अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २१:५९ | Colorodo: 10:14

सत्य तितो हुन्छ, नपचे पनि नोक्सान गर्दैन

ध्रुव कुवर २०७५ वैशाख १२ गते २२:५८ मा प्रकाशित

यस धर्तीका सबै चिजहरू गतिशील र नासवान छन् । वेला वेला अपसमा टकराउछन् र आफ्नो मति अनुसारको परिणति भोग्छन् । समय वलवान छ । सबै कुराको फैसला समयले नै गर्ने छ । कतिपयले आफूलाई समय भन्दा वलवान र चतुर भएको देखाउने कष्ट गर्छन् । त्यसैबाट विकृतिको पहाड निर्माण हुन्छ । अनि हामी भुल्न थाल्छौ भौतिक शरीर नासवान छ र यो कुनै पनि बेला नाश हुन्छ । मृतु सत्य कुरा हो, यसलाई अनिश्चित काल सम्म बचाई राख्न सम्भव छैन । शास्त्रहरूले भन्छन् आत्मा अजर अमर हुन्छ । किनकि यो नासवान छैन । यो पुनरजन्म चक्र लीलामा समाहित हुँदै जान्छ ।

आत्माहरू धेरै प्रकारका हुन्छन् । कुल अर्थात् धर्मको अनुसरण गर्ने आत्मा शरीरमा छ भने मानिसले साँचो वा झुटो के हो भनेर छुट्याउछ । समाजलाई बताउँछ । सत्मार्गमा हिँड्न प्रयास गर्छ । यो समूहमा चार प्रकारका आत्माहरू रहन्छन् । जसले समाजलाई राम्रो बाटोमा डो¥याउन कोसिस गर्छन् ।

अर्को प्रकारको आत्माहुन्छ प्रेतात्मा । यस प्रकारको आत्माभएका मानिसहरू अरूलाई परेसानी गर्ने । झुटोको सहारा लिने, अरूलाई दुख दिएर फाइदा लिने, असत्यलाई सत्य बनाउन खोज्ने, गलत कर्मलाई सही ठान्ने । यो समूहमा पनि चार प्रकारको आत्मा रहेका हुन्छन् । यसले समाजमा विखण्डन निम्त्याउने, द्वन्द चर्काउने, मतिभ्रष्ट गराउने काम गरिरहेको हुन्छ । पृथ्वी लोकको स्वर्ग मानिने अमेरिकामा आएर पनि हामी प्रेतात्माको बाटोमा हिँड्न खोज्दै छौ । र कुनै न कुनै बहानामा परेसान आत्माहरूको वदमासीलाई चोख्याउन प्रयास गरिरहेका छौँ ।

नराम्रो अर्थात् नरक तर्फ धकेल्ने आत्मालाई बढुवा गर्ने हाम्रो मति नै हो समाजलाई दुर्गन्दित र तहस नहस बनाउने । हामी जानी नजानी प्रेतात्माहरुलाई मलजल गर्दैर्छौ । थप प्रेतात्माहरु जन्माउन खोज्दै छौँ । पुनरजन्ममा विश्वास गर्नेहरु प्रेतात्माले कहिले पनि मुक्ति पाउन नसक्ने विश्वास गर्छन् । अपराधको भारीले यसै जुनीमा पनि उसको शरीर किचिन्छ । रोग–ब्याधि, दुख–पिडा र सकस भोग्दै मृत्यु वरण गर्छ । मरेपछिपनि आत्माले मुक्ति पाउँदैन ।

सबैलाई थाहा छ आत्मालाई हाम्रा खुला आँखाले देख्न सकिन्न । त्यसैले खराब आत्माहरूको आयतन मापन गर्ने कुनै भौतिक सामग्री बन्नै सक्दैन । खराब आत्मा आयतन मापन गर्न सक्ने हो भने यसको खराब परिणाम आउन नै नदिने भौतिक उपाएको पनि खोजी गर्न सकिने थियो । तर भौतिक विज्ञानको उच्चतम विकास र वैज्ञानिकहरूको खोज अनुसन्धानले औँल्याएका सम्भाव्य आयाम भन्दा पनि यो धेरै परको कुरा भएकाले यसलाई भौतिक दुनियाँमा देखाउन सहज छैन । तर वैज्ञानिकहरू आत्माको खोजीमा जुटेका जुटै छन् ।

मानिस जन्मन्छ । बुढो हुन्छ र मृत्यु हुन्छ । यो सबै देखिन्छ तर आत्मालाई महसुस गर्न सक्ने मात्र हो । आत्माले हाम्रो भौतिक सारिरमा परिवर्तन गराउँदै अन्ततः आफू बुढो नभई वाहिरन्छ । आधुनिक जमानामा यो कुरामा विश्वास गर्नेले अपाराध गर्न डराउछ । तर धेरैले यी कुरामा खासै विश्वास गर्दैनन् । त्यसैले त अपराध गर्न उद्धत भइरहेका हुन्छन् ।

सामान्य उदाहरण मात्र दिन सकिन्छ । हामी कपडा पुरानो भएपछि परिवर्तन गरी नयाँ कपडा लगाउँछौ । त्यसै गरी आत्माले पनि प्राणीको भौतिक शारीर निश्चित समय पछि त्याग गर्दछ । र नयाँ जन्म लिँदै गरेको प्राणीमा प्रवेश गर्न पुग्छ । यो शाश्वत सत्यलाई हामीसबैले स्वीकार गर्न नसके पनि सत्य यही हो । जसरी एउटा बालकलाई आमाले यो तेरो बाबु हो भनेर चिनाउछिन र बालकले स्वीकार गर्दछ । त्यसै गरी यसको सत्यतालाई हाम्रा शास्त्रहरूले बताए अनुसार हामीले स्वीकार गर्नु पर्दछ । किनकि यो भन्दा माथि यसलाई प्रमाणित गर्ने कुनै आधिकारिक माध्यम छैन । त्यस्तै आत्माको उपस्थितिलाई बुझ्न माहापुरुसहरुसंगको सङ्गत र विभिन्न धर्मग्रन्थ पढ्नु बाहेक अर्को कुनै स्रोत छैन ।

कोही मानिस मर्दा वा हाम्रा आफन्तहरूले देह त्याग गर्दा हामीलाई निकै दुख लाग्छ । तर उ मरेको होइन उसको भौतिक शरीरलाई केवल आत्माले छोडेर अर्को जीवमा प्रवेश गरेको हो । यो पृथ्वी लोकमा प्रत्येक मिनेट १ सय ५ मानिसको भौतिक शरीर आत्माले त्याग गरिरहेको हुन्छ र एक मिनेटमा नै २ सय ५० नयाँ मानव जन्ममा आत्मा प्रवेश गरिसकेको हुन्छ ।

संसारमा अहिले दुई प्रकारका मानिसहरू छन् । अध्यात्मबादी र भौतिकबादी । भौतिकबादीहरुलाई अध्यात्मिकबादीहरु नास्तिक पनि भन्दछन् । यदि यी दुवै वादीहरूका कुरा मान्ने हो भने पनि हामी मानिसको मृत्युमा सोख गर्नु पर्ने कुनै कारण देख्दिन । किनकि भौतिक संसारमा मानिसहरूले बनाएका ठुला ठुला भौतिक संरचनाहरू केही समयको लागि अस्तित्वमा रहन्छन र केही समयपछि त्यसलाई ढलाइन्छ र त्यो प्रकृति मै लिन हुन्छ त्यस्तै मानिसको शारीरलाई पनि भौतिक मान्नु पर्छ जो कुनै निश्चित समयावधि सम्मको लागि मात्र काम लाग्ने हुन्छ ।

अध्यात्मलाई मान्ने हो भने जीवहरूको चोला मानिसले लगाउने कपडासँग तुलना गरिन्छ जसलाई मानिसले निश्चित समयमा परिवर्तन गर्दछन् । त्यसैले हामीले आत्माको अस्तित्वलाई स्वीकार गर्रौ वा नगरौँ दुवै परिस्थिमा भौतिक जीवनलिला समाप्त हुँदा शोक गर्नु पर्ने कारण छैन । तर जिबात्मा अजर अमर छन् । त्यसैले अर्को जीवमा गएर पुन जन्म लिन्छ । जसलाई हामी पुनरजन्म पनि भन्ने गर्दछौ । अन्ततः प्राणीको शरीर नाशवान छ तर आत्मा अबिनासी छ । राम्रो कर्म गर्ने मानिसको आत्मा सधैँ राम्रै गर्ने जीवहरूमा सर्दै जाने छ । प्रेतात्मा वा परेसान आत्माहरू पुनरजन्ममा पनि नराम्रो ठाउँमा नै प्रवेश गर्न पुग्नेछन् । यो जन्ममा राम्रो कर्म गर्न प्रयास गरौँ । मरेपछि आत्माले शान्ति पाउँछ । ओम शान्ति ।

लेखकको भनाई: म कुनै ज्ञानी सन्त माहात्मा होइन, ज्ञानी व्यक्तिहरूले पढेर अज्ञानीले पनि केही प्रयास गरेछ भनेर बुझी दिनु होला ।