अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १५:०७ | Colorodo: 03:22

अमेरिकन इतिहासका केही रोचक प्रसँगहरु

पूर्ण श्रेष्ठ २०७७ चैत २१ गते १२:३५ मा प्रकाशित

अमेरिकाको जन्म (जुलाई ४,१७७६) त्यस बखतको विश्वको लागि एक झड्का थियो । त्यसैले, जन्मँदै यसले सयौँ प्रहार खेप्नु पर्‍यो । संसारमा अन्यत्र राजा नै राजा भएको देश तर भर्खर जन्मेको यो अमेरिका चाहिँ राजतन्त्र हुनु हुँदैन भन्ने देश । अन्यत्र राजा हुन जनता मार्ने देश तर यहाँ भने श्रीपेच दिँदा पनि नाइँनाइँ भन्ने राष्ट्र प्रमुख । अन्यत्र हिज मेजेस्टी, लोर्ड भन्नु पर्ने राजाहरू तर अमेरिका चाँहीँ मिस्टर प्रेसिडेन्ट, मिस्टर वासिङ्टन मात्र भने पुग्ने राष्ट्र प्रमुख । “म राष्ट्रको सेवक”, “म जनताको सेवक” भन्ने राष्ट्र प्रमुख । जन्मँदा नै भिन्दै चरित्रको भएकोले यो देश अन्य संसारको लागि बेजोड धक्का थियो । “हामी सार्ब भौम जनता” तथा “सबै मनुष्य भगवानका समान सृष्टि हुन” जस्ता वाक्यहरू मूल दस्ताबेजमा सर्व प्रथम लेख्ने मुलुक पनि अमेरिका नै हो ।

अमेरिकाको जन्म जुलाई ४, १७७६ मा भएको हो भन्ने मानिन्छ । सन १७७६ मा त केवल बेलायती उपनिवेशबाट स्वतन्त्र भएको मात्र हो । तर त्यस भन्दा अघि पनि हजारौँ वर्ष देखी हालको अमेरिकामा मान्छेहरूको बसोबास थियो । अमेरिकाको व्यवस्थित र लिखित इतिहास कोलम्बसको आगमन पछि मात्र भएको देखिन्छ । कोलम्बस इटालियन थिए र स्पेनकी महारानीको लागि नयाँ ठाउँ पत्ता लगाउन सामुद्रिक यात्रामा हिँडेका थिए । क्रिस्टोफर कोलम्बसले सन १४९२ मा अमेरिका पता लगाउनु भएको थियो जसलाई कोलम्बसले त्यस बखत इन्डिया पता लगाएँ भनेका थिए । क्रिस्टोफर कोलम्बसको पदार्पण बहामा टापुमा भएको थियो ।

कोलम्बसले त्यहाँका बासिन्दालाई किन इन्डियन भनेका होलान् ?
क्रिस्टोफर कोलम्बस र अन्य युरोपियनहरूले पाइला टेक्नु भन्दा १०-१५ हजार वर्ष पहिला देखी नै एसियाबाट बसाइ सर्दै आएर उत्तर तथा दक्षिण अमेरिकामा मानिसहरू बसो बास गर्दै आएका थिए । ती बासिन्दा हरूलाई नै कोलम्बस्ले इन्डियन भनेका थिए । किनकि कोलम्बस्ले सन १४९२ मा पदार्पण गरेको भूभाग अमेरिका हैन इन्डिया हो भन्ने ठानेका थिए । कोलम्बसको त्यो ठनाइ नसच्चिँदै सन १५०६ मा कोलम्बसको मृत्यु भयो ।
सन १५०७ मा मर्टिन श्यामउलरले नयाँ नक्सा बनाए । जसमा कोलम्बसले पत्ता लगाएको भूभागलाई अमेरिका भन्ने नाम दिए । बनाइएको नक्सा अनुसार त इन्डिया त दक्षिण एसियामा पर्ने भयो । अब भूभागको नाम परिवर्तन भए पनि त्यहाँका बासिन्दाको नाम भने इन्डियन नै भनियो र पछि नेटिभ अमेरिकन भन्न थालियो । हाल दक्षिण तथा उत्तर अमेरिकामा गरेर लगभग ५-१० करोड नेटिभ अमेरिकनहरू रहेको अनुमान गरिएको छ ।

युरोपियन आगन्तुक (सेट्ट्लर) हरुको अमेरिका आउनुको उद्देश्य
क्रिस्टोफर कोलम्बसको पदार्पणको करिब ११५ वर्ष पछि सन १६०७ मा पहिलो सेट्टलर (व्यापारको लागि आएका मान्छे) हरू हालको भर्जिनिया राज्यको जेम्सटाउन भन्ने ठाउँमा आएका थिए । सन १६०७ मा आएका यी आगन्तुकहरू (सेट्टलरहरु) खासमा सुन, चाँदी, तामाको खोजीमा आएका थिए । त्यस्ता धातुहरू बेलायत लिएर गई बेचेर धनी हुने हेतुले आएका । त्यस पछि सन १६२० मा पहिलो धार्मिक समूह अमेरिका आए । यो धार्मिक समूहलाई पुरिटन्स भनिन्थ्यो । यिनीहरू म्यास्सचुसेट्स राज्यको प्लिमाउथ भन्ने ठाउँमा आएका थिए । यो धार्मिक समूह चाहिँ खासमा युरोपमा धार्मिक प्रताडना भएको कारण स्वतन्त्रता खोज्दै अमेरिकामा नै बसोबास गर्ने उद्धेस्यले नै आएका थिए ।

अमेरिकामा अश्वेतहरू कुन प्रयोजनको लागि भित्राइयो?
सन १६०७ मा आएका ती आगन्तुकहरूलाई जेम्स टाउनको त्यो नयाँ ठाउँमा बाँच्न एकदम मुस्किल भयो । आएको केही महिना भित्रै नयाँ ठाउँको भौगोलिक कठिनाइ सहन नसकी आधा भन्दा बढी आगन्तुक हरुको मृत्यु भयो । आएकाहरू व्यापारी थिए । खेती कसरी गरिन्छ, उनीहरूलाई थाहा थिएन । जाडोमा अत्यधिक जाडो, गर्मीमा अत्यधिक गर्मी, बस्ने ठाउँ जता ततै दल दल भूमि भएको कारण खान, पिउन र बस्नको कष्टले आगन्तुकहरूको मृत्यु भयो । लगभग ५० जना जतिले मृत्युलाई जित्न सफल भएको अनुमान गरिन्छ । आगन्तुकहरूलाई खेती पाती गर्न, घर बनाउन, खाना पकाउन नेटिभ अमेरिकनहरुले सिकाए । उनीहरूले सुन चाँदी त पाएनन् तर सुर्ती खेती गरी टनका टन सुर्ती बेलायत पुर्‍याइ व्यापार गरे । बिस्तारै, बिस्तारै आफ्ना श्रीमती र बालबच्चा पनि जेम्स टाउनमा झिकाइ स्थायी बसोबास गर्न थाले । यसरी अमेरिकामा आउनेहरुको सङ्ख्या बढ्दै गयो । खेती पाती पनि बढ्दै गयो । जसै खेती पाती बढ्दै गयो, कामदारको माग पनि बढ्दै गयो । यसरी कामदारको खाँचो पुरा गर्न सन १६१९ मा सर्व प्रथम अफ्रिकाबाट अश्वेतहरूलाई नोकरको रूपमा ल्याइएको थियो । यसरी नोकरको रूपमा ल्याइएको मान्छेहरूलाई कालान्तरमा दास बनाइयो ।

नेटिभ अमेरिकनहरू विद्रोही स्वभावका हुँदै गएका थिए । युरोपियनहरुले सोचे कि नेटिभ अमेरिकनलाई भन्दा अफ्रिकन अश्वेतहरूलाई दास बनाउन सजिलो छ । पछिपछि अश्वेतहरूलाई जबरजस्ती बाँधेर बिक्री गर्ने हेतुले समेत ल्याइन थालियो । यो मानव व्यापार सयौँ वर्ष सम्म बहुत फस्टायो अमेरिकामा ।

अफ्रिकन राजाहरू वा शासकहरू आफ्नै जनतालाई समाउँदै युरोपियनहरूलाई बेच्ने गर्दथे । युरोपियन व्यापारीहरू ती अश्वेतहरूलाई बहुत कष्ट दिएर जहाजमा हालेर अफ्रिका देखी अमेरिका ल्याउँदथे । त्यसरी अमेरिका ल्याउँदा ६ जनामा १ जना त बाटैमा मर्ने गर्दथे । सुर्ती, चिनी, कपडा, अन्न तथा अन्य बस्तुसँग अफ्रिकन दासहरुको किन बेच हुने गर्दथ्यो । नोकर हुनु र दास हुनुमा धेरै अन्तर हुने गर्दछ । दासलाई कुनै पनि मानवीय अधिकार हुँदैन भने नोकरको मालिक छान्न पाउने अधिकार हुन्थ्यो ।

सन १७५९ मा अमेरिकाको बारेमा फ्रेन्च लेखकको भनाइ:
एक जना फ्रेन्च लेखक जसको नाम मिचेल गिलम जिन दे क्रेभ्कुरले सन १७५९ मा न्यु योर्क भ्रमण गरे पछि अमेरिका कस्तो छ भनी लेखेका थिए । अमेरिका संवृद्धहरुको समाज हो । न्यु योर्कमा एउटा साधारण किसान जति क्षेत्रफलको जमिनमा खेती गर्छ, त्यति क्षेत्रफलमा त फ्रान्समा शासक वर्गको नजिक भएका बहुत धनी किसानहरूको पनि त्यति धेरै जग्गा जमिन हुँदैन । फ्रान्सका धनीहरुको भन्दा सुखी जीवन त अमेरिकाका किसानहरूले बिताइरहेका छन् । अमेरिकन किसानहरूले बिहानको खाजा अन्डा, बेकन, मह बट्टर युक्त पानकेक, जुस, कफी खान्छन् भनेर उल्लेख गरेका छन् । त्यस्तो खाना त युरोपमा केवल धनी बर्गले मात्रा खान सक्छन् ।

क्रेभ्कुरले भनेका थिए कि अमेरिकन भनेका मान्छे त सधैँ नयाँ नयाँ सिद्धान्त प्रतिपादन गरी रहने, नयाँ नयाँ बिचारहरू ल्याइरहने मान्छेहरू हुन । अमेरिकन भनेका अत्यन्त आत्म विश्वासी, जोसँग पनि मिल्न सक्ने, मन मिलेको छ भने जोसँग पनि विवाह गर्न सक्ने मान्छेहरू हुन । विवाहको बारेमा भनेका थिए कि अमेरिकनहरुको परिवार बहुत मिश्रित मान्छेहरुले बनेको हुन्छ । एउटा बेलायतबाट आएको पुरुषले फ्रान्सबाट आएको आइमाईसँग बिहे गरी चारवटा छोरा पायो भने ती चार छोराको बिहे अन्य चार देशका महिलासँग गर्दा परिवारमा कसैलाई केही आपत्ति हुँदैन । अमेरिकनहरू धर्म, समुदाय, खानदान जस्ता मान्यताहरूलाई पुरानो बिचार मान्दछन् । युरोपमा त्यस्तो हुन सम्भव छैन ।

सन १७५९ मै उनले लेखेका थिए कि अमेरिकनहरू देशको कानुनको पालना गर्छन् । कानुनहरूलाई व्यवहारमै ल्याउँछन् । अमेरिकनहरू होसियार पूर्वक समाचारपत्र पढ्छन् र सरकार र शासकहरूको डटेर आलोचना गर्दछन् । जुन कुरा गर्न युरोपमा सम्भव छैन । अमेरिकनहरू कोही धनी, कोही गरिब भएको मन पराउदैनन । यही सोचले नै अमेरिकनहरूले भविष्यमा संसारलाई परिवर्तन गर्नेछन् ।

पूर्ण श्रेष्ठ, म्याडिसन विस्कनसन