अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०८:४५ | Colorodo: 21:00

मौलिक संस्कृतिको जगेर्नामा तल्लिन: शान्तीरूपा तमु समाज

मन गुरुङ २०७७ फागुन २९ गते ९:०२ मा प्रकाशित

पोखरा, देश र देश भित्रका सिङ्गो समाजहरू यति बेला विकासोन्मुख छ । विकासका छालहरूले कहिँकतै विभिन्न धार्मिक र सांस्कृतिक पक्ष भने ओझेलमा पार्दै गइरहेको छ । खास गरी नेपालीहरूमा पश्चिमा संस्कृतिहरूको छापले हाम्रा मौलिकताहरू हराउँदै गइरहेको पाइन्छ । यसरी हराउँदै गइरहेको भाषिक, धार्मिक र सांस्कृतिक पक्षहरूको जगेर्ना गर्न जोडतोडले लागि परेका छन्, शान्तीरुपा बराहा थोक तमु समाज ।

बिहीबार रूपा गाउँपालिकाले स्थानीय तह स्थापना दिवस मनायो । स्थापना दिवसका क्रममा विभिन्न कार्यक्रमहरूको आयोजना गरे । जहाँ रोचक पक्ष थियो झाँकी प्रदर्शनी प्रतियोगिता । प्रतियोगितामा सम्पूर्ण वडा बाट विभिन्न झाँकी सहितका २० भन्दा बढी समूहले उपस्थिति जनाए । जसमध्ये शान्तीरुपा बराहा थोक तमु समाज वडा नम्बर ६ उत्कृष्ट ठहरियो ।

शान्तीरूपाले लोप हुँदै गइरहेको छ्याडू (गुरुङ समुदायको अर्घौंमा खेगीहरुले नाच्ने नाच), ट्होटे (हरेक वर्ष चैत्र र साउन महिनाको अन्तिम मङ्गलवार मनाइने पर्व) र चुट्का नाच सँगै परापूर्व कालमा पुर्खाहरूले प्रयोग गर्ने गरेका सिप्री, स्याकु, छप्रि, ठेकी, मदानी, गौबा, पुंङा, पेरेखु लगायतका सामाग्रीहरू प्रदर्शन गरेका थिए । गुरुङ पोसाकमा सजिएका ४० जना भन्दा बढी सङ्ख्यामा उपस्थित विभिन्न उमेर समूहका महिला, पुरुषहरूले समुदायमा प्रचलित खानपानका परिकारहरू समेत प्रस्तुत गरेका थिए ।

सामाजिक र सांस्कृतिक गतिविधिमा रमाउने मध्यको एक मानिन्छ गुरुङ समुदाय । सोही कारण हुन सक्छ आफ्नो धार्मिक, मौलिक र संस्कृतिको जगेर्नामा कुनै कसुर बाँकी राखेका छैनन् बराहा थोकका शान्तीरुपा तमु समाजले ।

कुनै बेला बारीको डिलमा बसेर कार्यक्रमहरूको आयोजना गरेको भए पनि अहिले आफ्नै भवन निमार्ण गरिसकेको समाजका सदस्य -हिरामाया गुरुङ बताउँछिन् । गाउँपालिका र स्थानीय डोनरहरू सहित गाउँलेहरूको श्रमदानले उक्त भवनको निर्माण भएको उनले बताइन् ।

कार्यक्रमका बिच भिडियो चित्र सँग कुराकानी गर्दै आफूहरू भौतिक पूर्वाधारहरू निर्माणको तयारीमा जुटेको समाजका अध्यक्ष सु. तुलबहादुर गुरुङले बताए । पिकनिक स्थलको निर्माणका साथै एटेच वाथारूम सहितको गेस्ट हाउस समेत निर्माण गरेर समाजकै युवालाई सञ्चालनको लागि जिम्मा दिएको जानकारी दिए । साथै, कोट भैरव धार्मिक पर्यटक क्षेत्रलाई बढवा गर्दै होम स्टे सञ्चालन गरेर पर्यटकलाई घुम्ने र बस्ने व्यवस्थामा प्रयासरत छौँ। -उहाँले भन्नु भयो ।

साततालाको बाटिका सहर छेवैमा रहेको बराहा थोकमा स्थानीय सरकारको योजना अन्तर्गत एक घर एक धारा खानेपानी योजना सम्पन्न हुने अवस्थामा छ। पूर्वाधारहरूको तीव्र विकास र सुन्दर भौगोलिक बनावट कै कारण उक्त गाउँ पर्यटकीय दृष्टिकोणले उत्कृष्ट गन्तव्य मान्न सकिन्छ । पोखरा बाट २१ किलोमिटर पश्चिममा अवस्थित उक्त गाउँ लेखनाथ, रुपाताल हुँदै जान सकिन्छ ।

सम्बन्धित सामग्रीहरू