अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०५:५९ | Colorodo: 18:14

जनतालाई धैर्य राख्न बाइडनको अपील, “कुनै दुबिधा छैन म ट्रम्पलाई हराउँछु”

बिआरटीनेपाल २०७७ कार्तिक २१ गते ६:३२ मा प्रकाशित

अमेरिकी राष्ट्रपतिका लागि जीत नजिक पुग्नुभएका डेमोक्र्याट उम्मेदवार पूर्वउपराष्ट्रपति जो बाइडनले अमेरिकी जनतालाई धैर्य राख्न अपील गर्नुभएको छ । सम्पूर्ण मत परिणाम आउने समयसम्म प्रतीक्षा गर्न आह्वान गर्दै बाइडनले प्रजातान्त्रिक प्रक्रियाको सम्मान गर्न पनि सबैसँग आग्रह गर्नुभएको छ ।

आफूले प्रतिष्पर्धी रिपब्लिकन उम्मेदवार वर्तमान राष्ट्रपति डोनल्ड ट्रम्पलाई हराउनेमा कुनै दुबिधा नरहेको भन्दै उहाँले जुन भोटले मुलुकको राष्ट्रपति चुनिन्छ त्यस्तो महत्वपूर्ण एकरएक मत गणना गरिनुपर्नेमा प्रष्ट गर्नुभयो । आफू र उपराष्ट्रपति पदका उम्मेदवार कमला ह्यारिसलाई गणना पूरा हुँदा आफूहरुको जीत हुनेमा पूर्ण विश्वास रहेको भन्दै उहाँले सम्पूर्ण नागरिकलाई शान्त रहन र चुनावको सबै प्रक्रिया पूरा हुन दिन आह्वान गर्नुभयो ।

उता रिपब्लिकन पार्टीका उम्मेवार ट्रम्पले भने मतगणना जारी रहेका पेन्सिलभेनिया मिचिगन, जर्जिया, नेभेदालगायतका राज्यको मतगणना रोक्न माग गर्दै अदालतमा मुद्दा हाल्नुभएको छ । ट्रम्पको चुनावी अभियानका नेताले गणितमा आफूहरु पछि परेको भन्दै अब अरु बाटोका लागि भगवानसँग कामना गर्नुको विकल्प छैन भनेका छन् ।

प्रतिक्रिया