अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०८:४२ | Colorodo: 20:57

अनुदारबादी (रिपब्लिकन) र उदारवादी (डेमोक्रेट)हरूको सोचमा र मान्यतामा के फरक छ ?

पूर्ण श्रेष्ठ २०७७ चैत १० गते १०:३१ मा प्रकाशित

अमेरिकामा दुई प्रमुख राजनीतिक पार्टीहरूको आधारभूत मान्यताहरू फरक छन् । रिपब्लिकन पर्टिलाई अनुदारबादी (कन्जर्वेटिब) र डेमोक्र्याटहरुलाई उदारवादी, प्रगतिशील (लिबरल) भन्ने गरिन्छ । अनुदारबादीहरुलाई नेपाल तथा भारतमा दक्षिणपन्थी बिचारधार पनि भनिन्छ । समाजशास्त्रिहरुका अनुसार जुन बिचारधारा परम्परावादी छ, कट्टर धार्मिक छ, अहिलेको नराम्रो पहिलेकै व्यवस्था राम्रो भन्ने छ, त्यस्ता परिवर्तन विरोधी, परिवर्तनलाई आत्मसात् नगर्ने बिचार लाई दक्षिणपन्थी भनिन्छ । दक्षिणपन्थी समाजमा व्यक्तिको इछ्यामा निर्णय गर्ने क्षमतालाई परिवार, समाज, खानदानका संस्कार तथा संस्कृतिले पूर्ण दबाबमा राखेको हुन्छ ।

विषयगत हिसाबमा अनुदारबादी (रिपब्लिकन) र उदारवादी (डेमोक्रेट) लाई निम्न प्रकारले विभेद गर्न सकिन्छ ।

सरकारको कामकर्तब्यको बारेमा:
डेमोक्र्याटहरूको पहिलो मान्यता के हो भने सरकारले समान अवसर, समानता, मानव अधिकार, सामाजिक व्यवहार जस्ता कार्यहरूमा काम गरिरहनु पर्छ । परिवर्तन संसारको नियम हो । परिवर्तनलाई आत्मसात् गर्दै जानु पर्छ ।

रिपब्लिकनहरूको पहिलो मान्यता के हो भने सरकारले नागरिकहरूलाई जिम्मेवार बनाउने, सानो सरकार बनाउने, स्वतन्त्र अर्थतन्त्र, व्यक्तिगत स्वतन्त्रता, परम्परागत मूल्य मान्यताको जगेर्ना गर्ने काम गरिरहनु पर्छ । परिवर्तनको नाममा परम्परा र संस्कृतिलाई कुल्चनु हुँदैन । रिपब्लिकनहरू सानो आकारको सरकारमा विश्वास गर्छन् । सानो आकारको सरकार भन्नाले थोरै सङ्ख्याको मन्त्रीहरू र थोरै सङ्ख्याको कर्मचारीहरुमात्र होइन । सेवा सुविधा प्रदान गर्ने निकायहरूको सन्ख्या थोरै, नियम कानुनहरू थोरै, निर्णय प्रणाली र प्रक्रिया पनि थोरै हो ।

गर्भपतन:
डेमोक्र्याटहरु गर्भपतनलाई महिलाको स्वनिर्णयमा हुनुपर्छ भन्छन् । किनकि बच्चा पाउने वा नपाउने महिलाको शरीरले हो । भ्रूण कुनै मानव जीवन हैन । त्यसैले भ्रूण पतन गर्नु कुनै मानव जीवनको हत्या गर्नु होइन । त्यसैले महिला गर्भ पतन गराउन चाहन्छ भने सरकारले सहयोग र सुविधा प्रदान गर्नुपर्छ ।

रिपब्लिकनहरू भन्दछनकि मानबजीवनको सुरुवात भ्रूणबाटै हुने हो । त्यसैले गर्भ पतन गर्नु भनेको मानव जीवनकै हत्या गर्नु हो जन्म नै नभएको बच्चा माथि आमाको कुनै अधिकार हुन्न । आमा बेग्लई शरीर हो र पेटमा भएको बच्चा बेग्लई शरीर हो । त्यसैले करदाताको पैसा खर्च गरेर अर्को जीवनको हत्या गर्ने अधिकार आमा महिलालाई हुँदैन ।

सामाजिक न्याय:
डेमोक्र्याटहरु ठान्दछनकि विगतमा भएको सामाजिक भेदभावको कारण समाजमा प्रतिस्पर्धा गर्न नसक्ने निम्न वर्गहरू छन् । शारीरिक अवस्था, भाषागत कमजोरी, उमेर, मन्द बुद्धि जस्ता कारणहरूले पनि समाजमा निम्न वर्गहरू हुन्छन् । यस्ता निम्न वर्गको उत्थानको लागि सरकारले कार्यक्रमहरू गरिरहनु पर्छ ।

रिपब्लिकनहरू ठान्दछनकि, हरेक व्यक्तिमा क्षमताहरू फरक हुन्छन् । कोही जेहन्दार हुन्छन्, प्रतिस्पर्धामा खरो उत्रिन सक्तछन । कोही मन्द बुद्धिका हुन्छन्, प्रतिस्पर्धा गर्न सक्तैनन् । यस्ता व्यक्तिहरूलाई फरक अवसर प्रदान गर्नुलाई रेसिज्म भन्नु गलत हो । कुनै व्यक्ति रेसिस्ट हुन सक्ला तर पुरा अमेरिकी समाज रेसिस्ट छैन ।

अर्थतन्त्र :
डेमोक्र्याटहरु ठान्दछनकि ठुला ठुला कर्पोरेसनहरू नागरिकहरूलाई शोषण गर्दछन् । सरकारले ठुला कर्पोरेसनहरूलाई नियमन गर्नै पर्छ । खुल्ला छोड्नु हुँदैन । आर्थिक वृद्धि भन्दा आर्थिक समानता महत्त्वपूर्ण हो भन्दछन् । धनी वर्ग र गरिब वर्ग बिचको सङ्घर्षलाई महत्त्व दिन्छन् ।

रिपब्लिकनहरू ठान्दछनकि फ्री मार्केट प्रणाली, कम्पिटिटिब क्यापटिलिज्म, प्राइभेट इन्टरप्राइजेज नै अमेरिकी अर्थतन्त्रको मेरुदण्ड हो। यिनैले नै जनतालाई रोजगारी सृजना गरेको छ र जीवनस्तर उकासेको छ । आर्थिक ब्रिद्धिलाई महत्त्व दिन्छन् । असल र खराबलाई महत्त्व दिन्छन् ।

शिक्षा पद्धति:
डेमोक्र्याटहरु ठान्दछनकि सामाजिक, आर्थिक असमानता कमजोर शिक्षाबाट हुन्छ । सरकारी विद्यालयलाई सशक्त बनाउनु पर्दछ । शिक्षकहरूको तलब बढाउनु पर्दछ । शिक्षामा सरकारले खर्छ गर्नु पर्दछ । रिपब्लिकनहरू ठान्दछनकि निजी विद्यालयलाई सरकारले छुट दिनु पर्दछ । निजी विद्यालयहरूले मात्र प्रतिस्पर्धाको सृजना गर्दछ ।

बन्दुक नियन्त्रण :
डेमोक्र्याटहरु ठान्दछनकि संविधानको दोस्रो संशोधनले नागरिकलाई फायर आर्मस राख्ने बोक्ने अधिकार दिएको छैन । स्टेटहरूलाई नेसनल गार्डहरू राख्ने अधिकार मात्र दिएको छ । व्यक्तिलाई बन्दुक राख्न नदिएरै सरकारले जनतालाई सुरक्षा दिनु पर्छ । जति धेरै जनताले बन्दुक राख्छन् उति धेरै हिंसा हुन्छ ।

रिपब्लिकनहरू ठान्दछनकि दोस्रो संशोधनले हरेक नागरिकलाई फायर आर्म्स राख्ने अधिकार दिएको छ । देशमा भएका यती धेरै नियम कानुनहरू फायर अर्म्स नियन्त्रणको लागि पर्याप्त छन् । कानुन मान्ने नागरिकको हातमा बन्दुक भएमा हिंसा बढ्ने होइन अपराध कम हुन्छ ।

स्वास्थ्य सेवा:
डेमोक्र्याटहरु ठान्दछनकि सरकारले निःशुल्क स्वास्थ्य सेवा प्रदान गर्नु पर्दछ। दसौँ लाख अमेरिकीहरू निम्न आय भएका छन्। पैसा तिर्न सक्ने हालतमा छैनन् ।

रिपब्लिकन ठान्दछनकि फ्री मार्केट हेल्थ सिस्टमले सबैलाई स्वास्थ्य सेवा पाउने अवसर दिन्छ । स्वास्थ्य सेवा नि:शुक्ल गरेमा सेवाको गुणस्तर घट्छ । सरकारको लागत बढ्छ तर सेवाको गुणस्तर घट्छ । त्यसैले स्वास्थ्य सेवालाई निजीकरण गर्नु पर्छ । सरकारले चलाउनु हुँदैन ।

धर्म र राज्य:
डेमोक्र्याटहरु ठान्दछनकी चर्च र राज्यलाई अलग गर्नु पर्दछ । राज्यको लागि सबै धर्म बराबर हो । राज्यले कुनै धर्मलाई काखा र कुनै धर्मलाई पाखा गर्नु हुँदैन । सरकार चलाउनेहरूले कुनै धर्मको, कुनै धर्मअलम्बिको वा कुनै देउताको जय भन्नु हुँदैन । सार्वजनिक स्थानमा कसैले पनि कुनै आस्था झल्किने प्रदर्शन गर्नु हुँदैन । यदि कसैले धार्मिक कर्म गर्न चाहन्छन् भने आफ्नो आस्थाको मन्दिरमा, चर्चमा वा मस्जिदमा गरुन । धार्मिक कार्यहरू केवल बन्द कोठा भित्र गर्नु पर्छ ।

रिपब्लिकन्हरु ठान्दछनकि धर्म र राज्यलाई अलग गर्नु पर्छ भन्ने कुरा संविधानमा छैन । सरकारी भवनहरू तथा विद्यालयहरूमा धार्मिक सन्देशहरू राख्दा राम्रो हुन्छ । सरकारले धर्म र धार्मिक संस्कारमा हस्तक्षेप गर्नु हुँदैन ।

आप्रवासीहरूको बारेमा:
डेमोक्र्याटहरु ठान्दछनकि गैर कानुनी भए पनि अमेरिका भित्र आईसकेकाहरुलाई कानुनी हैसियत दिनु पर्छ । गैर कानुनीहरूलाई पनि, निःशुल्क शिक्षा, निःशुल्क स्वास्थ्य, आर्थिक सहयोग, सुविधा, सोसल सेक्युरिटी आदी दिनु पर्छ । कानुनी वा गैर कानुनी भन्दा पनि सबै मानव हुन भनेर व्यवहार गर्नु पर्छ ।

रिपब्लिकन्हरु ठान्दछन् कि गैर कानुनी आप्रवासी हुनै हुँदैन । गैर कानुनी प्रवेश गर्नेहरूलाई कडा कारबाही गर्नु पर्छ । गैर कानुनी आप्रवासीहरूले अनेक अपराध गर्दछन् ।

संयुक्त राष्ट्रसङ्घको बारेमा:
डेमोक्र्याटहरु ठान्दछनकि, संयुक्त राष्ट्रसङ्घ विश्वमा शान्ति र अमन चयनको लागि जरुरी छ । हरेक अमेरिकन नागरिक विश्व नागरिक बनुन् । राष्ट्रवाद र संरक्षणबाद्को कुरा कसैले नगरुन् ।

रिपब्लिकन्हरु ठान्दछन् कि संयुक्त राष्ट्रसङ्घ अमेरिकाको लागि आर्थिक बोझ मात्र हो । विश्वमा जहाँ जहाँ सङ्कट पर्छ, त्यहाँ त्यहाँ अमेरिका स्वयम उपस्थित नभै सङ्कट टरेको छैन । जब सङ्कट समाधानको लागि अमेरिकी उपस्थिति नभै हुन्न भने संयुक्त राष्ट्र सङ्घ किन चाहियो ?

म्याडिसन विस्कनसन