अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०८:५९ | Colorodo: 21:14

बच्चाको व्यवहार असल बनाउन अपनाउनुस् यी उपाय

बिआरटीनेपाल २०७७ माघ ३० गते ७:२५ मा प्रकाशित

सार्थक र प्रभावकारी उपदेश त्यो हुन्छ, जुन कुराबाट भन्दा पनि आफ्नै व्यवहारबाट देखाइन्छ । जुन कुरा हामी बच्चाहरुलाई सिकाउँछौँ त्यहि काम हामी आफैँले गरेर देखायौँ भने बच्चाले छिटो सिक्न सक्छन् ।
हामीले देखिरहेको हुन्छौँ कि कति बाबुआमा आफ्ना बच्चादेखि हैरान भएका हुन्छन् । ती बाबुआमा सँधै भन्ने गर्छन्, ‘मेरो बच्चा बिग्रियो, मेरो बच्चाले राम्रो बानि सिक्न सकेन् । राम्रो व्यवहार गर्न जान्दैन । हाम्रो कुरा सुन्दैन ।’ वास्तवमा बच्चाहरु कहिल्यै खराब हुँदैनन् उनीहरुको व्यवहार खराब हुने हो । सबै बच्चा सताउँछन्, उल्टो जवाफ दिएर नियम तोड्छन् । यो सबै बच्चाको स्वभाव नै हो । कुनै समय रिसको बेला बच्चाहरुले खराब व्यवहार गर्न सक्छन् । बच्चामा खराब बानी कुनै न कुनै कारणबाट हुन्छ । तर आमाबाबु भएपछि बच्चामा आउने खराब व्यवहारको कारण नदेखे झैँ भने गर्न हुँदैन । बच्चाहरुलाई कहिले मायाले त कहिलेकाँही सजाय दिएर पनि सुधार गर्न सकिन्छ ।

बच्चाका खराब बानी के हुन् ?
बच्चाका खराब बानीहरु यी नै हुन् भनेर भन्ने कुनै खास परिभाषा त छैन तर पनि यहाँ केही बच्चाका खराब बानी उल्लेख गरिएको छ ।

–ठूला मानिस अर्थात आमबुबाले नै भनेको सुन्न छोड्नु वा सुनेर पनि नसुने जस्तो गर्नु,
–खेल्नु बाहेक धेरै झगडा गर्न लाग्नु
–आमाबुवा लगायत घरका अग्रजलाई अनावश्यक सताउन थाल्नु
–अरु बच्चाहरुसँग पनि झगडा गर्नु
–बोलाउँदा नबोल्नु
–बच्चाले आफूले आफैँ बिरामी भएको कुरा बारम्बार भन्नु
–पढाइमा पछाडि पर्न थाल्नु
–अनावश्यक रिसाइरहनु
–ठूला मानिसको अपमान गर्न थाल्नु
–आमाबुबा वा अरुलाई पनि हात उठाउनु
–गलत शब्दको प्रयोग गर्न थाल्नु

खराब व्यवहार परिवर्तन हुन सक्छ त्यसका लागि बच्चालाई के भइरहेको छ भन्ने अनुसन्धान र माया गर्नु पर्छ । एक परामर्श दाताका अनुसार यदि तपाइको बच्चा गलत व्यवहार गर्न थालेको छ र तपाइले त्यो गल्तिलाई मात्र ध्यान दिनुभयो भने बच्चा पक्कै पनि रिसाउँछ । बच्चाको गल्तिमा गालि गर्नुभन्दा पनि उसले किन त्यस्तो व्यवहार गर्दैछ ? कहाँबाट त्यस्तो व्यवहार सिक्यो ? भन्ने कुरामा ध्यान दिनुपर्छ । र विस्तारै उसलाई मायाले राम्रो काम तर्फ केन्द्रीत गराउन थाल्नुपर्छ । बच्चालाई मायाले फकाएर लगायो भने चाँडै मान्छन् त्यसैले उनीहरुलाई विस्तारै आफैँले खराब बानीबाट टाढा बनाउने र राम्रा काममा व्यस्त बनाउने गर्नुपर्छ ।

बच्चाहरु आमाबुबासँग डराउँदैनन् । उनीहरुलाई आफूलाई लागेको कुरा आमाबुबासँग भन्छन् । झगडा पनि आमाबुबासँग नै गर्छन् । त्यसैले आमाबुबाले पनि बच्चाप्रति रिस देखाउने, गाली गर्ने, नराम्रो व्यवहार गर्ने जस्ता काम गर्छन् । त्यसो गर्नु हुँदैन । बच्चाले आमाबाबुबाट नै धेरै कुरा सिक्छन् । त्यसैले बच्चाले गलत व्यवहार गरे पनि आफूले त्यसलाई सच्याउने काम गर्नुपर्छ । फकाएर त्यस्तो गलत व्यवहार गर्नुहुँदैन भन्ने कुरा सम्झाउनुपर्छ । उनीहरुले आफूले देखाएको रिस, बोली व्यवहार फेरि अर्को दिन कपि गर्ने हुन त्यसैले उनीहरुको अगाडि सँधै राम्रो व्यवहार गर्नुपर्छ । बच्चा जति रिसाए पनि आमाबुबाले रिस देखाएनन् भने बच्चाले पनि विस्तारै रिसाउन बिर्सन्छ ।

बच्चाहरु गलत र सहि छुट्याउन सक्दैनन् । जसले जे बोलेको सुने त्यहि नक्कल गर्छन् । जसले जे गरेको देख्यो त्यहि नक्कल गर्छन् । त्यसैले बच्चालाई आमाबुबाले नै गलत र सहि व्यवहारको ज्ञान दिनुपर्छ । बच्चालाई उसले बुझ्न सक्ने गरी सहि र गलत व्यवहारबारे जानकारी दिनुपर्छ । उसले कुनै गलत व्यवहार गरेमा तुरुन्तै उसलाई त्यसबारेमा सम्झाउने र अब देखि त्यस्तो बोल्न अर्थात त्यस्तो व्यवहार गर्न हुँदैन भन्ने कुरा बुझाउनुपर्छ ।

बच्चालाई यसो गर उसो नगर भन्ने तर आमाबुबा अर्थात घरका मानिसले नै त्यो अनुशरण नगरेमा बच्चाले पनि अटेर गर्छन् । त्यसैले बच्चालाई राम्रो बानी बसाउनका लागि घरका अन्य सदस्यले पनि राम्रो व्यवहार र राम्रो बोलिमात्र प्रयोग गर्नुपर्छ । बच्चाका अगाडि सँधै राम्रा र सकारात्मक कुरामात्र गर्नुपर्छ । केही कुरा बोल्नुभन्दा पहिले बच्चा अगाडि भएको कुरालाई ख्याल गर्नुपर्छ । बच्चाले आफूहरुबाट नै सबै कुरा सिक्ने हो भन्नेकुरालाई ध्यानमा राख्दै सँधै राम्रो व्यवहार गर्ने कोसिस गर्नुपर्छ ।

आमाबुबाले समय दिन नसक्दा पनि कतिपय बच्चाहरुमा नराम्रा बानि विकास हुने गर्छन् । त्यसैले बच्चालाई आमाबुबाले सकेसम्म धेरै समय दिनुपर्छ । बच्चाहरुसँग खेल्ने, बच्चालाई पढ्दा पनि आफैँ बसेर सिकाउने, पढाउने, उनीहरुले चाहेको खेल खेलाउने, सयमसमयमा घुमाउन लैजाने, परिवारमा राम्रो र शान्त वातावरण कायम राख्ने, खानपानमा ध्यान दिने लगायतका कुरामा ख्याल गर्नाले पनि बच्चालाई खराब व्यवहारबाट मुक्त गर्न सकिन्छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू