अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०८:१४ | Colorodo: 19:29

पागलहरूको बस्तीमा महाकालको आगमन

ध्रुव कुँवर २०७५ वैशाख २३ गते ११:३४ मा प्रकाशित

चैत वैशाखको धूपमा तातो तातो हावाको झोक्का उसको शिरको गहनालाई सुमसुम्याउँदै बिगार्न उद्धत थियो । उता हावासँगै उड्न र रमाउन चाहिरहेको कपाल सम्हाल्न उसलाई हम्मेहम्मे परिरहेको छ । विरक्तिने उजाडमा पातपतिंगरको तिखो सुस्केरासँग उसको मन वहलिन लाग्यो । उ किन किन सोचमग्न भयो । उसको मन कल्पनाको दुनियाँमा छिरिसकेको छ । मनमनै सोच्न लाग्यो कपाललाई जस्तै जीवनमा मैले धेरैथोक सम्हाल्नु छ ।

धेरै बाधा व्यवधानहरूका झोक्का सम्हालियो, अझै कति संहाल्नुछ ? प्रातकालिन दौड छोटिदै गएपनि दिनभर गर्नु पर्ने काम र भेटघाटको चांङ उसका मनमा लम्मेतान भएर आउन थाले । कुनै काम टार्न, कसैलाई नाइँ, यो सक्दिन र हुँदैन भन्न नजान्ने भनौँ वा अर्काको लागि अधिक समर्पित हुँने परोपकारी भावना जलिएको छ उ । यसलाई काइदाको फाइदा वनाउनेहरुले भारी बनाउँदै लगेको उसले पत्तैपाएन । जत्रोसुकै भारी बोक्नु परेपनि , पिडा र दर्द सहनु परेपनि समाजका गतिविधिबाट उ अलग भएर बस्नै सक्दैन । युक्तिले नभए शक्तिले आफ्नो भूमिका निर्वाह गर्ने उसको आदत नै भएको छ । परिवार भन्दा समाज र सङ्घ संस्था जहिले पनि पहिलो प्राथमिकतामा परे । यसबापत बाबा–आमा ,श्रीमती र छोरीले पिडा भोगेका छन् । परिवारको सन्तुष्टि नै सर्वोपरि हो भन्ने थाहा हुँदाहुँदै पनि उसले थाहै नपाए झैँ गरेर अगाडि बढेको छ । उ आफूले आफैलाई संझाउछ । परिवारको सुखका लागि व्यक्ति केन्द्रित चरित्र त्याग्नु पर्छ । समाजको हितमा लाग्न परिवारको घेरा नाग्नु पर्छ । र राष्ट्रको हितका लागि परिवार र समाजको सीमारेखा भन्दा माथि उठ्नु पर्छ ।

रापिलो घामका किरण वरपरका पहाडमा ठोकिएर गल्छीतिर छिर्न थाले । पसिनाले भिज्दै गएको शरीरलाई संहाल्दै उसका पाइला धिमा गतिमा अगाडि बढ्दै छन् । उ आफ्नो समिक्षक आफै बन्न थालेको छ । उफ् घामको ताप र चहक । उसको शरीर मात्र होइन प्रकृतिका सबै चिज लोलाउदै गए । जनावर र चराचुरुंगि आहार र शीतलको खोजीमा चहलपहल गर्न थाले । उर्वर भूमि त्यसमाथि प्राकृतिक स्रोत साधन र ऊर्जाले भरिपूर्ण अमेरिकालाई मानवीय विकासले बेहुली झैँ सिँगारिएको छ । बैभवताले भरिपूर्ण भव्य देश अमेरिकामा जतातै मोर्निङवाक गर्ने ठाउँहरू छन् । सवैखालका मानिसहरू बिहानपख देख्न सकिन्छ । जताततै संभावनाका ढोकाहरू खोलिएका कारण अमेरिकामा विश्वभरबाट मानिसहरू ओइरिएका छन् । अवसरको खोजीमा मानिसहरू यत्रतत्र घुमिरहेको देखिन्छ । सबैले भन्छन् सपनाको देश अमेरिका , तर अमेरिकामा पनि धेरैका सपना हुरीमा उडिरहेका छन् ।  उ गम्दै जाँदा गुनगुनाउन थाल्यो ।

उडायो सपना सबै हुँरिले ।
सपनासवै हुरीले ।।
निश्छल आँखामा चोखो मायाको कस्तो अठोट थियो ।।।

तर उसले अमेरिकामा निश्छल मायाको अठोट नभेटेको धेरै भइसकेको छ । उसलाई सबैले आ–आफ्नो स्वास्र्थका लागि उपयोग गर्न खोजेको महसुस भयो । तर पनि उ समाजसँग अलग हुनसक्दैन । आधुनिकताले ढाकिएको अमेरिकी समाजमा छिरेपनि नेपालीहरूलाई पूर्वीय दर्शन र संस्कार प्रिय छ । आफ्नो संस्कार संस्कृति दोस्रो पुस्तामा कसरी सार्र्ने भन्ने धेरै परिवारलाई चिन्ता छ । नेपाली संस्कार संस्कृति प्रवर्द्धन र भाइचारा सम्बन्ध विकास गर्न खुलेका सङ्घ संस्था पनि छन् । उसलाई यसमा सहयोग पु¥याउन मन छ । तर यसका नाममा अगुवाहरुले गरिरहेका काम देखेर उसको मन विरक्तिएको छ । आपसी स्वार्थ , गुटउपगुटमा बाढिएका सामाजिक अभियान्ताहरुबाट भावी पिँढी दिक्षित भए भने कस्तो होला ? प्रश्न माथि प्रश्न गर्दै उ सोचमग्न बन्छ । नेपाली भन्ने पहिचान कहाँ होला ? अनि कसले गर्छन् नेपाली संस्कृति झल्कने खालका कार्यक्रम ? कसले हेरिदिने ? कसले बुझिदिने त्यो कार्यक्रम ? कहाँ बज्ला हाम्रा सोरठी, मारुनी र भजन चुड्का ? कहाँ रहला हाम्रो देवनागरी लिपी ?
पद लिने तर जिम्मेवारी पुरा नगर्ने अभियान्ताहरु प्रति उ आक्रोसित हुँदै घर पुग्छ । संहालिदै आफ्नो नित्य कर्ममा लाग्दछ । ब्रेकफास्ट राम्रोसँग गर्न नपाउँदै अमेरिकाको व्यस्तताले उसलाई गाज्न थालिसकेको छ । बिहानीको सात बज्यो । स्टोरको साँचो खोलेर रजिष्टर चलाउन नपाउँदै उमेरले डाँडो काट्न लागेको स्वयत अमेरिकन जोन तंग्रदै भित्र छिर्छ ।

जोन सिधै बियर राखेको कुलर तिर आँखा लगाउँदै गुडमर्निङ भन्छ । अल्कोहलिक भइसकेको बुढो जोनलाई खुसी बनाउन उ रमाइलो पारामा गफिन थाल्छ । जोन तिमीले बियर पिउन छोड्यौँ की जस्तो लागेको थियो । उसले थप्यो तिमी त यहाँ नआएको धेरै भयो । कि सन्चो भएन ? झन्डै तिम्रो प्रिय ब्रान्डको बियर नै अडर नगरेको । जोन कुप्रिदै गएको शरीरलाई थोरै ठाडो बनाएर उसको मुखतिर हेर्दै हाँस्छ । चुरोटको अम्वली जोनको हाँसोसँगै चुरोटको दुर्गन्ध बाहिर आउँछ । म केही समय रक्सी नखाने उपवासमा थिए । उपवास हिजो सकियो । जोनको कुराले उसलाई कौतूहल बनायो । उसले सोधिहाल्यो कस्तो उपवास ? उ उत्साहित हुँदै बताउन थाल्छ । अमेरिकामा जिससलाई मान्ने धेरै थरीका समुदाय छन् । क्रिश्चियनमा रोमन क्याथोलिक, इष्ट्रन अर्थोडक्स प्रमुख दुई समूह थिए । त्यसमा पनि रोमन क्याथोलिकवाट प्रोटेष्टियन र वल्ड क्याथोलिक बने । प्रोटेष्टियनमा पनि लुथेरन ,बाप्टिस्ट, पेन्टेकोष्टल, एन्जलिकन, कंग्रेगटेशनलिष्ट, स्नेक ह्यान्डलर संप्रदाय रहेका छन् । हाम्रो संप्रदायका क्रिश्चियनले ४५ दिन रक्सी नखाने उपवास हुन्छ ।

जोनले हातको बियर रजिष्टर तर्फ राख्दा राख्दै रक्सी नखाने राम्रो संस्कार पनि बताउँदै थियो । उसलाई आफ्नो हातको कफी खल्लो लाग्यो । बियर र रक्सी उनीहरूको संस्कार ठान्ने उसको दिमागको भ्रम टुट्यो । जाँड रक्सीलाई कुनै महत्त्व नदिने ऋषिमुनिका सन्तान अकार्को कुरा काट्न र खिल्ली उडाउनमा हिजो आज रक्सीको सिसी मुनी रात बित्छन् । राम्रो संस्कारबाट आएकाहरु अहिले रक्सी संस्कारका प्रवद्धक भएका छन् । यहाँ खैरेहरू अहिले उपवासमा लागेका छन् ।

उसमा ग्लानि हुन्छ । हैन पागल त भइसकिन ? उ मनमनै सोच्न थाल्छ । यौन पिपासु र जड्याहरुको पक्षमा चर्को स्वर गर्नेहरु, सामाजिक सङ्घ संस्थामा बसेर मनपरी गर्ने डाकाहरुको पक्षमा उभिने हुक्के चम्चेहरु र अमेरिकामा बसेर मानव तस्कर गर्नेहरुको बोलवाला भएको नेपाली समाजमा खै कसरी बसेको छ उ । तिनीहरूलाई नै सर्वेसर्वा मानेको देखेर उ दिकदार भएको छ । उसैलाई महापागल बनाउने खतरा छ ।

खराबलाई असल देखाउन लाग्नेहरु, झुटोलाई सत्य बनाउन खोज्नेहरु, पिडकलाई पुरस्कृत गर्नेहरु, पैसा र प्रलोभनमा पद प्रतिष्ठा किन्नेहरु र तीनका भिजिलान्ते र हनुमानहरुको चर्को स्वर गुन्जियीरहेको समाजमा उसलाई साँच्चै सकस भएको छ । तर उ आफ्नो ब्रम्ह र विवेकको तिलान्जली दिँदैन । उसलाई मसानघाटमा नै पु¥याएपनि अत्याचार र अन्यायको विरुद्ध महाकाल भएर आउने छ ।