन्माएको कुरा बताउनु भयो । दुई चरणमा गरिएको उक्त कार्यक्रमको सभापतित्व ट्याफ च्याप्टर सभापति दमकाजी राई र स्वागत भाषण च्याप्टर उप सभापति गौरव राई र सञ्चालन महासचिव जय राई, शेखर राई र सदेश राईले गर्नु भएको थियो । उक्त कार्यक्रममा विभिन्न लोकल च्याप्टरका प्रतिनिधिले बोल्नु भएको थियो । केशव राम राई न्यु योर्क, राम राई क्यालिफोर्निया, मुक्ति राई न्युहेम्प्शायर, सल्लाहकार तेज राई लगायतका वक्ताले बोल्नु भएको थियो । दोस्रो सेसनको कार्यक्रममा कलाकारहरूले दमदार सांस्कृतिक कार्यक्रम प्रस्तुत गर्नु भएको थियो ।

उक्त कार्यक्रममा स्थानीय सङ्घ संस्थाका प्रतिनिधिहरू र आमन्त्रित पाहुनाहरू सहभागी हुनु हुन्थ्यो भने अर्गनाइजेसनका विभिन्न च्याप्टरहरू बोस्टन केपकोट, न्यु हेम्प्शायर, भर्जिनिया, न्यु योर्क, नेब्रास्का, क्यालिफोर्निया लगायतका राज्यहरूबाट पाहुनाहरू आएका थिए ।

सम्बन्धित सामग्रीहरू

लोकप्रिय