अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०८:४७ | Colorodo: 21:02

विश्व स्वास्थ्य संगठनलाई अमेरिकाले दिँदै आएको फण्ड रोक्न राष्ट्रपति ट्रम्पको निर्देशन

बिआरटीनेपाल २०७७ वैशाख २ गते २२:१२ मा प्रकाशित

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) लाई अमेरिकाबाट दिइँदै आएको फण्ड रोक्न निर्देशन दिनुभएको छ । ट्रम्पले कोरोना भाइरसमा डब्ल्यूएचओको भूमिकाको समीक्षा गर्दै अमेरिकाप्रति पूर्वाग्रही भएको आरोप लगाउँदै आउनुभएको छ । राष्ट्रपति ट्रम्पले डब्ल्यूएचओ पनि आधारभूत काम गर्न असफल भएकोले उसको जवाफदेहिता तय हुनुपर्ने टिप्पणी गर्नुभयो ।

अमेरिकाबाट सबैभन्दा ठूलो सहायता लिएर डब्ल्यूएचओ चीनको पक्षमा लागेको र कोरोना भाइरसको संक्रमण रोकथामका लागि ठोस काम गर्न नसकेको आरोप ट्रम्पले लगाउनुभएको छ । ट्रम्प केही दिनयता डब्ल्यूएचओप्रति क्रुद्ध हुदै आउनुभएको छ ।

विश्व स्वास्थ्य संगठनले उसको आधारभूत जिम्मेवारी वहन गर्न नसकेको उल्लेख गर्दै उहाँले संगठनले आफूलाई विश्वसनीय बनाउन सक्नुपर्नेमा जोड दिनुभयो । ह्वाइट हाउसमा आयोजित पत्रकार सम्मेलनमा ट्रम्पले चीनको गलत सूचनाले संसारभर कोरोना भाइरसको संक्रमण फैलिएको आरोप समेत लगाउनुभयो ।

कोरोना भाइरस महामारी संसारभर फैलिरहेको संकटपूर्ण अवस्थामा ट्रम्पले डब्ल्यूएचओ फण्ड रोक्न निर्णय गर्नुभएको हो । यसभन्दा अघि ट्रम्पले संयुक्त राष्ट्र संघलाई दिइने कोषमाथि पनि प्रश्न उठाउँदै अमेरिकालाई ग्लोबल क्लाइमेट एग्रीमेन्टबाट अलग गर्नुभएको थियो । विश्व व्यापार संगठन पनि ट्रम्पको निशानामा पर्न थालेको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू