अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २३:१० | Colorodo: 11:25

“तमसुक कथा संग्रह” र पदम विश्वकर्मा

रश्मि भट्ट २०७८ साउन २९ गते १०:१४ मा प्रकाशित

नेपाली साहित्य र अन्तर्राष्ट्रिय नेपाली साहित्य फाँटमा चिरपरिचित साहित्यकार पदम विश्वकर्माको साहित्यिक कलम द्रुत गतिले अघि बढ्दै गइरहेको कुरा हामी डायस्पोरामा बसेर धेरैले नियालिरहेका छौँ । शिष्ट, मर्यादित, मिष्टभाषी, विनम्र स्वभावका धनी पदम विश्वकर्मा साहित्यलाई अघि बढाउन प्रवासमा बसेर लागि पर्ने श्रष्टा मध्ये एक हुन् । अनेसासको च्याप्टर देखि लिएर, केन्द्र र बोर्ड अफ ट्रस्टी सम्म फड्को मार्न सक्षम उनी गीत लेखनमा पनि उतिकै सशक्त छन् । कविता, कथा, गीत, जस्ता साहित्यिक विधामा कलम चलाउने उनको रचनाहरू सामाजिक सञ्जाल तथा अखबारभरि उति सारो खैला बैला गर्दैनन्, कुनै धाक धक्कु पिट्न र पिटाउन लगाउँदैनन् तर पनि सिर्जना गरिरहन्छन् । यसरी धेरै खैलाबैला र सस्तो प्रचार बाजी नमच्चाईकन लगभग एक साथ सङ्ग्रहको रूपमा उदाएको एक कथा कृति/सङ्ग्रह हो -“तमसुक” पनि । धर्मशास्त्रका वेद, पुराण, गीता, रामायण, महाभारत, पढेर, तेत्तीस कोटी देवता पुजेर मिष्ट भाषी छौँ, हुन सक्छौ भन्नुहुने वर्ग र महानुभावहरू भन्दा विश्वकर्माको समाजबाट उत्पत्ति भएका पदमजीको बानी ब्यहोरा बरु यस अनुकूल छ जस्तो देखिन्छ ।

तमसुक पढेपछि मनमा धेरै कुरा उब्जिएका हुन् । लेख्नलाई मात्र ढिलाइ हुन गयो । जाति भेद, रङ्ग भेद, लिङ्ग भेद, वर्ण भेद, आर्थिक भेद तथा अनेकौँ जघन्य भेदहरू विश्व भरी छ । कहीँ सूक्ष्म, कहीँ ज्यादै । यो लाखै कोसिस गरे पनि एक्कासि निमिट्यान्न हुँदैन र हुन पनि सक्दैन । हामीले नै यसलाई निर्मूल गर्न कोसिस गर्दै जाने हो । विकसित मुलुकमा त यो छ भने अविकसित मुलुकहरूको त कुरै नगरौँ । नेपाल धेरै वर्ष सम्म जाति, लिङ्ग, भाषा, धर्म, वर्ण अनेकौँ कुरामा विभेद भएको देश हो र अझै हुॅदैछ । यस्ता विभेद धेरै सहेर उठ्नु पर्ने समुदायबाट उठेका व्यक्तिहरूको कृति पढ्न पाउनु आफैमा खुसी र गर्वको कुरा हो भने, समाजले गति लिनु हो, विकास हुनु हो । मूल धारमा आउनु हो, समधारमा आउनु हो । प्रकाशन अगाडि गुपचुप रहेका कथाहरू एक एक गरी पढ्दै जाँदा यति राम्रा कथाहरू लेख्ने खुबी पदम विश्वकर्मामा रहेछ भनेर आश्चर्य लाग्छ । पहिले त तमसुक नामले नै ठेट/टिपिकल नेपाली शब्द बोकेको छ, आकर्षण गर्छ नै र पाठकहरूलाई ए त्यही तमसुक भन्ने लाग्छ तर अलि पृथक् छ यो तमसुक । कथाहरू जसरी क्रमबद्ध गरिएको छ, साँच्चै सिलसिला मिलेको छ । एक पछि, अर्को, अर्को पछि अर्को सबै कथाहरूले पाठकको मन छुन्छन् । पढूँ पढूँ लाग्छ । नेपाली जनजीवन, समाज, वातावरण, हिजोको र आजको मान्छेको भोगाइहरु कथाले समेटेको छ । आगतको बारे खासै खुल्दुली चिन्ता, आशा, निराशा, कल्पना कथामा छैनन् तर विगत र अहिले भइरहेको परिवेशको चित्रण कथामा छ । यसरी हेर्दा भविष्यको चिन्ता छैन कथाकारमा । यो पनि राम्रो पक्ष हो ।

उनका कथाहरूमा छोरा र छोरी प्रतिको विभेद, तल्लो, उपल्लो जात, कुसंकार धर्म रीतिरिवाजका विभेद सबै समेटिएका छन् । जम्मा जम्मी पच्चिस वटा कथाहरू समेटिएको यस संग्रहका सबै कथा पठनीय छन् । पाठकको ध्यान तान्छन् । एक पछि अर्को पढौँ पढौँ हुन्छ । यति भन्दा भन्दै पनि समष्टिमा जसरी धर्ती एकै हो तर अब्बल, दोयम सिम, चहार भनेर वर्गीकरण गरिन्छ गर्नु पर्ने हुन्छ । त्यसै गरी कथाहरू सबै कथा नै भए पनि कथाहरू सबल, दुर्बल, सशक्त, अशक्त , प्रभावशाली कम प्रभावशाली हुन्छन् । लुटिएको अस्मिता, तमसुक -दुर्घटित सपना ,प्रतिज्ञा , अधुरो सपना ,फेसबुके प्रेम अङ्गुरको रस ,खाडी बसाइको मूल्य आदि बलिया कथाहरू हुन । यो पनि पाठक पिच्छे फरक फरक हून्छ । तसर्थ समीक्षात्मक एक धारमा टेकेर हेर्दा पनि कथाको विषयवस्तु सामाजिक, यथार्थपरक र समसामयिक छन् । समाजमा हिजो आज भएका र भई रहेका विकृति बिसॅगतिहरूलाई राम्रो उजागर गरेको छ कथाले । कथाका पात्रहरू पनि सबै काल्पनिक र बनावटी लाग्दैनन् । सर्जक थोरै भए पनि कल्पनाशील त हुन्छ नै । नगण्य कल्पना माथि आलोचना गर्नु हुँदैन । यस्ता पात्रहरू समाजमा विद्यमान छन् जताततै । त्यसैले पात्र तथा चरित्रका दृष्टिले कथा संग्रहलाई सफल मान्नुपर्छ । अर्को खास कुरा पिछडिएको समाजले वर्गीकरण गरेको जाती भेदलाई बढवा दिने मात्र हाम्रो समाजमा थिएनन्, छैनन् र हुनेछैनन् । सात साल जस्तो कट्टर जाती प्रथा हुँदा तल्लो जात भित्र्याएर प्रेमी प्रेमिकाका लागि आमाबाबु र गृह त्याग्नेहरू छन् । राजनीतिमा लागेको विरलै भए पनि नेताहरूले भात भान्सा र पानी बाराबार हटाएका छन् । यी पात्र र चरित्रलाई पनि समेटौँ । त्यस्ता पात्रहरू पनि कथामा हुन पाएको भयो हुन्थ्यो । देश, काल परिवेश र भास शैलीको हिसाबले कथाहरूलाई केलाउँदा राजनीतिले समाजमा ल्याएको अनगिन्ती विषय वस्तुहरू पनि अझै कथाले कुनै विशेष शीर्षक र पात्रहरूबाट उजागर गरेको भए राम्रो हुने थियो । विगत र वर्तमान समयको राम्रो चित्रण छ कथामा ।

कथाको भाषा शैली सरल, बोधगम्य छन् । दुई चार शब्द तलमाथि श्लील, अश्लील चाहेर, नचाहेर हुन सक्छ अथवा कृतिकारलाई सामान्य लागेको हुन सक्छ । शीर्षक सार्थकताको दृष्टिले हेर्दा यति मिल्न गएको र सार्थक भएको कमै कृति होलान् । तमसुक भनेपछि ॠणै ऋणको भारी, आशुको धारा, साहुसँग बिन्ती पुकारा, सावा, ब्याज, स्याज, चोके ढ्याके के के भन्छन् त्यही अनुसार पात्र चुर्लुम्म डुबेको होला, महा वियोगान्त होला उठ्नै नसक्ने गरी जस्तो लाग्छ तर कथाकारले जाली झेली तमसुकलाई च्यातेर टुक्रा पारी विजय देखाएका छन् । त्यसमा पनि बडो सहिष्णु ढङ्गले अन्यायमाथि विजय गरेर सामन्तता माथि धावा बोलिएको छ । यो भिन्न खालको प्रगतिशीलताको न्यायको सूचक हो । यसैले यस तमसुक कथालाई प्रगतिशील नरम धारको कथा भन्नुपर्छ । कथा एकदमै राम्रो संयोगान्त, विजय र बहादुरीमा टुङ्गिएको छ । तसर्थ शीर्षक सार्थक छ । यी सबै कुराहरू हेर्दा यदि सबै कथा तमसुक जस्तै हुन्थे भने पदम विश्वकर्मालाई पुरा प्रगतिशील कथाकार भन्न सकिन्थ्यो तर सबै प्रकारका शैलीका हुनाले अहिले कथाकार मात्रकै कोटीमा राखौँ । कुनै विशेष ट्याग नदिनै राम्रो होला । हालै पदम विश्वकर्माको एउटा अर्को संयुक्त कृति “ज्योति स्पर्श “पनि बजारमा आएको छ । यसमा बिसगत, विभेदपूर्ण समाजको अन्याय प्रति सबै सर्जकले धावा बोलेका छन् । यसलाई पनि पढ्ने अवसर जुर्ने नै छ ।

एक पटक तमसुक कथाबारे केही अनर्गल हल्ला पनि सुनेकी थिए तर यो निराधार रहेछ । सुनेका सबै कुरा सही र सत्य हुँदैनन्, आँखाले नै नियाल्नु पर्ने हुन्छ । पदम विश्वकर्माका नयाँ, नयाँ कृति र विविध विधागत कृतिहरू क्रमशः आउँदै गरून् । नेपाली साहित्यको भण्डार भर्दै गरून् । यसरी नै कम हल्ला खल्ला र काम धेरै गर्दै पदमजीका कलम निरन्तर चलिरहुन् । पदमजीको पदम प्रतिष्ठान पनि फैलँदै फक्रँदै जाओस् । पदमजीलाई धेरै धेरै बधाई र शुभकामना । अहिलेलाई तमसुक कथा सँग्रहका साथै पदम विश्वकर्मा बारे यति नै ।