अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०८:३१ | Colorodo: 20:46

टेक्ससका कृष्ण लामिछानेद्वारा एनआरएन अमेरिकाको अध्यक्षमा उम्मेदवारी घोषणा

बिआरटीनेपाल २०७७ माघ १६ गते ८:३३ मा प्रकाशित

टेक्सस । गैर आवासीय नेपाली सङ्घ (एनआरएनए) अमेरिकाका पूर्व बोर्ड अफ डाइरेक्टर कृष्ण लामिछानेले अगामी नेतृत्वमा अध्यक्ष पदको उम्मेदवारी दिने तयारी समेत गरेका लामिछानेले बिहीबार विज्ञप्ति जारी गर्दै उम्मेदवारी दिने तयारी गरेको बताएका छन् । साथै उनले अमेरिकामा रहेका नेपाली समुदायलाई सदस्यता लिन पनि अनुरोध गरेका छन् । एनआरएनएको सदस्यता लिने अन्तिम दिन फेब्रुअरी १५ हो ।

लामिछानेद्वारा जारी विज्ञप्तीः
आदरणीय मित्रहरू, दाजु भाइ तथा दिदी बहिनीहरू, पत्रकार साथीहरू, नमस्कार!!!
विगत २० वर्ष देखि म अमेरिकाको डालसलाई केन्द्र बिन्दु मान्दै तपईहरुको बिचमा म एक मित्र, एक व्यवसायी र एक सामाजिक स्वयंसेवकका हैसियतले कार्यरत रहेको विदितै छ।

आफ्नो परिवार र निजी ब्याबसायबाट समय निकालेर विभिन्न सङ्घ संस्था मार्फत एवं व्यक्तिगत रूपमा समेत प्रत्यक्ष वा अप्रत्यक्षरुपमा सामाजिक कार्यमा समर्पण गरिरहेको तपाइहरूलाई जानकारी नै छ।

नेपालबाट सात समुन्द्र पारी आएर अमेरिकामा नेपालीहरू बिचको आपसी सम्बन्धलाई अझ मजबुत बनाउन तथा विदेशी माटोमा नेपाली भाषा संस्कृतिको जगेर्ना गर्ने अभियानमा मैले एक इँटा थपेको समेत यँहाहरुले मूल्याङ्कन गर्नु नै भएको छ होला।

एक सामाजिक कार्यकर्ताको हैसियतमा समाजले मलाई हिजो पनि देखेको थियो- आज पनि देखि नै रहेको छ र भविष्यमा पनि देखि नै रहने छ। यही समाजबाट मेरो सामाजिक छवि बनेको थियो। नेपालबाट सपनाहरू बोकेर अमेरिका आएको एक ठिटोलाई यही समाजले नै सामाजिक कार्यकर्ताको परिचय दिएको गुनको मूल्य मैले कहिल्यै चुकाउन सक्ने छैन। यही समाजबाट उत्पत्ति भएको यो कृष्ण लामिछाने यही समाजमा सधैँ रहिरहने छ। त्यसैले कहिले काहीँ समाजसेवाका नाममा हुने नचाहिँदो राजनीतिक गुट बन्दी र विभाजनका कारण समाजले सही दिशा दिन नसके देख्दा तपांईहरू जस्तै मेरो मन पनि खिन्न हुन्छ ।

यही सन्दर्भमा गैर आबसिय नेपालीहरूको साझा सङ्गठन-NRNA अमेरिकाको चुनाव निकट भविष्यमा हुन गैरहेको छ । सोही क्रममा मैले पनि NRNA अमेरिकाको अध्यक्ष पदका उम्मेदवारी दिने जानकारी विभिन्न श्रोत मार्फत तपाइहरू माझ प्रस्तुत गरी सकेको छु। NRNA अमेरिकालाई साँचो रूपमा एक विशुद्ध सामाजिक संस्था बनाउन मेरो उम्मेदवारी हुने एक प्रमुख कारण हो। NRNA अमेरिकाको सदस्यता सधैँ अपारदर्शी, विवादित र बहसको विषय बन्दै आएको छ। त्यसलाई पूर्ण रूपमा सच्चाएर NRNA अमेरिकाका हरेक गतिविधिलाई पारदर्शी ढङ्गबाट अघि बढाउनु मेरो प्रमुख काम हुनेछ।

मेरो उम्मेदवारी चुनाव जित्नमा मात्र केन्द्रित हुने छैन भन्ने प्रस्ट गराउन चाहन्छु। मेरो उद्देश्य सामाजिक भावनाको सही विकास समाजमा हुनु पर्छ भन्ने मान्यतालाई अगाडी बढाउन हो । मेरो यो उम्मेदवारी समाजसेवा जस्तो पवित्र भावनामा आपसी कटुताको ग्रहण लाग्नु हुँदैन भन्ने सिद्धान्तको स्थापना गर्नु हो । मेरो उम्मेदवारी NRNA अमेरिका राजनीतिक आस्थाका आधारमा विभाजन हुनु हुँदैन भन्ने मान्यतालाई स्थापित गराउनका लागि हो ।

NRNA अमेरिकालाई पारदर्शी, स्वच्छ र अमेरिका भरि रहेका सबै नेपालीहरूको अपनत्व रहने संस्थाको रूपमा विकसित गर्ने मेरो लक्ष हो । यो लक्षलाई सफल पार्न तपांईहरूको प्रत्यक्ष सहभागिता बिना सम्भव छैन ।

त्यसैले संस्था शुद्धीकरण अभियानमा यहाँहरूको पनि सक्रिय रूपमा सहभागिताको अपेक्षा गर्दै NRNA अमेरिकाको सदस्य बन्न विनम्र अनुरोध गर्दछु । सदस्यता लिने अन्तिम मिति फेब्रुअरी १५ तारिख, २०२१ सम्म मात्र रहेको पुनः स्मरण गराउन चाहन्छु ।

धन्यवाद ।

सहयोग र सुझावको अपेक्षा सहित
कृष्ण लामिछाने
डालस, टेक्सस
२१४४५४०७३७
Email:nepalama@gmail.com

प्रतिक्रिया