अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०६:१० | Colorodo: 18:25

भीरकोटमा क्लबले गर्‍यो सेनिटाइजर वितरण तथा सचेतना कार्यक्रम

मन गुरुङ २०७६ चैत १५ गते १०:४२ मा प्रकाशित

भीरकोट, चैत्र १५ । आँधी खोला पिस युथ क्लब बयरघारीले विश्वभर महामारीको रूपमा फैलिएको कोरोना भाइरसको रोकथामका लागि सेनिटाइजर, साबुन तथा मास्क वितरण सहित सचेतना कार्यक्रम सम्पन्न गरेको छ । कोरोना भाइरस (COVID-19) बाट आफू पनि बाँचौँ र अरूलाई पनि बचाऔँ भन्ने नारा सहित शनिवार भिरकोट नगरपालिका वार्ड न. ८ को विभिन्न टोलमा उक्त कार्यक्रमको आयोजना गरेको हो ।

कार्यक्रममा वितरित सामाग्री ग्रहण गर्दै जनएकता युवा क्लबका अध्यक्ष धन बहादुर गुरुङले सिङ्गो समाज प्रतिको सह्रानीय कार्य गरेकोमा क्लब प्रति आभार प्रकट गर्नु भयो । दुर्गम भेगमा रहेका न्युनवर्गिय परिवारलाई लक्षित गर्दै आयोजना गरिएको उक्त कार्यक्रमलाई नगरपालिकाले विशेष सहयोग गरेको थियो ।

नेपाल तरुण दल भीरकोट एवं आँधी खोला पिस युथ क्लब बयरघारीका अध्यक्ष युवा समाजसेवी राज कुमार गुरुङको संयोजकत्वमा आयोजित कार्यक्रममा क्लबका सचिव सुस्मिता गुरुङ, भीरकोट जेसिज वर्ष २०२० का वरिष्ठ उपाध्यक्ष प्रसुन मगर, युवा व्यवसायी भुवन सिंह गुरुङ र पतलादेवी युवा क्लब पखेरेका उपाध्यक्ष मन प्रसाद गुरुङले कार्यक्रममा सहजीकरण गरेका थिए ।

कार्यक्रम बिच बोल्दै संयोजक राज कुमार गुरुङले विश्वभर महामारीको रूपमा फैली रहेको कोरोना भाइरस प्रति केही सरकार पक्षका व्यक्तित्वहरू नै सजग नभएको प्रति दुख व्यक्त गर्नु भयो । पछिल्लो समय इटालीमा भइरहेको विषम परिस्थितिको स्मरण गर्दै भोलि नेपालमा पनि त्यस्तै रूप लियो भने हाम्रो के हाल होला? तसर्थ आजैबाट सबै सजग बनौँ, -उहाँले भन्नु भयो । आज आयोजित उक्त कार्यक्रम बाट वार्ड नम्बर ८ मा रहेका १५ सय भन्दा बढी घरधुरी लाभान्वित हुनेमा विश्वस्त रहेको उहाँले बताउनु भयो । उहाँ भीरकोट जेसिज वर्ष २०२० का कानुनी सल्लाहकार एवं भीरकोट उद्योग वाणिज्य सङ्घ बयरघारीका सदस्य समेत हुनुहुन्छ ।

यसअघि गत बिहीबार क्लबले नगरपालिकाको कार्यालयलाई ७ लिटर सेनिटाइजर र १०० थान मास्क हस्तान्तरण गरेको थियो ।

सम्बन्धित सामग्रीहरू