अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १७:३९ | Colorodo: 05:54

‘गाउँमा नयाँ व्यक्ति आए समातेर एक साता क्वारेन्टिनमा राख्नू’–स्वास्थ्य मन्त्रालय

बिआरटीनेपाल २०७७ असोज ३० गते ७:१५ मा प्रकाशित

सरकारले गाउँमा नयाँ व्यक्ति आएमा एक साता क्वारेन्टिनमा लगेर राखिदिन आग्रह गरेको छ ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित कोरोना बिफ्रिङका क्रममा मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले टोल वा गाउँमा नयाँ व्यक्ति आएमा छिमेकीहरुले मिलेर क्वारेन्टिनमा लगेर राखिदिन आग्रह गर्नु भएको हो ।

यस्तै होम आइसोलेसनमा बसेका व्यक्ति घर बाहिर निस्किएमा नजिकैको प्रहरी वा स्वास्थ्य मन्त्रालयका टोल फ्रि नम्बरमा खबर गरिदिन पनि उहाँले आग्रह गर्नुभयो ।प्रवक्ता गौतमले अहिले बजारमा सामान किन्नेहरुको भिड देख्दा अचम्म लागेको र यो क्रमले सरकारलाई चिन्तित बनाएको समेत बताउनुभयो । विभिन्न छुटको नाममा मानिसको भिड बढाउने व्यापारी र यस्तो बेलामा सामान किन्न जाने मानिसहरु कोरोना फैलाउने कारण बनिरहेको भन्दै उहाँले यो बेला आफूसँग जे छ, त्यसैले काम चलाउन पनि आग्रह गर्नुभयो ।

यस्तै, सरकारले कोरोना संक्रमितको उपचारमा संलग्न स्वास्थ्यकर्मीलाई कोभिड– १९ को लक्षण देखिए वा संक्रमित भएमात्र क्वारेन्टिन वा आइसोलेसनमा बस्न निर्देशन दिएको छ । मन्त्रालयका प्रवक्ता डा. गौतममले सरकारले संक्रमितको उपचारमा संलग्न स्वास्थ्यकर्मीको अभाव हुन थालेपछि लक्षण देखिए वा कोरोना पोजेटिभ देखिएमात्र स्वास्थ्यकर्मी क्वारेन्टिन र आइसोलेसनमा बस्न निर्देशन दिएको बताउनुभयो ।

यसअघि सरकारी कोभिड अस्पतालमा १५ दिन उपचारमा संलग्न भएपछि १५ दिन क्वारेन्टिनमा बस्ने प्रचलन थियो । त्यस्तै संक्रमितको क्लोज कन्ट्याक्टमा भएकाहरु पनि क्वारेन्टिनमा बस्ने गरेका थिए ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू