अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १६:३८ | Colorodo: 04:53

कोलोराडोमा नेपाली सामुदायिक केन्द्रको स्थापना गर्ने बारेमा नेपाली घरको अपिल

बिआरटीनेपाल २०७७ कार्तिक २७ गते १२:०३ मा प्रकाशित

आदरणीय सम्पूर्ण नेपाली भाषी दाजुभाइ तथा दिदीबहिनीहरू,

सर्वप्रथम यहाँहरु सबैमा शुभ-दीपावली (तिहार) 2020 को हार्दिक मङ्गलमय शुभकामना छ । दीपावलीको यसै शुभ अवसर पारेर कोलोराडोमा नेपाली सामुदायिक केन्द्रको सम्बन्धमा यो अनुरोध गर्न चाहन्छौँ ।

कोलोराडोमा बसोबास गर्ने हामी नेपालीभाषीहरु विगत लामो समय देखी एउटा नेपाली घर (सामुदायिक भवन) निर्माण गर्ने अभियानमा लागेको कुरा यहाँहरू सबैलाई अवगत नै छ । नेपाली भाषा र संस्कृतिको संरक्षण र संवर्धन गरी हाम्रो पहिचानलाई जोगाउनुको साथै हाम्रा सन्ततीहरुलाई पनि हाम्रो भाषा संस्कृति तथा सामाजिक संस्कार सिकाएर हाम्रो मौलिक रीतिथिति र परम्परालाई नयाँ पुस्तामा हस्तान्तरण गर्ने वातावरण सृजना गर्नु नै यस सामुदायिक केन्द्रको महत्त्व हो भन्ने हामी सबैले बुझेका छौँ ।

यसै सिलसिलामा अहिले सबै नेपाली भाषी समुदाय, सङ्घसंस्था र बुद्धिजीवीहरूको लामो प्रयास र छलफलबाट हाम्रो सामुदायिक भवनको प्रयोजनको लागि कोलोराडोस्थित वेष्ट मिनिस्टरमा रहेको एउटा बन्द भएको चर्चको प्रोपर्टी किन्ने प्रक्रियामा हामी लागेको र त्यसको लागि पर्चेज कन्ट्रयाक्ट (MEC) पनि गरिएको कुरा यहाँहरूलाई सहर्ष जानकारी गराउन चाहन्छौँ । यो प्रोपर्टी 4001 W 76 Ave. Westminster, Co 80030 मा रहेको छ । करिब 2.17 एकड जग्गामा बनेको चर्च १० हजार स्क्यायर फिटकाे छ । भवनमा २५० जना बस्न सक्ने क्षमता भएको एउटा सैंक्चुअरी हल, फराकिलो किचन र पैन्ट्री सहितको एउटा ठुलो डाइनिङ हल, तीन वटा रेस्टरूम, दुई वटा कक्षाकोठा र एउटा अफिस कोठा रहेको छ। पार्किङको लागि प्रशस्त ठाउँ छ । यो प्रोपर्टीलाई हामीले जम्मा ९ लाख ५० हजार डलर मा किन्न लागिएको हो। यो ठाउँ प्राय हामी सबै कोलोराडोबासीहरुका लागि मध्य भागमा पर्दछ । तपाईँहरू पनि आफ्नो समय मिलाएर यो ठाउँमा गई हेर्नुहुन अनुरोध गर्दछौँ ।

अहिले यही भवनलाई मर्मत सम्भार गरेर काम चलाउँदै गर्ने र पछि भविष्यमा थप साधन र श्रोतको व्यवस्था भएपछि आवश्यकता अनुसार अरू हल र भवनहरू निर्माण गर्ने योजना रहेको छ । यो प्रोपर्टीलाई हामीले चाहेको जस्तो प्रयोजनको लागि उपयोग गर्न र हामीले भविष्यमा बनाउने अरू थप निर्माण कार्यहरूको लागि सिटी अफ वेस्ट मिनिस्टरको योजना विभागबाट स्वीकृति लिने प्रक्रियाको लागि हामी लागिसकेका छौँ । सिटी अफ वेस्ट मिनिस्टरबाट स्वीकृति पाइसकेपछि हामीले यो प्रोपेर्टी किन्ने छौँ । त्यसपछि मात्र यो प्रोपेर्टी हाम्रो नेपाली भाषी समुदायको साझा सम्पत्ति हुनेछ ।

अब सबैभन्दा महत्त्वपूर्ण कुरा हामीले छिटो भन्दा छिटो पैसा जम्मा गर्नुपर्ने छ । अहिले हाम्रो बैङ्क खातामा १ लाख ३० हजार डलर रहेको छ । यो प्रोपर्टी किन्न र मर्मत सम्भार गर्न हामीलाई धेरै पैसा चाहिन्छ । तपाईँ हामी सबैले खुला हृदयले जे जति सकिन्छ सक्दो धेरै डोनेसन गरेर नै रकम जम्मा हुने हो । तपाईंहामी मध्ये कतिपयले डोनेसन गरिसकेका छौँ भने, कतिपय त्यसको लागि तैयारी अवस्थामा रहेका छौँ । हाम्रा थुप्रै आदरणीय दाताहरुले दुई वर्ष अगाडि सम्पन्न भएको कोलोराडो श्रीमद् भागवत महापुराणको समयमा निश्चित डोनेसन रकम क़बूल (Pledged) गरिसक्नु भएको छ । हामी धेरै जना त्यति बेलाको लिस्टमा छुटेका छौँ । अब समय आएको छ हामी कोही पनि नछुटीकन डोनेसन जम्मा गर्ने । निश्चय पनि तपाईँहरूले गर्नुहुने डोनेसन रकमको साइज अनुसार डोनरहरूको उचित सम्मान (recognition) उक्त सामुदायिक भवनमा सधैँ हुनेछ ।

डोनेसनको लागि तपाईँले सोझै नेपाली घरको First Bank मा रहेको खाता नम्बर 386-125-3632 मा जम्मा गर्न सक्नुहुन्छ । चेक मेलबाट पठाउन सक्नुहुन्छ, किस्ताबन्दीमा ACH मार्फत हरेक महिना अटोमेटिक निश्चित रकम डोनेसन गर्न सक्नुहुन्छ , अथवा नेपाली घर लगायत कोलोराडोस्थित कुनै पनि सामाजिक संघसस्थाका प्रतिनिधिलाई सम्पर्क गरी उहाँ मार्फत पनि दाइगर्न सक्नुहुनेछ ।

त्यसैले सम्पूर्ण नेपाली तथा नेपाली भाषी, सामाजिक सङ्घसंस्थाका प्रतिनिधि, बुद्धिजीवी, व्यवसायी, समाजसेवी, गन्यमान्य, कलाकार, पत्रकार , सर्वसाधारण सबै जुटेर सक्दो धेरै डोनेसन गर्नुहुन तथा आफ्ना छर छिमेक इष्टमित्र साथीभाइ सबैलाई यो डोनेसन गर्ने अभियानमा सामेल गरेर सामुदायिक भवन (नेपाली घर) को स्थापना गर्ने महान् कार्यलाई सफल पार्नु सहयोग गरिदिनु हुन विनम्र अनुरोध गर्दछौँ ।

धन्यवाद ।

लछुमन राना
अध्यक्ष तथा सम्पूर्ण नेपाली घर परिवार
कोलोराडो, USA


नोभेम्बर १२, २०२०

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू