अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०३:३४ | Colorodo: 15:49

“अमेरिकामा मृतकको संख्या एक लाखमा राख्न सके धेरै राम्रो काम हुने”–राष्ट्रपति ट्रम्प

बिआरटीनेपाल २०७६ चैत १७ गते ८:१८ मा प्रकाशित

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्नो देशमा कोरोनाबाट मर्नेको संख्या १ लाखमा सीमित गर्न सके अमेरिकी प्रशासनले ‘धेरै राम्रो काम’ गरेको सिद्ध हुने बताउनुभएको छ । एक महिनाका लागि देशभित्रको बन्धन विस्तार गर्दै राष्ट्रपति ट्रम्पले अमेरिकी प्रशासनले मृतकको संख्या एक लाखमा सीमित राख्न सक्यो भने यसले ‘धेरै राम्रो काम’ गरेको ठहर्ने बताएको दि गार्जियनले लेखेको छ ।

आगामी अप्रिल १२ अर्थात् इस्टरबाट अर्थतन्त्र फेरि पूर्ववत् हुने बताउँदै ट्रम्पले आफ्नो भनाइमा परिवर्तन गर्नुभएको हो । जनस्वास्थ्यका विशेषज्ञहरुले यही पारा हो भने मृतकको संख्या दुई लाख हुन सक्ने चेतावनी दिएलगत्तै ट्रम्पले यस्तो बताउनुभएको हो । विशेषज्ञ, जनस्वास्थ्यविद र वैज्ञानिकहरुले कोरोनाभाइरस महामारीको सबैभन्दा खराब अवस्था आउने वास्तविकतालाई सामना गर्न ट्रम्प प्रशासनलाई बारम्बार सचेत गराइरहेका छन् ।

गार्जियन लेख्छ, “ह्वाइट हाउसस्थित रोज गार्डनमा बोल्दै राष्ट्रपति ट्रम्पले झूटा कुरा गरेर फेरि एकताका लागि गर्न सकिने अपीललाई कमजोर बनाए । पत्रकारलाई मौखिक रूपमा दुब्र्यवहार गरे र आफ्ना सल्लाहकारले हतारमा कुनै कदम नचाल्न आग्रह गरेको भन्दै १ जुनसम्ममा अवस्था सामान्य भैसक्ने आशा व्यक्त गरे ”।

सरकारी निर्देशनमा समूहमा ठूला भेला नगर्न, वृद्ध व्यक्ति र स्वास्थ्य समस्या भएका जो कोहीलाई घरमा बस्न आग्रह पनि गरिएको छ । मानिसहरूलाई सम्भव भएसम्म घरबाट काम गर्न आग्रह गर्दै रेस्टुरेन्ट, बारहरू, अनावश्यक यात्रा र सपिंगबाट अलग रहन आग्रह गरिएको छ । सरकारका वरिष्ठ सरुवा रोग विशेषज्ञ डा. एन्थोनी फौसीले अमेरिकामा कोरानोबाट मर्नेको संख्या दुई लाखसम्म पुग्ने चेतावनी दिएपछि ट्रम्पले कडाईको नीतिलाई अझै लम्ब्याउने निर्णय गर्नुभएको हो ।

प्रतिक्रिया