अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०८:३१ | Colorodo: 20:46

मेरा कारण मौद्रिक नीतिमा ढिलाइ भएको होइन – अर्थ मन्त्री शर्मा

बिआरटीनेपाल २०७८ साउन १४ गते ८:०० मा प्रकाशित

अर्थ मन्त्री जनार्दन शर्माले आफ्नो निर्देशनमा मौद्रिक नीति ल्याउन नरोकिएको दाबी गर्नुभएको छ । काठमाण्डौमा भएको कार्यक्रममा अर्थ मन्त्री शर्माले नेपाल राष्ट्र बैंक स्वायत्त संस्था भएकाले मौद्रिक नीति ल्याउन रोक्ने वा ढिलाइ गर्न निर्देशन दिने अधिकार आफूसँग नरहेको पनि बताउनुभयो । राष्ट्र बैंकका गभर्नरलाई देशको आर्थिक क्रियाकलाप, नागरिकको अपेक्षा र लाभग्राहीहरूको पूर्वनिर्धारित कार्यक्रममा कुनै किसिमको नकारात्मक असर नपर्ने गरी मौद्रिक नीति ल्याउन मात्र भनेको उहाँले जानकारी दिनुभयो ।

श्वेत पत्रको सम्बन्धमा राखिएको जिज्ञासामा मन्त्री शर्माले कसैलाई गल्ती देखाउन नभइ आफूले जिम्मेवारी लिँदा अर्थतन्त्रको वास्तविक चित्र कस्तो थियो भनेर नागरिकलाई जानकारी दिन मात्र खोजिएको स्पष्ट गर्नुभयो । मन्त्री शर्माले उपभोक्तावादी अर्थतन्त्रलाई उत्पादनमुखी अर्थतन्त्रमा बदल्ने हिसाबले पहलकदमी अघि बढाइने सोच रहेको बताउनुभयो ।

कार्यक्रममा अर्थसचिव शिशिरकुमार ढुङ्गानाले अर्थतन्त्रको स्थिति कमजोर अवस्थामा रहेको जानकारी दिँदै पुँजीगत खर्च बढाउने र व्यापार घाटा कम गर्ने दिशामा मेहनत गर्नुपर्ने अवस्था रहेको बताउनुभयो । पत्रकारहरूलाई सूचनामा सहज पहुँच दिलाउन अर्थ मन्त्रालय सदैव तयार रहेको भन्दै सचिव ढुङ्गानाले निर्णय भइ नसकेको विषयमा बोल्न उपयुक्त नहुने भएकाले त्यस्तो बेला प्रतिक्रिया दिनका लागि दबाब नगरिदिन आग्रह गर्नुभयो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू