अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०९:५५ | Colorodo: 22:10

नेपालका बाल अस्पताललाई अमेरिकाबाट सहयोग

सुरेश चाम्लिङ २०७८ भदौ १८ गते ९:३१ मा प्रकाशित

न्यु हेम्प्शायर । नेपालमा गैर नाफामूलक संस्थाको रूपमा निर्माण भइरहेको “काठमाडौँ इन्स्टिच्युट अफ चाइल्ड हेल्थ” (किओच) लाई युनाईटेड किरात राई अर्गनाईजेसन अफ अमेरिका (UKROA) न्यु इंग्ल्याण्ड च्याप्टरले आर्थिक सहयोग गरेको छ । मुटु रोग विशेषज्ञ डा. भगवान् कोइरालाको अध्यक्षतामा नेपालका बालबालिकाहरूलाई गुणस्तरिय र सर्वसुलभ स्वास्थ्य सेवा उपलब्ध गराउने पवित्र उद्देश्यका साथ यो अस्पताल निर्माण भई रहेको छ ।

हालै न्यु हेम्प्शायर नेपाली कम्युनिटीद्वारा आयोजना गरिएको भर्च्युएल कार्यक्रममा डा, कोइरालाले हाल नेपालमा एक मात्र सरकारी बाल अस्पताल भएको र त्यो नेपाल भरीको बाल बालीकाको उपचारको लागी पर्याप्त न भएको हुँदा हाल काठमाडौँ र झापाको दमकमा बाल अस्पताल निर्माण भई रहेको र यसलाई ७ वटै प्रदेशमा बिस्तार गरिने बताउनु भयो । उहाँले विभिन्न आँकडा प्रस्तुत गर्नु हुँदै अहिले बाल मृत्यु दरको सङ्ख्या ठुलो रहेको र यो अस्पताल पछि यो सङ्ख्या घट्ने कुरा बताउनु भयो । उहाँको यो भर्च्युएल मन्तव्यबाट प्रभावित भई अर्गनाइजेसनले सहयोग सङ्कलन गरेको कुरा अर्गनाइजेसनका महासचिव शेखर राईले बताउनु भयो ।

शेखर राईका अनुसार विभिन्न १४ जना व्यक्तिहरूबाट अमेरिकी डलर $६९०७ (नेपाली रु ८ लाख १७ हजार) सङ्कलन गरिएको र यो रकम सिधै काठमाण्डौमा प्राप्त हुने गरी हस्तान्तरण गरिएको थियो । अर्गनाइजेसनका च्याप्टर अध्यक्ष मुक्ति नारायण राई र एनआरएन अमेरिकाका भू.पू.अध्यक्ष शिवकुमार राईबाट संयुक्त रूपमा न्यु हेम्प्शायार नेपाली कम्युनिटीका पूर्व अध्यक्ष तथा उक्त बाल अस्पताल सम्बन्धी सरोकार राख्नु हुने समाजसेवी मीन गौतमलाई डमी चेक हस्तान्तरण गरिएको थियो । सोही समारोहमा हालसालै सांस्कृतिक परम्परा अनुसार प्रणय बन्धनमा बाँधिनु भएका अतिथि लुमन के.सी र रेखा गुरुङलाई सुखी र सफल दाम्पत्य जीवनको निम्ति अर्गनाइजेसनले बधाई तथा शुभकामना दिएको थियो ।

स्मरण रहोस्, यस च्याप्टरका पूर्व कोषाध्यक्ष धनकुटा जिल्ला चुङ्गमांग घर भई हाल ब्यारिंगटन न्युहेम्पशायर बस्नु हुने राजन कुथुमी राईले आफ्नो स्वर्गीय धर्मपत्नी अरुणा कुथुमी राईको स्मृतिमा रु. २५ लाख यस अघि नै यस बाल अस्पताललाई सहयोग गरी सक्नु भएको छ ।

सम्बन्धित सामग्रीहरू