अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १७:२१ | Colorodo: 05:36

दसैं भत्ता फिर्ता गर्ने कांग्रेसको निर्णय

बिआरटीनेपाल २०७७ कार्तिक ३ गते ६:४७ मा प्रकाशित

नेपाली कांग्रेसले दसैं भत्तावापतको रकम फिर्ता गर्ने निर्णय गरेको छ ।सांसदहरुलाई उपलब्ध गराइएको दसैं भत्ता कांग्रेसले फिर्ता गर्ने निर्णय गरेको हो । हालको विषम परिस्थितिमा जनप्रतिनिधिलाई दसैं भत्ता वितरण गर्ने सरकारको निर्णय समय सान्दर्भिक र उचित नभएको कांग्रेसको ठहर छ ।

‘उक्त रकमवापत हुन आउने ४३ लाख २० हजार ८१० रुपैयाँ जनताको उपचारका लागि संघीय संसद सचिवालयमार्फत् नेपाल सरकारले स्थापना गरेको ‘कोरोनाभाइरस संक्रमण रोकथाम, नियन्त्रण तथा उपचार कोष’मा जम्मा गर्ने निर्णय गर्दछ’ कांग्रेस प्रमुख सचेतक बालकृष्ण खाँणद्वारा सोमबार जारी विज्ञप्तिमा भनिएको छ ।

सांसदहरुले दसैं भत्ता लिएको सार्वजनिक भएसँगै त्यसको चर्को विरोध भएको थियो । त्यसपछि केही सांसदहरुले सो रकम फिर्ता गर्नुभएको थियो ।यस्तै, कोरोनाको परीक्षण र उपचार नागरिक आफैंले गर्नुपर्ने तथा संक्रमितको ‘होम आइसोलेसन’मा मृत्यु भएमा आफन्तले नै शव व्यवस्थापन गर्नुपर्नेजस्ता निर्णयले महामारीले विकराल रुप लिने भन्दै कांग्रेस संसदीय दलले आपत्ति जनाएको छ ।

आमनागरिकको जीवनमाथि नै खेलबाड हुनेगरी गरिएको निर्णयलाई तत्काल सच्याउन माग गर्दै कांग्रेसले जनताप्रति उत्तरदायी, संवेदनशील र गम्भीर बनी आमनागरिकको जीवनरक्षामा अग्रसर हुन सरकारको ध्यानाकर्षण गराएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू