अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०१:२८ | Colorodo: 13:43

अमेरिकामा यलम्बर साँझ र उधौली भब्यरुपमा मनाइयो

सुरेश चाम्लिङ २०७५ पुष १५ गते १०:३६ मा प्रकाशित

न्युहेम्पशायर, युनाईटेड किराँत राई अर्गनाईजेसन अफ अमेरिका न्यु ईङगलैण्ड च्याप्टरको आयोजनामा हालै न्यु हेम्प्शायर राज्यको म्यानचेस्टरमा यलम्बर साँझ र उधौली चाड भव्य रूपमा सम्पन्न भएको छ ।

नेपाली र अमेरिकाको राष्ट्रिय गीतसँग सुरु भएको कार्यक्रम दुई चरणमा भएको थियो । किराँत राईहरूको उधौली चाड र यलेदोङ्ग वर्ष-५०७८ को उपलक्ष्यमा विभिन्न व्यक्तित्वहरूले शुभ कामना दिनु भएको थियो भने दोस्रो चरणको कार्यक्रममा सांस्कृतिक कार्यक्रमले दर्शकहरूलाई भरपुर मनोरञ्जन दिलाएको थियो । युनाईटेड किराँत राई अर्गनाईजेसन अफ अमेरिकाको केन्द्रीय सभापति प्रमुख अतिथि विष्णु राईले कार्यक्रमको उद्घाटन गर्नु हुँदै यो उधौली र यलम्बर साँझ अमेरिकामा पहिलो गरिएको र संस्थाले आगामी वर्षहरूमा यसलाई निरन्तरता दिने र आगामी हुने यलम्बर उधौली साँझ -२ हुने कुरा बताउनु भएको थियो ।

न्यु ईङगलैण्ड च्याप्टर सभापति मुक्ति नारायण राईले आफ्नो अत्यन्त व्यस्तताको बावजुत पनि संस्थाको निमन्त्रणालाई स्वीकार गरी विभिन्न सङ्घ/संस्थाबाट प्रतिनिधित्व साथै व्यक्तिगत तवरबाट उपस्थित जनाएर सहयोग गर्नु हुने सबैलाई यलम्बर साँझ र उधौली (छिरी नाम) येलेदोङ्ग-५०७८को उपलक्षमा आयोजकको तर्फबाट धन्यवाद दिनु भएको थियो । उहाँले यस कार्यक्रम उपस्थित भएर तथा शुभकामना सन्देश पठाएर दर्साउनु भएको न्यानो माया, सद्भभाव र आत्मीयताको लागि न्युहेम्प्शयार राज्यको विभिन्न पदमा आसीन व्यक्तित्वहरू तथा अन्य नेपाली सङ्घ संस्था र आफ्नो संस्थाको शुभेक्छुकहरु प्रति कृतज्ञता व्यक्त गर्नु भएको थियो । उक्त सभामा विशेष अतिथि स्थानीय न्युहेम्प्शायर राज्यमा लगातार २० वर्ष देखि सिनेटर रही आउनु भएको टाइगर सिनेटर डिअलेसेन्द्रोले शुभ कामना दिनु भयो तथा उहाँको श्रीमतीको समेत उपस्थिति थियो । अर्का सिनेटर आन्नी कुष्टरको शुभकामना सन्देश प्रबिना राईले वाचन गर्नु भएको थियो ।

न्युहेम्प्शायर राज्यको पूर्व गभर्नर तथा यु एस सिनेटर जिन शाहीनको तर्फबाट प्रतिनिधित्व गर्दै आर्य थापा आउनु भएको थियो र उहाँले शाहीनको शुभकामना सन्देश वाचन गर्नु भएको थियो । स्थानीय स्टेट सिनेटर तथा सिनेट म्याजोरिटि लिडर डान फेल्ट्सको शुभकामना सन्देश अन्तररास्ट्रिय नेपाली साहित्य समाजका कृष्ण गिरीले वाचन गर्नु भएको थियो । स्थानीय स्टेट सिनेटर एण्डक्रिस्टरले पनि शुभ कामना सन्देश पठाउनु भएको थियो । कार्यक्रममा गुरूङ्ग समाज न्यु ह्याम्पसायर, न्यु ह्याम्पसायर नेपाली कम्युनिटी, एन.आर.एन.ए. न्यु ह्याम्पसायर तथा म्यासेचुसेट् च्याप्टरहरू,अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज न्यु ह्याम्पसायर, तमु समाज अफ बोस्टन, बुद्ध समाज न्यु ह्याम्पसायर, मगर समाज बोस्टन, जी.बी.एन.सी बोस्टन, पशुपति बुद्ध फाउण्डेसन, एभरेस्ट लायन्स क्लब न्यु ह्याम्पसायर, बोस्टन तमु समाज, थकाली समाज बोस्टन, जात्रा नेपाल बोस्टन, जन सम्पर्क समिति न्यु ह्यम्पसायर, लायन्स क्लब म्यासेचुसेट्, एन.डब्लु.जी.एन.न्यु ईङ्गलैण्ड लगायतका संस्थाहरूका अध्यक्ष/सभापति र अन्य व्यक्तित्वहरूले प्रतिनिधित्व गर्नु भएको थियो । उक्त कार्यक्रममा कनेक्टिकट, मेरील्याण्ड, न्यु योर्क समेतबाट विभिन्न महानुभाव र कलाकारहरू आउनु भएको थियो । उक्त पहिलो सभाको कार्यक्रम सञ्चालन संस्थाका सचिव शेखर राई र प्रबिना राईले गर्नु भएको थियो भने दोस्रो चरणको कार्यक्रमको संयोजन तथा सञ्चालन संस्थाका सल्लाहकार श्री धौलवीर राईले गर्नु भएको थियो ।

दोस्रो चरणमा म नेपाल कि छोरी भन्ने गीतको नृत्यबाट माया राईले कार्यक्रम सुरु गर्नु भएको थियो । साकेला नृत्य, कौडा नृत्य लगायत बाँसुरी धुन बिनायो धुन र गीतहरूले खुबै मनोरञ्जन दिलाएको थियो । डिजे सुरु भए पछि न्युहेम्प्शायरको डिसेम्बरको जाडोमा पनि सहभागीहरू पसिना पसिना भएर नाची रहेका थिए । उक्त कार्यक्रमको अर्को दिन समीक्षात्मक बैठक तथा अन्य राज्यबाट आउनु भएका संस्थाका वर्तमान तथा पूर्व पदाधिकारीहरूलाई न्यु ईङगलैण्ड च्याप्टर सभापति मुक्ति नारायण राईले सम्मान स्वरूप उपहार दिनु भएको थियो ।

सम्बन्धित सामग्रीहरू