अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २३:२२ | Colorodo: 11:37

पार्टी विभाजनविरुद्ध अदालत जाने उपेन्द्र यादवको तयारी, सरकारलाई समर्थन कायमै

बिआरटीनेपाल २०८१ वैशाख २६ गते ५:२५ मा प्रकाशित

जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादवले पार्टी विभाजनविरुद्ध अदालत जाने बताउनुभएको छ । आज काठमाण्डाैमा पत्रकार सम्मेलन गरेर अध्यक्ष यादवले पार्टी विभाजन गैरकानुनी, असंवैधानिक हुँदाहुँदै निर्वाचन आयोगले रातारात दल दर्ता गरेको भन्दै त्यसविरुद्ध अदालत जाने बताउनुभएको हो । पार्टी नेता अशोक राईले व्यक्तिगत स्वार्थका लागि सङ्घीयता, लोकतन्त्र, गणतन्त्र, मधेश र पहिचानको मुद्दालाई धरापमा पार्ने गरी पार्टी विभाजन गरेकाे यादवको आरोप छ ।

उहाँले भन्नुभयाे, ‘गैरकानुनी, असंवैधानिक तरिकाबाट रातारात पार्टी दर्ता गरेको घोषणा गरियो । नेपालको इतिहासमा यति छिटो प्रमाणपत्र दर्ता गरेको पहिलो चोटि हो । त्यसमा कुनै वैचारिक आधार छैन । सैद्धान्तिक आधार छैन । याेविरुद्ध हामी अदालतमा जान्छाैँ ।’

अध्यक्ष यादवले जसपा नेपालले वर्तमान सरकार ढालेर नेपाली कांग्रेसकाे नेतृत्वमा अर्को सरकार बनाउन लागेको भन्ने भनाइ कपोलकल्पित, आधारहीन र प्रायोजित ढङ्गले चलाइएको अफवाह भएको बताउनुभयो । उहाँले सरकारलाई दिएको समर्थन यथावत् रहेको पनि उल्लेख गर्नुभयाे ।

यादवले भन्नुभयाे, ‘सरकारमा नै रहेका केही साथीहरूले, केही पार्टीका नेताहरूले जसपा नेपालले सरकार ढालेर अर्को सरकार बनाउँदैछ भन्ने कपोलकल्पित, कुनै आधार नभएका प्रायोजित ढङ्गले चलाइएको अफवाह थियो । त्यस किसिमको कुनै प्रयास पनि थिएन, आवश्यकता पनि थिएन । जसपा नेपाल अहिले पनि वर्तमान सरकारलाई समर्थन गर्छ ।’

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू