अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०८:०१ | Colorodo: 20:16

अमेरिकामा ट्रम्पका समर्थक र रंगभेदविरोधी आन्दोलनकारीबिच झडप, एकको मृत्यु

बिआरटीनेपाल २०७७ भदौ १४ गते ७:१९ मा प्रकाशित

अमेरिकाको पोर्टल्याण्डमा राष्ट्रपति डोनाल्ड ट्रम्पका समर्थक र रंगभेद विरुद्ध आन्दोलन गरिरहेका ब्ल्याक लाइभ्स म्याटर अभियानका प्रदर्शनकारीबिच झडप हुँदा एकजनाको ज्यान गएको छ ।ओरिगन राज्यको पोर्टल्याण्डमा दुई परस्पर समूहबिच भएको झडपको क्रममा गोली चलेको र गोली लागेर एकजनाको ज्यान गएको स्थानीय अधिकारीलाई उद्धृत गरी अमेरिकी सञ्चारमाध्यमले जनाएका छन् ।

घटनास्थलको तस्बिरमा स्वास्थ्यकर्मीले गोली लागेका व्यक्तिलाई बचाउन प्रयास गरेको देखिन्छ । गोली लागेर मृत्यु हुने व्यक्ति श्वेत हुन् । प्रहरीले मृत्यु हुने व्यक्तिको पहिचान खुलाएको छैन ।ती व्यक्तिको मृत्यु झडप भएकै स्थानमा चलेको गोली लागेर भएको हो वा अन्य स्थानमा चलेको गोली लागेर भन्ने पनि प्रहरीले खुलाएको छैन । पोर्टल्याण्डमा पछिल्ला हप्ताहरुमा लगातार जस्तो रंगभेदविरुद्ध प्रदर्शन हुँदै आएको छ ।

गएको मे २५ मा प्रहरीको ज्यादतीका कारण निहत्था अश्वेत व्यक्ति जर्ज फ्लोइडको मिनेशोटाको मिनियापोलिसमा निधन भएपछि घटनास्थलसहित पोर्टल्याण्ड तथा अमेरिकाका विभिन्न शहरमा ज्यादती र रंगभेदविरुद्ध प्रदर्शन भइरहेको छ । ट्रम्पका समर्थकहरुले रंगभेदविरोधी आन्दोलनको विरोधमा प्रदर्शन गर्न थालेपछि अवस्था थप तनावग्रस्त बन्न थालेको हो । पोर्टल्याण्डमा लगातार तीन दिनदेखि ट्रम्प समर्थकहरुले प्रदर्शन गर्दै आएका छन् ।

प्रतिक्रिया