अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०५:२७ | Colorodo: 17:42

बे एरियामा नेपाली सामुदायिक भवन नबन्ने सम्भावना

ध्रुव कुँवर २०७८ वैशाख ४ गते १६:१६ मा प्रकाशित

सानफ्रानसिस्को वरपरका सहरमा बसोबास गर्ने हजारौँ नेपालीहरूको नेपाली सामुदायिक भवन एनसीसी बनाएर आफ्नै संस्कार, संस्कृति र परिवेशमा रमाउने अभिलासा अधुरै रहने देखिएको छ ।

नेतृत्व हत्याउन ठुलो सहयोगको बाचा गर्ने, अनेक राजनीतिक तिकडम र गुटबन्दी गर्ने तर जिम्मेवारी पाएपछि बहाना बाजी गर्दै काम नगर्ने प्रवृत्ति हाबी भएका कारण यो संस्था अस्तित्वमा आउने सबै बाटाहरू बन्द जस्तै देखिएका छन् । राम्रोसँग काम गर्छु भन्ने व्यक्ति र समूहहरूलाई संस्था सञ्चालनमा छिर्न नदिने र आन्तरिक किचलोमा रमाउने समूह हाबी भएपछि सामाजिक संस्था नेपाली कम्युनिटी सेन्टरले पूर्णता पाउने कुनै गुन्जाइस छैन ।

कम्मुनिटि सेन्टर बनाउन भनेर खोलिएको संस्थालाई खुलेर काम गर्ने वातावरण भएन भन्ने एनसीसीको नेतृत्वमा पुगेकाहरूको गनगन सधैँ सुनिन्छ । भवन निर्माणका लागि सबैभन्दा ठुलो दाताको रूपमा धेरै रकम कबोल गर्ने यज्ञलाल श्रेष्ठ नै सिसीको नेतृत्वमा पुगे पछि धेरैले परिणाम निस्कनेमा आस गरेको थिए । अरूको जस्तो भाषण मात्र हैन एनसीसी भवन बनाएर देखाउने सार्वजनिक प्रतिबद्धता गरेका श्रेष्ठले नेतृत्वमा पुगेर पनि कुनै ठोस काम गर्न सकेनन् । त्यति मात्र हैन सार्वजनिक मञ्चमा बोलेको दान रकम समेत श्रेष्ठले लगायत एनसीसीको कार्यसमितिमा रहेका अरू थुप्रैले अझै दाखिल गरेका छैनन् । संस्था सञ्चालनमा पुगेकाहरूको यो गैर जिम्मेवारी प्रवृत्ति कम्युनिटी सेन्टर निर्माणका लागि ठुलो बाधक तत्त्व हो । एनसीसीको छाता संस्थाको रूपमा रहेको एनएएनसीको नेतृत्व लिन यज्ञलाल श्रेष्ठ अहिले कसकिएका छन् ।

निर्वाचनको समयमा सामुदायिक भवन बनाउन आफू सक्षम रहेको तर अरूले बाधा सिर्जना गरेको र जसरी पनि आफ्नो नेतृत्वमा बन्ने प्रतिबद्धता आइहाल्छ । श्रेष्ठ मात्र होइन यो सबै आकाङ्क्षीहरूमा देखिएको प्रवृत्ति हो । संस्थाको नेतृत्वका लागि चुनावी दौडधुपमा सक्रिय हुनेहरू सामुदायिक भवन निर्माणमा भने त्यतिकै सक्रिय भएको भेटिँदैन । एनसीसीलाई न्यान्स माताहातबाट अलग गर्नु पर्छ र बे एरिएका सबै संस्थाको साझा बनाउनु पर्छ भन्ने पुरानो मुद्दा यस पटक पनि बल्झिएको छ । विधिवत् ढङ्गले आर्थिक, प्राशनिक लगायतका सबै काममा स्वायत्त भएर कार्यसम्पादन गर्ने परिवेश हुनु पर्छ भन्ने अधिकांशको माग देखिन्छ ।

यद्यपि नेतृत्व लिन कै लागि एनसीसीकै मातहतमा काम गर्ने भद्र सहमति गरेर गएकाहरू काम गर्न नसकेपछि पुरानो मुद्दा अगाडि सारेर भाग्ने गर्छन् । यो प्रक्रिया निरन्तर चलिरहेको छ । एनएएनसी कै मातहतमा राखेर काम पुरा गरेपछि एनएएनसीलाई स्वायत्त बनाउनु पर्छ भन्नेहरू पनि उत्तिकै छन् । र यस विषयमा पटक पटक सम्झौता भएका छन् । एनसीसी भवन निर्माणको नाममा भएका वार्ता र सम्झौतामै धेरै समय खर्च भइसकेको छ । काम भन्दा पनि आ–आफ्नै डम्फु बनाउनेहरूको राजनीति नै विकासको बाधक हो । यही मतान्तर नै बे एरिया मा कम्मुनिटि सेन्टर बन्न नसक्नु को मुख्य कारण हो भन्दा फरक नपर्ला । तर कुरो त्यति मा मात्र सकिन्न । सुरुमा केही व्यक्ति विशेषको जुँगाको लडाई अर्थात् को भन्दा को कम भनेर आफूले आफूलाई देखाऊ न खोज्दा आपसी व्यक्तिगत दुस्मनीको कारण संस्थालाई आफ्नो दुस्मनी पोख्ने मैदान बनाएको देखिन्छ ।

त्यो दुस्मनी पछि गएर संस्थागत रूपमा विकास भएको छ । आफूले दुख गरेर कमाएर खाई नखाई दिएको पैसाले कहिले बन्ला हाम्रो सामुदायिक घर ? हाम्रो आफ्नै सामुदायिक घर छ भन्ने दिन कहिले आउला ? भन्ने दुखेसो कतिपय दाताहरूको छ । नेतृत्वको दौड र कार्यसमिति भन्दा बाहिर रहेका थुप्रै दाताहरू निराश भएका छन् । एनसीसी अध्यक्ष रहेका यज्ञ लाल श्रेष्ठ ले एनएएनसीको नेतृत्व लिन उम्मेदवारी दिने घोषणासँगै तरङ्ग उत्पन्न भएको छ । यसमा दुवै खालका प्रतिक्रिया देखिन्छ । श्रेष्ठले काम गर्न सक्छन् भनेर विश्वास गर्नेहरू पनि छन् । र कतिपयले श्रेष्ठले काम गर्ने भन्दा पनि बहाना बाजी गरेर भाग्न खोजेका हुन् भन्नेहरू पनि उत्तिकै छन् । कतिपय व्यक्तिहरूसँग अनौपचारिक कुराकानीमा यज्ञ लाल श्रेष्ठ भन्दै थिए एनसीसीमा एनएएनसीले काम गर्न दिएन अब एनएएनसीमा गएर भए पनि कम्युनिटी भवन बनाएरै छोड्छु । यदि नेतृत्व दिएनन् भने सम्झने छु मैले सामाजिक काम गर्न छोड्नु पर्छ ।

अहिले एनएएनसीको नेत्रितो दिनका लागि २ होनहार युवाको उम्मेदवारी पर्ने लगभग निश्चित छ । चर्चामा रहेका यज्ञ लाल श्रेष्ठ र प्रितेस कार्की । यी दुवै निकै अब्बल दर्जाका र सफल व्यवसायी हुन् । समाजलाई सही दिशामा मोड्न सक्ने व्यक्तिको रूपमा हेरिएका छन् । प्रितेस कार्की एनएनएनसीकको पूर्व महासचिव हुन् । उनले संस्थामा राम्रै समय र योगदान दिएका थिए । नेतृत्वमा जो गए पनि बे एरिया बासीले आफ्नो सामुदायिक भवन बनाउने सपना पुरा भएको हेर्न चाहन्छन् । अमेरिकाका अरू सहरमा धेरै पछि सुरु भएको अभियानले नेपाली सामुदायिक भवन र मन्दिर निर्माण भइसके छन् । सबैभन्दा पहिला सानफ्रानसिस्कोमा सुरु भएको प्रयास भने लडाई झगडाले उल्झाएर राखेको छ । आम मानिसहरू भने झगडा हैन आफ्नै सामुदायिक भवन चाहन्छन् ।