अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १५:१२ | Colorodo: 03:27

नेवाः चलचित्र जा मन गुभाजु उत्कृष्ट

बिआरटीनेपाल २०७८ भदौ ७ गते १५:४९ मा प्रकाशित

न्युयोर्क । नेपाल आदिवासी चलचित्र (निफ्फ) अवार्ड नेवाः चलचित्र जा मनः गुभाजुले हात पारेको छ । अमेरिकाको न्युयोर्कमा दुई दिनसम्म भएको तेस्रो नेपाल आदिवासी चलचित्र महोत्सवमा सहभागी विभिन्न भाषाका सात वटा चलचित्र मध्ये नेवाः भाषाको चलचित्र गुभाजुले उत्कृष्ट आदिवासी चलचित्र अवार्ड जितेको हो । नेवाः चलचित्र गुभाजुले उत्कृष्ट अवार्डसँगै उत्कृष्ट पटकथा र उत्कृष्ट अभिनेताको पुरस्कार पनि हात पारेको छ । पुरस्कृत नेवाः चलचित्रले अवार्डसहित १ हजार १ सय ११ डलर नगद पुरस्कार पनि जितेको छ । नेपाल आदिवासी जनजाति महासङ्घ अमेरिकाका अध्यक्ष लोक चेम्जोङ र न्युयोर्कस्थित नेपाली महावाणिज्य दूत विष्णुप्रसाद गौतमले संयुक्त रूपमा पुरस्कार हस्तान्तरण गरेका थिए ।

आइतबार राती अबेरसम्म सञ्चालन भएको अवार्ड वितरण समारोहमा उत्कृष्ट चलचित्रसहित विभिन्न १० विधामा पुरस्कार वितरण गरेको थियो । सो क्रममा उत्कृष्ट नायिकामा मगर भाषाको चलचित्र ट्याङचालककी नायिका तिला मगरले अवार्ड जितेकी छिन भने लिम्बु जातिको के चलचित्रले उत्कृष्ट कथा, ह्योल्मो जातिको मेटोकले उत्कृष्ट छायाङ्कन र दर्शक रोजाइको पुरस्कार जितेको छ । यसै गरी तामाङ जातिको प्रङ्ना चलचित्रलाई उत्कृष्ट भेसभुसा पुरस्कार र गुरुङ जातिको चलचित्र मि होर्वै टले उत्कृष्ट सङ्गीत र उत्कृष्ट निर्देशनको अवार्ड हात पारेका छन् ।

२७ औँ विश्व आदिवासी दिवसको अवसरमा नेपाल आदिवासी जनजाति महासङ्घ (फिप्ना) अमेरिकाले आदिवासी जनजातिको भाषा, भेसभुसा, संस्कृतिको संरक्षण र संवर्द्धनमा सहयोग पुर्‍याउने उद्देश्यले महोत्सव आयोजना गरेको बताइएको छ । अवार्ड वितरण समारोहमा युवाहरूको संगीतिक ढुकढुकी गायकद्धय राजु लामा र जगदिस समालले आफ्नो चर्चित गीतहरू प्रस्तुत गरी मध्य रातीमा पनि दर्शकहरूलाई मनोरञ्जन दिएका थिए । यस्तै विभिन्न आदिवासी समुदायका सांस्कृतिक झल्किने गीत र नृत्यहरू समेत प्रस्तुत गरेका थिए ।

प्रतिक्रिया