अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ११:१२ | Colorodo: 23:27

युद्ध पछिको अमेरिकन संवृद्धि र स्वरूपहरू

पूर्ण श्रेष्ठ २०७८ जेठ ९ गते १०:४८ मा प्रकाशित

सन १८६१ मा गृहयुद्ध सुरु हुनु अघि सम्म अमेरिकामा नयाँ पद्धति केही थिएन। हजारौँ वर्ष अघि देखि जे चलन थियो त्यसैमा मान्छे हरू व्यस्त थिए। अधिकांश अमेरिकनहरू बिहान घाम नउदाउँदै खेतबारीमा काम गर्न जान्थे र बेलुका घाम अस्ताउने बित्तिकै सुती हाल्थे। मान्छेहरूसँग समय हेर्न घडी हुन्थेन भने उज्यालोको लागि मैन बत्ती बाल्ने हैसियत हुन्थेन। केवल धनीहरूसँग मात्र घडी हुन्थ्यो भने धनीहरूले मात्र मैनबत्ती बाल्न सक्थे।

गृहयुद्ध अघिका अमेरिकन समाज आफू केन्द्रित थिए। एउटा अमेरिकन आफ्नो फाइदाको लागि अर्को अमेरिकनको शोषण गर्दथे। समाजमा झुट, बेइमानी, अन्याय, अत्याचार व्याप्त थियो। कुनै पनि व्यवसाय तथा पेसामा इमान्दारीता थिएन। कसैलाई कसै प्रति विश्वास थिएन। हर व्यक्ति केवल आफ्नो नाफा नोक्सानको दौडमा हुन्थे। त्यस बखत मान्छेको चाहना मेरो मात्र उन्नति होस् भन्ने थियो। समाजकै उन्नति होस् भन्ने सोच थिएन। व्यक्ति व्यक्तिमा चरम द्वन्दको अवस्था थियो। समाजका यस्ता आन्तरिक द्वन्दले हिंसात्मक रूप लिँदा गृहयुद्ध सुरु भएको थियो।

युद्ध कसैको लागि पनि प्रिय हुँदैन। युद्धले क्षति नै क्षति गर्छ। बाँचेकाहरूलाई जिन्दगीभर तर्साइ रहन्छ। यस्तो कठिन परिस्थितिलाई पनि आफू अनुकूल बनाउँदै संयुक्त राज्य अमेरिका संवृद्धि को उचाइमा पुगेको हो। गृहयुद्धको समाप्ति पछि केही आशावादी र सृजनशील अमेरिकीहरूले अमेरिकालाई संवृद्ध बनाउन सकिन्छ भनेर अघि सरे। त्यही दूरदर्शी अमेरिकनहरूको नेतृत्वले राष्ट्रलाई संवृद्ध बनाएरै छाडे।

जुलाई ४, १७७६को बेलायती उपनिवेशबाट स्वतन्त्रता पाए पछि अमेरिकाले मुलत: तीन (३) वटा डर लाग्दो युद्ध ब्योहोर्यो। सन १८६१ देखी १८६४ सम्म चलेको गृहयुद्ध जसमा छ (६) लाख बिस हजार अमेरिकीहरू हताहत भएका थिए। त्यस पछिको युद्ध थियो प्रथम विश्व युद्ध जुन सन १९१३ देखी १९१९ सम्म चल्यो जसमा लगभग १ लाख १७ हजार अमेरिकनहरूले ज्यान गुमाएका थिए। डर लाग्दो दोस्रो विश्वयुद्ध सन १९३९ देखी सन १९४५ सम्म हुँदा लगभग चार (४) लाख अमेरिकनले ज्यान गुमाएका थिए।

अमेरिकन अर्थतन्त्र र जनशक्तिको विकराल नोक्सान पुर्‍याएको त्यो गृहयुद्ध, प्रथम विश्वयुद्ध र दोस्रो विश्वयुद्ध पछि अमेरिकी सम्बृद्धिमा उछाल नै आएको थियो। गृहयुद्ध सकिएको आठ वर्ष पछि सन १८७१ मै अमेरिका विश्वको सबभन्दा ठुलो अर्थतन्त्र भई सकेको थियो।

गृहयुद्ध (सन १८६१-१८६४) पछिको संवृद्धि र स्वरूपहरु:
लगभग चार वर्षको गृहयुद्धमा भीषण नरसंहार भएपछि सन १८६५ देखी १९०० सम्मको अवधिमा अमेरिकामा संरचनात्मक रूपमै परिवर्तन आएको थियो। गृहयुद्धको समाप्ति पछि अमेरिका कृषि युगबाट रूपान्तरण भई औद्योगिक युगमा प्रवेश गर्‍यो। गृहयुद्ध साह्रै निर्दयी, क्रूर र आक्रामक थियो। तर पनि गृहयुद्धको बेला प्रशस्त औषधी कारखाना र औषधालयहरू खुले। टोल टोलमा स्वास्थ्य केन्द्रहरू खुले।

गृहयुद्धपछि अमेरिकाका साना किसानहरू ठुला किसान भए भने साना व्यापारीहरू उद्योगपतिमा परिणत भएका थिए। उद्योग तथा निर्माण कारखानाहरू खुल्न थाले। बढे बढे पानीजहाज हरू बनाउने कारखानाहरू खुल्न थाल्यो। मान्छेहरू खेतीपाती पेसा छाडेर औद्योगिक कलकरखानाहरुमा काम गर्ने भएका थिए।

जे पी मोर्गन, एन्ड्रेउ कार्नेगी, जोन रकफेल्लर तथा कार्नेलिअस भ्यान्डर्बिल्टले व्यापार तथा उद्योगमा मात्र हैन राजनीतिमा समेत दबदबा कायम राखेका थिए। यी पुंजिपतीहरुको अन्तर्गत लाखौँ कामदारहरू थिए। यिनले जसलाई भन्यो उसैलाई ती कामदारहरू भोट हाल्थे। त्यसैले यी पुँजीपतिहरू सरकारी नियम मान्नु त दूरको कुरा नियम बनाउने राष्ट्रपति नै फेरि दिने हैसियत राख्दथे। हरेक अमेरिकीहरूको जिन्दगी यिनै पुँजीपति हरूको खटनपटनमा चल्दथ्यो। पुँजिपतीहरुको दबदबाले अमेरिकी प्रजातन्त्रलाई नै धावा बोलेको समय थियो त्यो। मुलुक भर असमानता, शोषण, भेदभाव र बन्चितिकरण व्यापक भएता पनि तथा अमेरिकन प्रजातन्त्रमा ग्रहण लागेको अवस्था भए पनि व्यवसाय, व्यापार, उद्योगहरू तथा रेलरोडहरु उधुमै गतिमा वृद्धि भएको थियो। रेलमार्ग निर्माणमा यति तेज आयो कि वर्षमा ६,००० (छ हजार) माइल सम्म बन्न थालयो। सन १८७० सम्ममा जम्मा ५३,००० माइल रेल मार्ग भएको अमेरिकामा बिस (२०) वर्ष पछि १६४,००० माइल पुगेको थियो।

प्रथम विश्वयुद्ध (सन १९१३-१९१९) पछिको संवृद्धि र स्वरूपहरु:
सन १९२० सम्म २० प्रतिशत अमेरिकीहरू आफै हलो जोतेर खेती गर्दथे। ४४ प्रतिशत अमेरिकीहरू गाउँमा बस्थे। घर भित्र पानी आउने धाराको व्यवस्था थिएन। १९३० सम्म आइपुग्दा ३० प्रतिशत घरमा बिजुली थिएन। प्रथम विश्वयुद्ध पछि त अमेरिकन समृद्धिले अमेरिकन जीवन शैलीमा चमत्कारिक परिवर्तन ल्यायो। सन १९२० पछि त आधुनिक अमेरिकाको सुरुवात भयो। यो आधुनिकता समस्त विश्वको लागि अनुकरणीय बन्यो। आम मान्छेहरूले कल्पना नै गर्न नसकेका आकाश छुने भवनहरू बन्न थाले। सन १९३० मा ७७ तल्ले १०४६ फिट अग्लो क्राइस्लर बिल्डिङ न्यु योर्क सहरमा खडा भयो। सन १९३१ मा १०२ तल्ले १२५० फिट अग्लो अम्पाएर स्टेट बिल्डिङ बन्यो। न्यास्रो मेट्न प्यारिस, लन्डन जाने अमेरिकीहरूलाई न्यु योर्क सहरको यस्ता नयाँ संरचनाहरूले गर्ववान्वित तुल्यायो।

सन १९२० पछि त अमेरिकामा अनगिन्ती रेडियो स्टेसनहरू खुल्न थाले। बाटोमा विभिन्न रूप र आकारका मोटर कारहरू गुड्न थाले। बडा बडा हवाईजहाजहरू निर्माण हुन थाले। टोल टोलमा घन्किने ज्याज सङ्गीतहरूले अमेरिकन समुदायलाई रोमाञ्चक बनायो। जताततै नयाँ नयाँ अवसरहरू खुल्न थाले। नयाँ नयाँ गीत सङ्गीतले बस्ती बस्तीमा उधुम मच्चाउन थालेको थियो। अर्थतन्त्र अक्कासिदो थियो। स्टक मार्केटमा उछाल आएको थियो। युवा युवतीहरूको लागि नयाँ नयाँ फेशनहरू आउन थाल्यो। धेरै भन्दा धेरै बिलासी घरहरू बन्न थाले। गोली गाँठा छोप्ने गरी लुगा लगाउने महिलाहरू छोटा छोटा स्कर्ट लगाउन थाले तथा कपाल छोटो छोटो पारेर काट्न थाले। महिलाहरू कार चलाउने, रक्सी चुरोट पिउने तथा डबलीहरूमा मस्त नाच्ने गर्न थाले।

अमेरिकामा बढे बढे अम्युजमेन्ट पार्कहरू (मनोरञ्जन पार्क) बन्न थाले, सिनेमा घरहरू बन्न थाले। मान्छेहरू टेनिस खेल्ने, गल्फ खेल्ने, जोडा जोडी भाइ लभ अफेयरमा भुल्ने गर्न थाले। जसै आर्थिक र शैक्षिक हैसियत बढ्न थाल्यो, साहित्यिक कृया कलाप पनि बढ्न थाल्यो। नाइट क्लब, नाइट कन्सर्टहरू, आर्ट लिट्रेचर, सभा सम्मेलन हुन थाल्यो। रेडियो, टेलिभिजनमा थरी थरिका विज्ञापनहरू बज्न थाल्यो। प्रथम विश्वयुद्ध पछिको शान्ति र समृद्धिले अमेरिकन जीवनशैलीमा ल्याएको चमत्कार थियो यो।

द्वितीय विश्वयुद्ध (१९३९-१९४५) पछिको संवृद्धि र स्वरूपहरु:
द्वितीय विश्वयुद्ध पछि त अमेरिकी समृद्धिको उचाइलाई कसैले छुन सकेन। अमेरिका संसारकै शक्तिशाली मुलुकमा दर्ज भयो। दोस्रो विश्वयुद्धमा अमेरिकाले दुई लाख सन्ताननब्बे हजार (२९७,०००) वटा हवाई जहाज बनायो, छयासी हजार (८६,०००) ट्याङ्क बनायो, र छयत्तर हजार (७६,०००) वटा पानीजहाज । यस बाहेक असङ्ख्य मोटर भेहिकल, बन्दुक, तोप, गोला बारुद बनायो। यस बाट अमेरिकाले रोजगारी सृजना पनि गर्‍यो र नाफा पनि कमायो। युद्ध समाप्ति पछि युद्ध सामाग्री बनाउने करखानाहरुले अब मोटरकार, टेलिभिजन, रेफ्रीजेरेटर, डिशवासर, साइकल तथा अन्य घरायसी मसिनहरू बनाउन थाले।

सुख र सम्बृद्धिको कारण सन १९६० पछि जन्मेकाहरू अग्ला, पुष्ट र सुन्दर देखिन्थे। त्यो नस्लको उचाइ पनि २-३ इन्च अग्लो थियो। द्वितीय विश्वयुद्धमा अमेरिकी भूमिमै आक्रमण भएर पनि अमेरिका सामर्थ नै गुम्ने गरी कमजोर भएको थिएन। सहरहरू ठिकठाक चलिरहेका थिए। जनसङ्ख्या पनि पर्याप्त थियो। सबै व्यापार, व्यवसायहरू चकाचक थिए। देशमा संसारकै ठुला ठुला उद्योगहरू स्थापित हुँदै थिए। हरेक बन्दरगाहहरू व्यस्त थिए। हरेक सहरहरूमा गगन चुम्बी भवनहरू बन्ने प्रतिस्पर्धा नै चलेको थियो।

विश्वयुद्धबाट फर्किएका लाखौँ सिपाहीहरुकोलागि आवास क्षेत्रहरू बन्न थाले। युद्ध बाट फर्केका सिपाहीहरू शान्त र आरामदायी जिन्दगी बिताउन घर किन्न खोज्न थाले। रसियन आप्रवासीका ३८ वर्षीय छोरा बिल लेविट्ट ले सरकारी कन्ट्र्याक्टरको रूपमा घर बनाउन थाले। देशै भरी उनका सबकन्ट्र्याक्टरले घर बनाउँथे। दैनिक लग भग ३६ वटा घर तयार गर्दथे। एकै वर्षमा सयौँ बस्तीहरू तयार गरिदिन्थे। रातारात घरै घर र बस्तीहरू बस्न थाले। नयाँ नयाँ परिवारको चहलपहलले बस्तीहरू गुलजार भए।

पारिवारिक मिलनले गर्दा अमेरिकी जनसङ्ख्यामा पनि उल्लेख्य वृद्धि भएको थियो। सन १९४६ देखी १९६४ सम्मा सात करोड पचास लाख (७५०,००,०००) बच्चाहरू जन्मेका थिए। जनसङ्ख्या वृद्धिले घरायसी बस्तुको अत्यधिक माग बढेको थियो। सन १९५० मा त अमेरिकामा प्रतिहप्ता अठहत्तर (७८,०००) वटा टेलिभिजन सेट बिक्री हुन थाल्यो। वर्षमा चालिस लाख (४०,००,०००) वटा सम्म बिक्री भएको थियो। सन १९६० तिरै लगभग ८३% अमेरिकी घरहरूमा टेलीविजन सेट थियो। धेरै वटा घरमा दुई दुई वटा कारहरू राखिएका हुन्थे। विश्वका कुल उत्पादनको लगभग दुई तिहाइ औद्योगिक उत्पादन अमेरिका भित्र हुन्थ्यो। र उत्पादनको एक तिहाइ देश भित्रै खपत हुन्थ्यो। बाँकी उपादन निर्यात गर्दथ्यो।

दोस्रो विश्वयुद्ध पछि अमेरिका जनसङ्ख्या, भूगोल र अर्थतन्त्र तिनै कुरामा सम्पन्न हुंदै गयो र हालको महाशक्तिको रूपमा स्थापित भयो। यसरी हरेक युद्धको शोकलाई अमेरिकाले शक्ति र समृद्धिमा बदलेको थियो ।