अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २१:२० | Colorodo: 09:35

युगपुरुष स्व गिरिजाप्रसाद कोइरालाको ९८ औँ जन्म जयन्ती अमेरिकामा सम्पन्न

बिआरटीनेपाल २०७८ असार २३ गते ६:५६ मा प्रकाशित

न्युयोर्क, अमेरीका । गिरिजाप्रसाद कोइराला फाउन्डेसन अमेरिका च्याप्टरको कार्यालय क्विन्स, वुडसाईड, न्युयोर्कमा युगपुरुष स्व गिरिजाप्रसाद कोइरालाको ९८औँ जन्म जयन्ती एवं श्रद्धाञ्जली समारोह एक विशेष कार्यक्रम गरी वहाँको ऐतिहासिक व्यक्तित्वलाई स्मरण गर्दै मनाइयो।

फाउन्डेसन अमेरिका च्याप्टर अध्यक्ष सोमनाथ घिमिरेको अध्यक्षतामा आयोजित सो कार्यक्रममा फाउन्डेसन उपाध्यक्ष सुवर्ण लामा, प्रवक्ता एवं कार्यसमिति सदस्य रामचन्द्र अधिकारी, कार्यसमिति सदस्य ध्रुव कुँवर क्षेत्री लगायत विशेष आमन्त्रित सदस्य एवं समाजसेवी महानुभावहरू क्रमशः पूर्व ने वि सङ्घ महामन्त्री डा. यादव पण्डित, हालै सम्पन्न एनआरएन अमेरिका चुनावका प्रमुख आयुक्त विश्व बराल, युवा नेताहरू विनोद सुवेदी, ज्ञानल थापा, अर्जुन सिग्देल,गोविन्द सुवेदी,रामजी मरासिनी,विष्णु गौतम, चिरञ्जीवी गौतम, रामहरि अधिकारी, टक रूवाली,एनआरएन न्यु योर्क च्याप्टरमा नवनिर्वाचित अध्यक्ष आंग छिरिङ शेर्पा, पूर्व एनआरएन ए आई सिसि सदस्य आंग निमा ग्याल्जे शेर्पा, एनआरएन न्यु योर्क च्याप्टर बोर्ड सदस्य छिरिङ शेर्पा र पत्रकार मुकुन्द सुवेदी लगायतका महानुभावहरूको उपस्थिति रहेको थियो ।

स्व गिरिजाबाबुको स्मृतिमा १ मिनेट मौन धारण गरी आरम्भ गरिएको सो कार्यक्रममा वोल्दै नेपाल विद्यार्थी सङ्घका पूर्व महामन्त्री एवं युवा नेता डा. यादव पण्डितले गिरिजाबाबुसँग मृत्युपर्यन्त अन्तिम समयसम्म आफूले उठबस गर्दाको अनुभूति एवं वहाँजस्तो साहसी र राष्ट्रभक्त युग पुरुषको अभाव अहिले पार्टीले महसुस गरिरहेको र आगामी दिनहरूमा वहाँले देखाउनुभएको सहमति,सहकार्य र एकताको मार्गबाट नै पार्टी र राष्ट्रको हित हुने कुरामा जोड दिनुभयो । यसै गरी हालै सम्पन्न एनआरएन निर्वाचनमा आइसिसी मेम्बरमा निर्वाचित सदस्य गोविन्द सुवेदीले गिरिजाबाबुले आफ्नो जीवनकालभर राणा,पञ्च र दरवारसँग लडी यी तीनै शक्तिलाई ठेगान लगाएको र अन्त्यमा देशलाई द्वन्द्वबाट निकास दिई शान्ति कायम गर्न सफल नेताको रूपमा चित्रण गर्नुभयो ।

एनआरएन प्रमुख निर्वाचन आयुक्त तथा युवा नेता विश्व बरालले गिरिजाबाबुले देशलाई द्वन्दवाट निकास दिनुभएको र वहाँ एक प्रस्ट भिजन भएको, जे वोल्यो, त्यो गर्ने नेताको रूपमा जनजनको ह्रदयमा बस्न सफल हुनुभएको धारणा राख्नुभयो।

एनआरएन न्यु योर्क च्याप्टरका नवनिर्वाचित अध्यक्ष आंग छिरीगं शेर्पाले आफू विद्यार्थीकालदेखी नै गिरिजाबाबुको प्रेरणाबाट प्रभावित भएको र आज देशले वहाँजस्तो राजनेताको अभाव महसुस गरेको धारणा राख्नुभयो।

युवा नेता अर्जुन सिग्देलले गिरिजाबाबुको विरोध गर्नेहरू नै अन्त्यमा आएर वहाँको व्यवहारबाट प्रभावित भई वहाँको प्रशंसक भएको र आगामी दिनमा वहाँले देखाउनुभएको मार्गमा देशलाई डोर्याउनुनै वहाँप्रति सच्चा श्रद्धाञ्जली हुने कुरामा दुई मत छैन भन्ने धारणा राख्नुभयो।

लामो समय सम्म गिरिजाबाबुसँग पारिवारिक र राजनीतिक सम्बन्धमा रहेको स्मरण सुनाउँदै अर्का युवा नेता रामजी मरासिनीले वहाँ सादा जीवन र उच्च विचारका धनी, जनताको आवाजलाई सधैँ प्राथमिकता दिने महान् नेता हुनुहुन्थ्यो भनी वहाँप्रति श्रद्धाञ्जली अर्पण गर्नुभयो ।

युवा नेता ज्ञानल थापाले आज पार्टी र यस्का भातृ संस्था लथालिङ्ग भइरहेको अवस्थामा गिरिजाबाबुको सत्मार्गको विकल्प नरहेको र वहाँजस्तो कर्मठ र निडर राजनेताको देशलाई खाँचो भएको कुरामा जोड दिनुभयो।युवा नेता टक रूवालीले आज मुलुक चौतर्फी रूपमा अस्तव्यस्त भएको अवस्थामा गिरिजा वावुकोजस्तो क्षमतावान् र कुशल सङ्गठनकर्ताको ठुलो खाँचो भएको र त्यस्तो नेतृत्व उब्जाउन लाग्नुपर्ने धारणा राख्नुभयो।

पत्रकार मुकुन्द सुवेदीले दूरदर्शी गिरिजाबाबुको कारणले २३७ वर्ष पुरानो राजसंस्था समेत विना रक्तपात कूटनैतिक ढङ्गले अन्त्य भएको तर वहाँको शेषपछि नेताहरूमा त्यस्तो साहसिक क्षमता कमी भएको प्रतिप्रश्न गर्नुभयो ।

फाउन्डेसनका प्रवक्ता रामचन्द्र अधिकारीले अहिले सहमति,सहकार्य र एकता पालन गराई देशलाई सही मार्गदर्शन दिन सक्नु नै वहाँप्रति सच्चा श्रद्धाञ्जली हुनेमा जोड दिनुभयो ।फाउन्डेसनका कार्यसमिति सदस्य ध्रुव कुँवर क्षेत्रीले वहाँ अहिले विश्वले मान्ने नेता हुनुमा वहाँको सत्कर्म नै हो भनी श्रद्धाञ्जली व्यक्त गर्नुभयो ।त्यसै गरी फाउन्डेसनका उपाध्यक्ष सुवर्ण लामाले आगन्तुक महानुभावहरूलाई धन्यवाद व्यक्त गर्दै गिरिजाबाबु कर्मशील एवं कुशल संगठक र राष्ट्रभक्त राजनेता भएको र आफू वहाँको मार्गमा लागिरहने र सबै नेपालीजनलाई पनि सोही पथमा हिंडन भनी प्रेरित गर्ने बताउनुभयो।

अन्त्यमा सभा विसर्जन गर्दै फाउन्डेसनका अध्यक्ष सोमनाथ घिमिरेले वहाँको जीवन एक खुल्ला पाना भएको र आफूले लामो समयसम्म वहाँको साथ र सङ्गतमा रहँदा सदा एक निडर राजनेताको रूपमा पाएको र वहाँले भनेजस्तै वोलीलाई व्यवहारमा उतारी देश र देशवासीका समस्यासँग जुधी विकासको पथमा लम्कनु नै वहाँको सपना साकार पार्नु र वहाँप्रति सच्चा श्रद्धाञ्जली हुने विचार व्यक्त गर्दै आफूलाई वहाँको पथमा लागीपर्ने ईमान्दार सिपाहीको रूपमा चित्रण गर्नुभयो र आजैका दिन गिरिजा बाबुको जन्मदिन परेको र वॅंहा कै नाममा स्थापित फाउन्डेसन अमेरिका च्याप्टर कार्यालयमा जन्मदिन मनाउॅंन पाउँदा प्रसन्न भएको र सबै महानुभावहरूको उपस्थितिका लागी हार्दिक धन्यवाद व्यक्त गर्दै आभार प्रकट गर्नुभयो ।

प्रतिक्रिया