अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०६:४८ | Colorodo: 19:03

न्युयोर्कमा कोरोनालाई पराजित गरेको नेपाली परिवार – ‘हामीले जित्यौं, कोरोनाले हार्यो’

किशोर पन्थी, खसोखास २०७६ चैत १७ गते १४:०१ मा प्रकाशित

न्युयोर्कको उडसाइड ५१ स्ट्रीटमा बस्दै आएका ४४ बर्षकी निमा शेर्पा र ४७ बर्षका सोम गुरुङको परिवार मार्चको दोश्रो साता कोरोना भाइरसको चपेटामा पर्यो । तर अहिले यो परिवारले कोरोनालाई जितिसकेको छ । झण्डै २ सातासम्म कोरोनासँगको लडाईपछि निमा शेर्पाले भनिन् – ‘हामीले अन्तत कोरोना भाइरसलाई जितेरै छाड्यौं । हामीले जित्यौं, कोरोनाले हार्यो ।’

उच्च मनोवल, घरेलु औषधी र स्वास्थ्य जीवनशैलीले आफूले कोरोनालाई पराजित गर्न सफल भएको निमा शेर्पाले बताइन् । उनले भनिन् – ‘मनोवल कमजोर बनायो भने र जिउ छाडेर पल्टियो भने कोरोनाले हामीलाई जित्छ, मनोवल उच्च बनायो भने र निरन्तर लडाई जारी राखेमा हामीले जित्न सक्छौं ।’

माउन्ट साईनाई अस्पतालमा कार्यरत नर्स निमालाई मार्च ९ मा पेटमा गढबढी भयो । उनलाई पेट ढुस्स भएजस्तो अनुभव भयो । उनले आफूलाई कोरोना संक्रमण भयो कि भनेर आंशका गरिन् । त्यसैले उनी काममा पनि गइनन् । तर मार्च १० मा उनी काममा गइन् र साथीहरुलाई पनि यो कुरा बताइन् । तर खोकी नलागेको र स्वास फेर्न गाह्रो नभएकाले यो कोरोनाको लक्षण नभएको बताए उनका साथीहरुले ।

मार्च १० र ११ मा काममा गइरहेकै बखत उनको घाँटीमा पनि खसखस भयो । पहिलेदेखि नै साइनसको समस्या भएकाले उनले त्यही नै होला भनेर ठानिन् । स्थीति सामान्य नै होला भन्ठानेर उनले खासै वास्ता गरिनन् । तर कोरोना भाइरसका सन्दर्भमा विश्वब्यापी रुपमा महामारी तीब्र बन्दै गइरहेकाले आफूलाई कतै संक्रमण त भएन भनेर उनलाई भित्रभित्रै भने लागिरहेको थियो ।

उनी अस्पतालमा फ्रन्टलाइनमा नै बिरामीसँग भेटेर काम गर्नुपर्ने भएकाले उनले आफूलाई संक्रमणको जोखिम भएको पहिलेदेखि नै अनुभव गरेकी थिइन् । बिरामीलाई यात्रा गरे नगरेको समेत अनौपचारिक रुपमा सोध्ने गर्थिन् उनले । कसैले चीनबाट आएको भन्थे, कसैले हङकङबाट आएको भन्थे । उनीहरुसँगको संसर्गमा आएका कारण आफू कोरोना भाइरसको जोखिममा रहेको उनलाई अनुभव भइरहन्थ्यो ।

सुरुमा पेट दुख्दा र घाँटी खसखस गर्दासम्म त उनले खासै वास्ता गरेकी थिइनन् । तर उनलाई अचानक ज्वरो आयो । ज्वरो नाप्दा ९९ दशमलव ९ डिग्री फरेनहाइट थियो । सुरुमा त आफै अत्तिएर र नर्भस भएर ज्वरो आएको हो कि भन्ठानिन् । उनी भन्छिन् – ‘ज्वरो नै आइसकेपछि भने मलाई कोरोना संक्रमण भयो भन्ने कुरामा म बढी ढुक्क भएँ । किनभने मलाई १० बर्ष अगाडि कान्छोछोरा जन्मिने बेलादेखि यता ज्वरो आएको थिएन ।’

ज्वरो आइसकेपछि उनी माउन्ट साइनाई अस्पतालकै इम्प्लोई हेल्थमा गइन् । डाक्टरले कोरोना सङ्क्रमणको आंशका गरेनन् । कोरोना टेस्ट गर्न मानेनन् । बरु फ्लु टेस्ट गर्ने बताए । त्यसपछि निमा घरमा आइन् । घरमा आएपछि उनलाई ज्वरो बढ्दै गएको थियो । डाक्टरलाई फोन गर्दा पनि फ्लु नेगेटिभ भएको बताए । फ्लु नेगेटिभ भएपछि उनले आफूमा कोरोना संक्रमण भएको शतप्रतिशत यकिन गरिन् ।

मार्च १४ तारिख शनिवार बिहान उठ्दा सँगै सुतेका श्रीमान् सोम गुरुङलाई हनहनी ज्वरो आइरहेको थियो । खोकी पनि लागिरहेको थियो । अचानक ज्वरो आएपछि निमा आत्तिइन् । त्यसपछि औषधी लिनका लागि फार्मेसीमा गइन् । मास्क लगाएर फार्मेसीमा गएकी उनले अरूलाई संक्रमण नहोस् भनेर सावधानी समेत अपनाएकी थिइन् ।

‘म फार्मेसीमा जाँदा एक जना नेपाली मधुमेहका रोगी पनि त्यहाँ थिए । मैले आफूलाई कोरोना सङ्क्रमणको लक्षण देखिएको र आफ्नो नजिक नआउन उनीहरूलाई भनेँ । मधुमेहका बिरामी नेपालीलाई घरमै बस्न र औषधी चाहिए अरू कसैलाई पठाउन आग्रह गरेँ । किनभने मधुमेह लगायतका स्वास्थ्य अवस्था भएकाहरू कोरोनाको बढी जोखिममा हुनसक्ने भएकाले मैले घरमै बस्न सुझाव दिएकी थिएँ ।’ – निमाले भनिन् ।

फार्मेसी विभिन्न औषधी र भिटामिनहरू किन्न गए पनि त्यहाँ औषधीको अभाव भइसकेको थियो । त्यसैले खासै केही पाइएन । त्यसपछि उनी कस्ट्को स्टोरमा गइन् । त्यहाँ बल्लतल्ल केही भिटामिनहरू पाइन् । त्यसपछि ज्याक्सनहाइटको पटेल ब्रदर्समा गएर जडीबुटी , मसला र बेसार किनेर ल्याइन् । घरमा आइसकेपछि सबै जडीबुटी पकाएर श्रीमान्लाई खुवाइन् ।

त्यसपछि उनले ८ सयको फोन लाइनमा कल गरेर श्रीमान्लाई सन्चो नभएको र कोरोना सङ्क्रमणको आंशका रहेको बताइन् । तर स्वासफेर्न गाह्रो नभएसम्म कोरोना सङ्क्रमणको परीक्षण नगर्ने बताइयो । उनले भनिन् मैले कोरोना सङ्क्रमणको लक्षण देखिएपछि परीक्षणका लागि कुनै प्रोटोकल होला भनेर फोन गरेकी थिएँ । तर उनीहरूको कुनै तयारी थिएन । उल्टै उनीहरूले टेस्ट नगर्ने बताए ।

त्यसपछि निमाले कसैको भर नपरेर कोरोना संक्रमणबिरुद्ध आफै जुध्ने अठोट गरिन् । उनी भन्छिन् – ‘कोरोना टेस्ट समेत नगर्ने बताएपछि सुरुमा मेरो आत्मबल निकै गिरेको थियो । म पछि लाग्यो म कोरोनाबिरुद्ध आफै लड्नुपर्छ । आफैले लडेर कोरोनालाई जित्न सकें भने सकेँ नत्र अरूको भर परेर नहुने रहेछ भन्ने लाग्यो । यो लडाई आफ्नै हातमा रहेछ भन्ने लाग्यो मलाई ।’

अस्पतालमा गएको खण्डमा कोरोना संक्रमण नभएको व्यक्तिलाई पनि भींडभाडका कारण कोरोना संक्रमण हुने खतरा थियो । त्यसैले उनी मार्च १७ मा कोरोना परीक्षणको आशामा अलिक टाढा रहेको सीटीएमडीमा श्रीमान्लाई गाडीमा राखेर लगिन् । उनले भनिन् – ‘भींडभाड भएको अस्पतालमा जाँदा आफूलाई भए अरू निरोगीलाई सर्ने र आफूलाई नभए पनि अरूबाट सर्ने खतरा भएकाले मैले अलिक टाढाको सीटीएमडीमा जाने निर्णय गरेँ ।’

सीटीएमडीमा झन्डै २० मिनेट प्रतीक्षा गरेपछि उनीहरूलाई डाक्टरलाई भेट्न पाए । डाक्टरले उनका श्रीमान्को कोरोना परीक्षण गर्न मानेनन् । डाक्टरले हाम्रो प्रोटोकल छ टेस्ट गर्न मिल्दैन भने । निमाले आफू यति टाढा टाइलोनोलका लागि नआएको, आफ्नो श्रीमान् उबर चालक र आफू नर्स भएकाले दुबै जना पहिलेदेखि नै सङ्क्रमणको जोखिममा रहेकाले कोरोना टेस्ट गर्न भनिन् ।

अन्ततः डाक्टरले फ्लुको टेस्ट गरे । अर्को ब्याक्टेरिया पनि टेस्ट गरे । दुवै टेस्ट नेगेटिभ देखिएपछि डाक्टरले पनि कोरोना सङ्क्रमणको आशङ्का गरे । अस्पतालमै लगातार खोकी लागेपछि र ज्वरो आएका कारण डाक्टरले निमाका श्रीमान् सोमको कोरोना परीक्षण गर्न तयार भए । अन्ततः : कोरोना परीक्षणका लागि सोमको नमुना लिइयो ।
त्यसपछि उनीहरू घर फर्के । घर फर्केपछि सोमलाई ज्वरो अझ बढ्यो । एकदमै ज्वरो आउने र खलखली पसिना आउने भयो । हुन त निमालाई पनि ज्वरो आइरहेको थियो तर उनले आफ्नो मनोबल उच्च राखिन् । उनी भन्छिन् – ‘ज्वरो मलाई पनि आएको थियो । टाउको दुख्ने र खोक्ने भइरहेको थियो । तर मैले नै हातखुट्टा छाडेँ भने मेरो परिवार सकिन्छ भन्ने लाग्यो । त्यसैले आफू बिरामी हुँदाहुँदै पनि औषधी खाँदै परिवारको हेरचाहमा लागेँ ।’

सुरुमा बच्चाहरू कोरोना सङ्क्रमणको जोखिममा नरहेको बताइएको थियो । तर पछि कोरोना संक्रमण जो सुकैलाई पनि हुनसक्ने समाचारहरू आए । त्यसपछि बच्चाहरूलाई पनि कतै संक्रमण त भएन भनेर निमा आत्तिइन् । उनले बच्चाहरूको ज्वरो नापिन् । १६ वर्ष र १० वर्षका दुवै छोराहरूमा ज्वरो देखियो ।

‘बुढाको हेरचाहमा व्यस्त रहँदा मैले मैले बच्चाको खासै ख्याल गर्न सकेको थिइन । उनीहरू खेल्दै बसिरहेका थिए । तर उनीहरूको तापक्रम नाप्दा ज्वरो देखियो । जेठो छोरालाई ज्वरो आउने र घाँटी दुख्ने लक्षण समेत देखियो । त्यसपछि मैले सबै परिवारलाई कोरोना संक्रमण भएको अनुमान गरेँ ।’ – निमाले बताइन् ।

सीटीएमडीमा गएर नमुना दिएको एकसातापछि कोरोना परीक्षणको नतिजा आयो । श्रीमान् सोम गुरुङमा कोरोना पोजेटिभ देखिएको डाक्टरले बताए । तर अरुको पनि परीक्षणका लागि सोध्दा परिवारका एकजनामा पोजेटिभ देखिएपछि अरुको चेक गर्न आवश्यक नभएको बताइयो । मार्च २५ मा कोरोना संक्रमणको पुष्टी भएपछि निमाले अझ बढी सजगता अपनाइन् ।

अस्पतालमा भन्दा घरमै श्रीमान् र आफ्नो हेरचाह बढी हुनसक्ने ठानेर निमा आफू पनि घरमै बसिन् र श्रीमानलाई पनि घरमै हेरचाह गरिन् । तातोपानी र सुप पकाएर आफू पनि खाइन्, परिवारलाई पनि खुवाइन् । श्रीमान्लाई टाइलोनोल लगायतका औषधीहरु मात्रा मिलाएर खुवाइन् । भिटामिन सी र फलफुलहरु आफू पनि खाइन्, परिवारलाई पनि खुवाइन् ।

‘एकदमै गाह्रो नभएसम्म अस्पतालको इमर्जेन्सी रुममा नजानु नै उपयुक्त हुने रहेछ । घरमै बढी टेककेयर गर्न सकिन्छ । अस्पतालमा छुट्टै कोठामा राखेर बिरामीलाई परिवारका सदस्यलाई समेत भेट्न नदिने अवस्था आउँदा झन् बिरामीको मनोवल कमजोर भएर कोरोनाले जित्नसक्ने अवस्था आउने रहेछ । ‘ – निमाले आफ्नो अनुभव सुनाइन् ।

निमाले सुख्खा खोकी लाग्दा खसीको खुट्टाको सुपले राम्रो हुने कुरा बुढापाकाबाट सुनेकी थिइन् । त्यसैले उनले खसीको खुट्टा ल्याएर त्यसमा बेसार, अदुवा, टिमुर लगायतका मसला र जडिबुटी हालेर मज्जाले पकाइन् । त्यो सुप हरेक विहान आफूले खाइन् र परिवारका सबै सदस्यहरुलाई खुवाइन् । सुन्तला, स्याऊ लगायतका फलफुल खाने र ज्वरो नियन्त्रण नहुँदा टाइलोनोल लगायतका औषधीहरु खाइन् ।

‘अहिले परिवारका कुनै पनि सदस्यमा ज्वरो छैन । सबैले घरमै आराम गरिरहेका छन् । चारपाँचदिनदेखि कसैलाई पनि ज्वरो आएको छैन । हामीले स्वस्थ्य अनुभव गरिसकेका छौं ।’ – उनले हाँस्दै भनिन् – ‘हामीले जित्यौं । कोरोना भाइरसले हार्यो ।’

अहिले कोरोना भाइरस पोजेटिभ भए नभएको चेक गराउन खोज्दा डाक्टरले चेक गराउन नपर्ने बताएका छन् । तर उनीहरु सुनिश्चित हुनका लागि कोरोना भाइरस पोजेटिभ भए नभएको परीक्षण गराउन चाहन्छन् । निमा भन्छिन् – ‘हामी अहिले घरमै सबैजना आराम गरिरहेका छौं । बच्चाहरु अनलाइन क्लास लिइरहेका छन् । हामीले नियमित खाना खान लागेका छौं । तर एकपटक सुनिश्चित हुनका लागि टेस्ट गराउन चाहन्छौं ।’

कोरोना भाइरसको लक्षण ज्वरो आउने र खोकीलाग्नेमात्र नभई स्वाद र गन्ध लिनमा समेत समस्या हुने रहेको निमाको अनुभव छ । आफू र जेठो छोरालाई यो समस्या देखिएको उनले बताइन् । उनले भनिन् – ‘हामीले कफी पिउँदा पनि कुनै गन्ध र स्वाद थिएन । पानी पिएजस्तो हुन्थ्यो । खानाखाँदा पनि कुनै स्वाद थिएन । मलाई पहिले अमिलो खान निकै मुस्किल हुन्थ्यो । तर अमिलो खाँदा पनि कुनै स्वादको अनुभव भएन ।’

तर अहिले पनि स्वाद र गन्ध फर्किसकेको उनले बताइन् । अहिले दालभात पनि निकै मिठो लाग्न थालेको उनले बताइन् । विगत तीनदिनदेखि आफूहरुले स्वाद र गन्ध पनि अनुभव गर्न थालेको उनको भनाई छ ।

कोरोना भाइरससँग लड्नका लागि आत्मबल सबैभन्दा ठूलो कुरा भएको निमाको अनुभव छ । उनले भनिन् – ‘कोरोनालाई कुनै पनि हालतमा जित्न दिनु हुँदैन । आत्मबल उच्च राख्नुपर्छ । आत्तिनु हुँदैन । आत्तिएर हात खुट्टा छाडेर ढल्यो भने कोरोनाले जित्छ । घरमा नुहाउने लगायतका आफ्नो नियमित दैनिकी छाड्नुहुँदैन । हात खुट्टा छाडेर पल्टियो भने त मैले हारें, तैले जितिस् भनेर कोरोनालाई छाडिदिएजस्तै हो । त्यसैले जतिबेला पनि बेडमै पल्टिने नभई कुर्सीमा बस्ने र आत्मबल कायम राख्ने गर्नुपर्छ ।’

परिवारमा एकजनालाई संक्रमण भइसकेपछि अन्य सदस्यलाई संक्रमण हुने लगभग निश्चित नै भएकाले पोजेटिभ देखिएको बिरामीलाई कोठामा थुनेर राख्न नहुने उनको भनाई छ । कोरोनालाई स्वीकार गरेर त्यसबिरुद्ध लड्नुपर्छ भन्छिन् निमा । उनी भन्छिन् – ‘घरमा कसैलाई कोरोना संक्रमण भयो भने उसलाई कोठामा थुनेर बाहिरैबाट खाना फ्याकिदिने, औषधि फ्याकिदिने गर्ने हो भने बिरामीको मनोबल कमजोर भएर कोरोनाले जित्नसक्छ । बरु सबै परिवार मिलेर कोरोनासँग जुध्नुपर्छ ।’

यो बेलामा मानसिक स्वास्थ्य पनि एकदमै महत्वपूर्ण हुने निमाको भनाई छ । उनी भन्छिन् – ‘यो बेलामा मेन्टल हेल्थ एकदम महत्वपूर्ण छ । चिन्ता एकदमै हुने भएकाले त्यसको म्यानजमेन्ट गर्न सक्नुपर्छ । सकभर घरभित्र रमाइलो वातावरण बनाउनुपर्छ । गीत हेर्ने, कमेडी हेर्ने, हाँस्ने, रमाइलो गर्ने तरिकाले मुडलाई राम्रो बनाएमा कोरोनाबिरुद्ध लड्ने शक्ति प्राप्त हुन्छ । परिवारका सदस्यलाई भाइरस लाग्यो भने कोठाभित्र थन्काएर भेट्दै नभेट्ने गर्ने हो भने त बिरामीको इनर्जी एकदमै डाउन हुनसक्छ । त्यसैले यो बेला बिरामीलाई मानसिक सपोर्टको समेत आवश्यकता हुन्छ ।’

खसोखासबाट

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू