अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २३:१३ | Colorodo: 11:28

ओलीको असंवैधानिक कदमको न्युयोर्कमा विरोध

सुरेश चाम्लिङ २०७७ पुष १४ गते ८:५७ मा प्रकाशित

न्यु योर्क । नेपालमा हालै प्रधान मन्त्री के पी ओलीले गरेको संसद् विघटनको विश्वव्यापी विरोध भई रहेको सन्दर्भमा अमेरिकाको न्यु योर्कमा पनि विरोध प्रदर्शन भएको छ । युनाइटेड नेपालीको आयोजना भनिएको उक्त विरोध सभा नेपाली समाज अमेरिकाको अध्यक्ष समीर महर्जनको संयोजकत्वमा भएको थियो । यो नेपाली शिर उचाली गीतबाट ब्यानर र प्ले कार्ड बोकेर सुरु गरिएको प्रदर्शन आमसभामा परिणत भएको थियो ।
उक्त सभालाई सम्बोधन गर्दै अध्यक्ष महर्जनले भन्नु भयो-यो संविधान लागु हुँदा हामीले यसै ठाउँबाट संविधान विभेदकारी छ, अपुरो र अधुरो छ भनेर संविधानको विरोध गरेका थियौँ । आज तीनै संविधान जारी गर्नेहरू र त्यस बेला विश्वको उत्कृष्ट संविधान भनेर नथाक्नेहरू तिनै संविधानलाई कुल्चेर संसद् विघटन लगायत असंवैधानिक र अलोकप्रिय निर्णय गरी रहेछन् । यो असंवैधानिक र अलोकप्रिय निर्णय नेपाली जनताको लागि सह्य हुने छैन । संसद्को पुनर्स्थापना र सबिधान संशोधन हुनु नै अहिलेको एक विकल्प हो भन्नु भयो । कोभिड-१९ ले सताइरहेको र न्यु योर्कमा, अति चिसो भईरहेको बेलामा पनि आफ्नो ज्यानलाई जोखिममा राखी सम्पूर्ण नेपाली दाजुभाइ दिदीबहिनीहरूले विरोध सभामा साथ दिनु भएकोमा धन्यवाद दिनु भयो ।

यसै गरी प्रवासी नेपाली एकता मञ्च अमेरिकाको अध्यक्ष टेक गुरुङले सभालाई सम्बोधन गर्नु हुँदै निरङ्कुश राणा राजा त फालिए जाबो ओली त स्याल हो नेपाली जनताले यस्ता निरङ्कुशलाई तह लगाउने छ भन्नु भयो । उहाँले ओलीले प्रजातन्त्रको लागी नक्कली नाटक गरेको, १४ वर्ष जेल बसे पनि प्रजातन्त्रको लागी नभएर स्वार्थको लागी बसेको भन्ने अहिलेको व्यवहारले बुझाउँछ भन्नु हुँदै गाउँ देखि सहर हुँदै संसारबाट विरोध गर्दै एक थोपा रगत रहुन्जेल सम्म नछोड्ने बताउनु भयो ।

नेपाली समाज अमेरिकाको सल्लाहकार पूर्व डी आइ जी पार्वती थापाले महिलालाई सबै तीर पुजिन्छ तर अहिलेको राष्ट्रपतिले असंवैधानिक काम गरेको हुँदा सर्वत्र विरोध गर्नु परी रहेछ भन्नु भयो । सत्र हजारको बलिदानबाट प्राप्त गणतन्त्र राष्ट्रपति र प्रधानमन्त्री मिलेर खोस्न नसक्ने बताउनु भयो ।

यसै गरी प्रवासी नेपाली एकता मञ्चको अन्तर्राष्ट्रिय संयोजक राधा कृष्णा देउजाले दुई तिहाइ मत जनताबाट प्राप्त गर्नु भएको प्रधानमन्त्री के पी ओलीले संविधानलाई मृत्यु शैयामा पुराउनु खोजेको र लोकतन्त्रको घाँटी रेट्नु खोजेको हुनाले विश्वव्यापी विरोध गर्नु परेको कुरा बताउनु भयो ।

उक्त सभालाई जनजाति महासङ्घ अमेरिका (फिपना) का महासचिव नरेन्द्र थापा मगर, समाज सेवी सामाजिक अभियन्ता आदित्य महर्जन, नेपाल आदिवासी जनजाति महासङ्घ नेपालको पूर्व उपाध्यक्ष फिपनाका सल्लाहकार डंडु ढोक्प्या, सामाजिक अभियन्ता तथा युवा नेता यम लामा, सामाजिक अभियन्ता समाज सेवी महेन्द्र अधिकारीले समेतले प्रधानमन्त्रीले संविधानमा नभएको अधिकार प्रयोग गरी संसद् विघटन गरेको र प्रदेश सभा पनि विघटन गर्नु खोजेको आरोप लगाउनु भयो । सङ्घीयता, धर्म निरपेक्षता समेत खारेज गर्नु खोजेको हुँदा सबै गणतन्त्रवादीहरू सचेत रहन भनी उहाहरुले बताउनु भएको थियो । प्रवासी नेपाली एकता मञ्च अमेरिकाको महासचिव शङ्कर पन्तले कार्यक्रम सञ्चालन गर्नु भएको थियो । पन्तले नेपालमा प्रधानमन्त्रीले असंवैधानिक तरिकाले संसद् विघटन गरेकोमा विरोधको लागि उपस्थित हुनु भएको सबैलाई धन्यवाद समेत दिनु भएको थियो ।

सम्बन्धित सामग्रीहरू