अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०३:०३ | Colorodo: 15:18

एनआरएनए अमेरिका:उम्मेदवारहरुको दोस्रो लिस्ट प्रकाशित, अध्यक्षका उम्मेदवारहरूको नाम बाँकी

कृष्ण के. सि. २०७८ वैशाख १८ गते ९:५७ मा प्रकाशित

गैर आवासीय नेपाली सङ्घ राष्ट्रिय समन्वय परिषद् (एनआरएनए एनसीसी) अमेरिकाको राष्ट्रिय निर्वाचन आयोगले २०२१-२०२३ कार्यकालको नेतृत्वमा जान इच्छित भएर मनोनयन दर्ता गर्नेमध्ये दाबी-बिरोधपछि भ्यालिडह भएका उम्मेदवारहरूको नामावली प्रकाशित गरेको छ।

एनआरएनए एनसीसी अमेरिकाको राष्ट्रिय निर्वाचन आयोगको आधिकारिक सूचना हेर्नको लागि यो लिङ्क क्लिक गर्नुहोस:
https://www.nrnusa.org/media/election_document/Notice-15-Notice_on_Second_Candidate_list_publication.pdf

प्रकाशित उम्मेदवारहरूको विस्तृत विवरण हेर्नको लागि यो लिङ्क क्लिक गर्नुहोस:
https://www.nrnusa.org/media/election_document/Publish_Candidates-List_2.pdf

प्रकाशित लिस्टमा अध्यक्षका उम्मेदवारहरूको नाम बाँकी रहेको छ। पहिलो लिस्टमा अध्यक्षमा ५, वरिष्ठ उपाध्यक्षमा ३ सहित विभिन्न पदका उम्मेदवारहरूको नाम प्रकाशित गरिएको थियो। तर यो पटक अध्यक्षका उम्मेदवारहरूको नाम प्रकाशित गरिएको छैन।

यस विषयमा जिज्ञासा राख्दा निर्वाचन आयुक्त (प्रमुख) विश्व बरालले भन्नुभयो, अध्यक्षका उम्मेदवारमा दाबी-बिरोध आएको छ। विधानको व्यवस्था र अन्य कानुनी परामर्शको लागि उनीहरूको नाम आज प्रकाशित नगरिएको हो। अध्यक्षका उम्मेदवारको लागि पुरै निर्वाचन प्रभावित हुनु हुँदैन। त्यसैले आज अध्यक्षका उम्मेदवारहरू बाहेकको नाम प्रकाशित गरिएको हो। अध्यक्षका उम्मेदवारहरूको नाम भोलि मे १, २०२१ मा प्रकाशित गरिनेछ, प्रमुख आयुक्त बरालले भन्नुभयो।

स्मरण रहोस् यो पटकको लागि एनसीसी अमेरिकाका २० हजार १ सय ३९ जना मतदाताहरू रहेका छन्। अब उम्मेदवारहरूले आफ्नो उम्मेदवारी फिर्ता लिने समय सुरु भएको छ। मे ३, २०२१ साँझ ५:०० बजे (पूर्वीय समय) सम्ममा उम्मेदवारहरूले उम्मेदवारी फिर्ताको फर्म बुझाइ सक्नुपर्नेछ। उम्मेदवारी फिर्ता लिनेको शुल्क भने फिर्ता हुनेछैन संस्थाको कोषमा जानेछ। उम्मेदवारहरूको अन्तिम नामावली भने मे ८, २०२१ मा प्रकाशित गरिनेछ।

उम्मेदवारी फिर्ता लिने फर्मको लिंक:
https://www.nrnusa.org/media/election_document/NRNA_NCC-USA_Election_Candidacy_Withdrawal_Form.pdf

प्रतिक्रिया