अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०४:०२ | Colorodo: 16:17

सन्तोष लामिछानेको “अल्टिमेट आकाश” पढेपछि

पूर्ण श्रेष्ठ २०७५ पुष २५ गते २२:४५ मा प्रकाशित

नेपालमा दोस्रो संस्करण प्रकाशनको तयारीमा रहेको सन्तोष लामिछानेको उपन्यास “अल्टिमेट आकाश” म्याडिसन, अमेरिकामा नेपाली अमेरिकी मैत्री सङ्घका वर्तमान अध्यक्ष पनि रहेका सन्तोष भाइले मलाई एक प्रति उपहार दिएका थिए । विदेशमा हुनेहरूले यो किताब एमजोन डट कम बाट किन्न सक्दछन् । 

सन्तोषको पहिलो कृति “चामल खानेहरू र चौलानी पिउनेहरू” कविता सङ्ग्रह पनि म्याडिसनमै मेरो अध्यक्षता हुँदा विमोचन भएको थियो । नेपाली साहित्यप्रति सन्तोषको अनुरागसँग यसरी पहिले नै केही हदसम्म परिचित मैले “अल्टिमेट आकाश” भनेको मान्छेले जीवनको उत्तरार्धमा जीवन व्यतित गर्न रोजेको भूमि (देश) लाई भनेको होला भन्ने कौतुहलता लिएर पुस्तक अध्ययनको थालनी गरेको थिएँ ।

पुस्तक पढ्दै जाँदा अन्य धेरै कौतुहलता थपिँदै गयो । एउटा हाइ स्कुल पढ्दै गरेको केटो (विभास)-को लगनशीलता, मेहनत, महत्त्वकांक्षा र बाध्यताले डोर्‍याउँदा अध्ययनको लागि विद्यार्थी बनेर अमेरिका आइपुग्छ । एउटै प्लेनमा उसको मिल्ने साथी लाक्पा र ऊ लस एन्जलस विमानस्थलमा ओर्लन्छन् । त्यहाँबाट ती दुईको गन्तव्य अलग हुन्छ र छुटिन्छन् ।

एयरपोर्टबाट छुट्टिने बेला विभासले लाक्पालाई भन्छ – “बुझ्यौ लाक्पा हामीले यहीँ अमेरिकामा बबाल प्रगति गर्ने हो ।” विभासको यो भनाई सुनेपछि मेरो मनमा थप कौतुहलता जाग्यो । यो नुनको पुतला समुन्द्रमा पौडी खेल्न आएको छ – पग्लन्छ कि ठडिन्छ । अर्को सोच फेरि आयो – यो घैटोमा रोपिएको बिरुवाले आकाश छुन्छु पो भन्छ त । हेरौँ अब के हुने हो । 

जब कलेज सुरु हुन्छ तब कलेज काम र पैसाको जोहो गर्नु पर्ने राप र तापले विभास पिल्सिएको महसुस हुन्छ । अन्तर्राष्ट्रिय विद्यार्थी भएको कारण क्षमता अनुसारको काम गर्नबाटै वञ्चित हुनु उसको लागि बडो पीडा थियो । कलेजोको क्याफ्टेरियामा, भारतीय सज्जनको भोजनालय र अब्दुलको पेट्रोल पम्प (ग्यास स्टेसन)-मा काम गर्दा विभासले विविध जिन्दगी देख्छ । अमेरिका भित्रको अनेक अमेरिका देख्दछ ।

अलग देशबाट आएका अलग व्यक्तिहरूको संस्कार, पेसा, धर्म, चाहना, भाषा, अपराध रहनसहन खानपान अनि व्यक्तिपिच्छेका फरक चरित्रहरू ग्यास स्टेसनमा काम गर्दा अनुभव गर्छ विभासले । आफ्ना देशकाहरू पराई भएका अनि पराई देशकाहरू आफ्ना भएका जीवन्त घटनाहरू यो उपन्यासमा समेटिएको छ ।

यो पुस्तक उपन्यास जस्तो पनि छ र आत्मकथा जस्तो पनि छ । यसमा अमेरिका, नेपाल दुवै समेटिएको छ । एक विद्यार्थीले “आफ्नै कथा” ठान्न सक्छ भने अन्य कोही व्यक्तिले अन्य अवस्थामा मलाई पनि यस्तै भएको थियो भन्न विवश पार्छ – उपन्यास यथार्थताको धरातलमा गजधम्म उभिएको छ । उपन्यास विदेश पढ्न जाने सोच बनाउने युवाको र तीनका अभिभावकको विशेष उपयोगी र हर कोहीले पढ्दा पनि रोचक, ज्ञानबर्धक र सन्देशमूलक छ । बिम्बहरू र प्रतीकात्मक भाषा धुरन्धर साहित्यिक उपन्यासमा भन्दा हल्का कम भए पनि सरल भाषामा गहन, उपयोगी र रमाइला प्रसङ्ग उनेकाले यो उपन्यासको विशेषता त्यसैमा छ ।

लंका भन्ने देश सुनै सुनको सुन्दर भए पनि छोडेर सीतालाई लिएर राम अयोध्या फर्केका थिए । यस उपन्यासको मुख्य पात्र पनि ऎस आराम सम्पत्ति र अमेरिकाको आफ्नो प्रगति छाडेर नेपाल फर्किन्छ । मेरो कौतुहलताको जवाफ मैले पाएँ – उपन्यासको पात्रले “अल्टिमेट आकाश” को साक्षात्कार आफ्नै जन्मभूमि नेपालमा गर्न सक्दो रहेछ – “जननी जन्मभूमिश्च स्वर्गादपी गरियसी” भनेझैँ । अनि “अल्टिमेट आकाश” अन्तरमनको आकाश रहेछ । 

प्रतिक्रिया