अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २०:३४ | Colorodo: 08:49

नेपाली पप संगितको चर्चित ‘ द एज व्याण्ड’ २२ बर्षपछि विघटन

बिआरटीनेपाल २०७७ कार्तिक २६ गते ६:१० मा प्रकाशित

नेपालको चर्चित पप सांगितिक व्याण्ड ‘द एज व्याण्ड’ ले विघटन भएको घोषणा गरेको छ । उक्त पोखरेली व्याण्डका संस्थापक सदस्यसमेत रहेका गायक जीवन गुरुङले सार्वजनिकरुपमा, अब आगामी दिनमा व्याण्ड एक भएर काम नगर्ने जानकारी दिनुभयो ।

‘द एज व्याण्ड’ को फेसबुक पेजमा लेखिएको छ, ‘गह्रौ मनले हामीले यो निर्णय लिएका छौँ कि विश्वभर नै फैलिएको कोरोना भाइरस महामारी र त्यसबाट सिर्जना भएको अवस्थाले गर्दा हामी हाम्रो सांगीतिक यात्रालाई निरन्तरता दिन नसक्ने भएका छौँ। जब परिस्थिती सामान्य हुन्छ, हामी साँच्चै नै नयाँ सोच र सदस्यहरुसहित गीत लिएर आउने छौँ। अहिलेको लागि हामीले व्याण्डले निरन्तरता नदिने र हाम्रो आफ्नै व्यक्तिगत प्रोजेक्टहरुमा अग्रसर हुने जानकारी गराउन चाहन्छौँ।’

उहाँले व्यक्तिगत रुपमा अहिलेसम्मको यात्रा सुन्दर बनाउन सहयोग गर्ने सबै फ्यानहरुलाई हृदयदेखि आभार प्रकट गर्नुभएको छ । अन्त्यमा गुरुङ्गले आफु छिट्टै गीत लिएर आउने जानकारी दिनुभएको छ । करिब दुई दशक नेपाली पप संगितमा अलग्गै पहिचान बनाएको यस ब्यान्डमा बिष्णु गुरुङ (लिड गितार), सन्दिप बिके (बेस गितार), अल्बिर परियार (रिदम गितार), गणेश राई (ड्रम), जीवन गुरुङ (स्वर) सदस्यहरु रहेका थिए।

द एज व्याण्डका ‘नचाहेको हैन तिमीलाई’, ‘सम्झिने मुटु’, ‘थाहा छैन’, ‘यो दिल मेरो’, ‘प्रयास यो मेरो प्रयास’, ‘मेरो आँशु’लगायत धेरै गीतहरु चर्चित छन्। पोखराका ६ जना युवाहरु मिलेर सन् १९९८ मा द एज ब्यान्ड खोलेका थिए। व्याण्डमा पटक पटक पुराना सदस्य छोड्ने र नयाँ सदस्य भित्रिने क्रम भईरहेको थियो। ब्यान्डका हालका सदस्यमा जीवन मात्र संस्थापक सदस्य हुनुहुन्छ ।

प्रतिक्रिया