अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०२:३६ | Colorodo: 14:51

न्यु योर्कमा कोरोनाबाट मृत्यु भएका राईको दाह संस्कार सम्पन्न

सुरेश चाम्लिङ २०७७ वैशाख १८ गते २२:०३ मा प्रकाशित

न्यु योर्क, अमेरिकाको न्यु योर्कमा कोरोनाको कारण निधन हुनु भएको ७१ वर्षीय विष्णु कुमार राईको हिजो दाह संस्कार सम्पन्न भएको छ । न्यु जर्सीको रुबी मेमोरिएल फुनेरल तथा क्रिमासन सर्भिसमा उहाँको अन्त्येष्टि गरिएको थियो । न्यु योर्कको घना नेपाली बस्ती ज्याक्सन हाइट स्थित एल्महर्स्ट अस्पतालमा कोरोना उपचारको क्रममा गत मार्च २७ मा निधन भएको थियो । उहाँको निधन हुँदा आफन्त यहाँ कोही नभएकोले उहाँको साथीले हाल हात्तिबिसा नक्सालवारिमा रहनु भएको उहाँको भान्जी सपना देवी राईलाई खबर गरेर भान्जीले नेपाली वाणिज्य दूतावास न्यु योर्कमा सम्पर्क गर्नु भएको थियो । महावाणिज्यदूत पुष्प राज भट्टराईले अमेरिका स्थित किराँत राईहरूको संस्था युनाइटेड किराँत राई अर्गनाइजेसन अफ अमेरिकालाई खबर गरेको थियो । अर्गनाइजेसनको अध्यक्ष मुना राईको पहलमा उहाँको आफन्तहरुसंग सम्पर्क गरी दाह संस्कारको स्वीकृति प्राप्त गर्नु भएको थियो ।

मुना राईका अनुसार, अहिले न्यु योर्कमा अत्यधिक सङ्ख्यामा मानिसहरूको मृत्यु भएको र फ्युनरल हाउसहरू व्यस्त भएकोले पत्रकार किशोर पन्थीको सहयोगमा मेरिल्यान्ड राज्यको हाउस अफ डेलिगेट्स ह्यारी भण्डारीसँग सम्पर्क गरी उहाँको पहलबाट बाल्टिमोर स्थित गैर नाफा मूलक संस्था फ्रेन्ड्स अफ स्पार्चको खर्चमा उहाँको अन्त्येष्टि गरिएको र उहाँको अस्तु आफन्तलाई पठाउने समेत उक्त संस्थाले गर्ने कुरा अध्यक्ष मुना राईले बताउनु भएको छ । अर्गनाइजेसनका अध्यक्ष मुना राईले यो विपद्को घडीमा सहयोग गर्नु हुने ह्यारी भण्डारी, पत्रकार किशोर पन्थी लगायत सम्पूर्णलाई धन्यवाद ज्ञापन गर्नु भएको छ ।

स्वर्गीय विष्णु कुमार राईको जन्म भोजपुर जिल्लामा भएको, उहाँको बाजे क्याप्टेन गंज वीर राई, बुबा मेजर सुर्ज मान राई, आमा फूलमाया राई र स्वयम् विष्णु राई पनि इन्डियन आर्मीमा मेजर हुनु हुन्थ्यो । भारत पाकिस्तान १९७१ को युद्धमा लड्दा गोली लागी घाइते हुनु भएको थियो । इन्डियन आर्मीको जागिर पश्चात् उहाँ काठमान्डु बाँसबारी स्थित नविल बैङ्कमा सुरक्षा विभागमा काम गर्नु भएको थियो । उहाँले बाँसबारी मै स्प्रिंगडेल नामक स्कुल सञ्चालन गर्नु भएको थियो । उहाँ २७ वर्ष अघि अमेरिका आउनु भएको र उहाँ अविवाहित रहेको कुरा उहाँको भान्जी सपना राईले हात्तीबिस्सा नक्शलबारीबाट टेलिफोनमा बताउनु भएको छ । सपना राईका अनुसार हरेक वर्ष दसैँको चाडमा मामा र भान्जीको टेलिफोनमा कुरा हुने गर्दथ्यो । स्वर्गीय विष्णु कुमार राई अमेरिकामा रहँदा मिर्गौलाको रोगी हुनु भएको र उहाँलाई उपचारको लागी न्यु योर्क स्थित अधिकार भन्ने संस्थाको डाइरेक्टर नर्वदा क्षेत्री, माया गुरुङ र उहाँको टिमले सहयोग गर्नु भएको थाहा भएको छ ।