अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०३:२८ | Colorodo: 15:43

असोज २ गतेदेखि मलमास शुरु हुने, मलमासमा के गर्ने के नगर्ने ?

बिआरटीनेपाल २०७७ भदौ ३० गते ८:१८ मा प्रकाशित

यस वर्ष असोज २ गते शुक्रबारदेखि ३० गते शुक्रबारसम्म मलमास अथवा अधिकमास परेको नेपाल पञ्चाङ निर्णायक समितिले जनाएको छ। ज्योतिषीय गणनाअनुसार ३६५ दिनको वर्ष हुन्छ।वर्षमा सौर र चान्द्रमास हुन्छन्। दुवैलाई समन्वय गर्न ३२ महिना १६ दिन एक घण्टा ३६ मिनेटमा मलमास वा अधिकमास आउँछ। एउटा औँसीदेखि अर्को औँसीसम्म सङ्क्रान्ति छैन भने त्यो महिनालाई मलमास भनिन्छ।

महिनामा दुई वटा सङ्क्रान्ति प¥यो भने क्षयमास भनिन्छ। ज्योतिषका विद्वान् भास्कराचार्यले आफ्नो ग्रन्थ सिद्धान्त शिरोमणिमा मलमास र क्षयमासको स्पष्ट परिभाषा दिएका छन्।

असङ्क्रान्तिमासोऽधिमासः स्फुटः स्याद् ।
द्विसङ्क्रान्तिमासः क्षयाख्यः कदाचित् ।।

अर्थात् सङ्क्रान्ति नभएको महिना अधिकमास वा मलमास हो। दुईवटा सङ्क्रान्ति भएको महिना क्षयमास हो। क्षयमास भने कहिले कहिले मात्र हुने गरेको छ। यसअघि क्षयमास २०२० सालमा परेको वास्तुशास्त्री शिवप्रसाद पोखरेलले बताउनुभयो । क्षयमास कात्तिक, मङ्सिर र पुसमा पर्ने गरेको छ। यसमा पनि बढीजसो मङ्सिर र पुसमा क्षयमास पर्छ। कात्तिक महिनामा भने क्षय र अधिकमास दुवै पर्न सक्छ। माघ महिनामा भने क्षय र अधिकमास दुवै पर्दैन। बाँकी आठ महिनामा अधिकमास पर्न सक्छ। क्षयमास हुने वर्ष दुई अधिकमास नियमितसमेत पर्छन्। यी अधिकमास क्षयभन्दा तीन महिना अगाडि वा पछाडि हुन्छन्। क्षयभन्दा पहिले हुने अधिकमासलाई ‘संसर्प’ र पछि हुने अधिकमासलाई ‘अंहस्पति’ भनिन्छ। सबै मासको देवता हुन्छन्।

मलमास महिनाको देवता नभएपछि मलमास रुदै भगवान् श्रीकृष्णसँग पुगेर आफूलाई अशुभ मास भनी सबैले हेलाँ गरेको गुनासो गरे। गुनासो सुनेर भगवान् श्रीकृष्णले नै मेरै नामबाट तिमीलाई अब सबैले चिन्नेछन् भनी पुरुषोत्तममासको नाम दिएको पुरुषोत्तममास माहात्म्य नामक ग्रन्थमा उल्लेख गरिएको छ।

अधिकमास (मलमास) मा के गर्ने ? के नगर्ने ?

मलमास अर्थात् अधिकमासमा नित्य कर्म पूजा, पाठ, जप, ध्यान गर्न हुन्छ। नित्य बसिरहेको व्रत गर्नुहुने विभिन्न शास्त्रमा वर्णन गरिएको धर्मशास्त्रविद् एवं समितिका अध्यक्ष प्रा डा रामचन्द्र गौतमले बताए। पहिल्यैदेखि गर्दै आएको व्रतलाई नियमितता दिन हुने तर नयाँ व्रतको शुरुआत् गर्नु नहुने नियम छ।

मलमासको समयमा महादान, माङ्गलिक कार्य अर्थात विवाह, व्रतबन्ध, गृहनिर्माण, गृह प्रवेशजस्ता गर्नु हुँदैन। यसैगरी गर्भाधान गर्नु हुँदैन, पहिले नै गर्भ रहेको भए दोष लाग्दैन। नवविवाहित श्रीमान् श्रीमतीले मलमासलाई छल्नु पर्छ भन्ने परम्परा पनि गर्भाधान गर्नु हुँदैन भन्ने मान्यतामै आधारित रहेको धर्मशास्त्रविद्को भनाइ छ। बृहस्पति र शुक्र अस्त भएका बेला गर्न नहुने जति कर्म मलमासमा पनि गर्नुहुँदैन।
–रासस

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू