अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २१:३७ | Colorodo: 09:52

महावीर पुनले तयार गरेको नमुना पीपीई मेडिकल काउन्सिलबाट स्वीकृत, आजैबाट ४ सय थान सिलाउन सुरु

बिआरटीनेपाल २०७६ चैत १३ गते २२:१९ मा प्रकाशित

काठमाडौं: महावीर पुनले तयार गरेको पर्सनल प्रोटेक्सन इक्युपमेन्ट (पीपीई)को नमुना स्वीकृत भएको छ। कोरोना संक्रमणविरुद्ध चिकित्सकहरू असुरक्षित रहेको नकारात्मक खबरहरूकै बिच सकारात्मक समाचार आएको हो। आजैबाट स्वीकृत नमुनाअनुसार पीपीई सिलाउन सुरु भएको छ।

विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ)ले कोरोना भाइरस (कोभिड १९) सङ्क्रमितको उपचार गर्नका लागि पर्सनल प्रोटेक्सन इक्युपमेन्ट (पीपीई) आवश्यक रहने जनाएको भए पनि नेपालमा त्यसको अभाव छ। सङ्क्रमितको उपचार गर्दा चिकित्सक, नर्स, स्वास्थ्य कर्मी र आइसोलेसन वार्डमा रहने सबैले अनिवार्य पीपीई लगाउनुपर्छ। टाउकोदेखि खुट्टासम्म छोपिने गरी मास्क, गाउन, फेस सिल्ड, जुत्ता लगाउनुपर्छ।

तर, यी सामाग्रीहरूको अभावका कारण हाल चिकित्सकहरूको व्यक्तिगत सुरक्षामा चुनौती थपिएको हो।

अस्पतालहरुमा स्‍वास्थ्यकर्मीका लागि आवश्यक सुरक्षा उपकरणको अभावबारे खबर आइरहँदा त्यस अभाव विरुद्ध सामाग्री उत्पादन गर्ने जिम्मा पाएको थियो, राष्ट्रिय आविष्कार केन्द्रले।

मार्च २३ तारिखका दिन एक साताका लागि पोखरा पुगेका आविष्कार केन्द्रका संयोजक महावीर पुनलाई शिक्षण अस्पताल काठमाडौँ र विपी कोइराला अस्पताल धरानले कोरोना भाइरस संक्रमण परीक्षणका लागि अत्यावश्यक पोसाक पीपीई बनाउने प्रस्ताव गरेको थिए।

उनले नाइँ भन्ने कुरै भएन। पोखराबाटै त्यसका लागि आवश्यक काम थाले।

पहिलो चरणमा नमुना बनाएर पीपीईकै परीक्षण गर्नु आवश्यक थियो। उक्त पीपीई मापदण्डअनुरुप बनेको खण्डमा तत्काल चार सय थान बनाउन पुग्ने कपडा (जापानी टफेटा), चेन र इलास्टिक जोहो गरेको थियो आविष्कार केन्द्रले।

बुधवार केन्द्रमा पीपीईको नमुना तयार भयो। त्यस पीपीईको जाँच गरेका हुन् डाक्टर भगवान् कोइरालाको टोलीले। कोइराला मेडिकल काउन्सिलका अध्यक्ष हुन् भने सरकारले गठन गरेको कोरोना भाइरस (कोभिड १९) संक्रमण रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समिति सदस्य हुन्।

‘उक्त स्याम्पलले स्वीकृति पायो। अब सुरुवाती चार सय थान बिहीबारदेखि नै बनाउन थाल्छौँ,’ महावीर पुनले पहिलो पोस्टसँगको कुराकानीमा भने।

उनका अनुसार हाल देशभरका अस्पतालमा हजारौँ पीपीईको आवश्यकता रहेको छ। तर, त्यो सङ्ख्यामा पीपीई बनाउनका लागि आवश्यक सामाग्रीको भने अभाव छ। उनले भने, ‘यो आपतको घडीमा पैसाकै कारण त काम रोकिँदैन। तर, बजारमा पीपीईका लागि आवश्यक सामान पाउनै मुस्किल। तर, पनि हामीले सक्दो धेरै ठाउँमा सम्पर्क गरेर टफेटा जुटाउँदै छौँ।’

पुनले जिम्मेवारी पाएसँगै आवश्यक कपडा, चेन र इलास्टिक खोजेका थिए। चार सय थानका लागि मात्र पर्याप्त कपडा जुट्यो। लगत्तै फेसबुकमार्फत्‍ उक्त विशेष कपडा सिलाउन तयार ट्रेलरको खोजी गर्दै स्टाटस लेखेका थिए। हाल केही कालिगडहरू उनको सम्पर्कमा आएका छन्। उपलब्ध कपडाले केही दिनमै चार सय थान पीपीई तयार हुने निश्चित छ। तर, हाल उनी थप कपडा र अन्य सामाग्री कसरी जुटाउने भन्ने चिन्तनमा छन्।

हाल नेपाललाई करिब १ लाख थान पीपीई सामाग्री आवश्यक छ। शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका निर्देशक डाक्टर सागरराज भण्डारीका अनुसार हाल अस्पतालसँग दुई हप्ताका लागि आवश्यक पर्ने पीपीई मात्रै रहेको छ।

‘हाल हामीसँग भएको उपकरण पुग्छ। तर, सङ्क्रमितको सङ्ख्या धेरै भए हामीलाई पीपीई पुग्दैन। त्यसैले हामीले ती सामाग्रीहरू आयात गर्दैछौं,’ उनले भने।

हाल शुक्रराजसँगै वीर अस्पताल, भक्तपुर अस्पताल, सैनिक अस्पताल र पाटन अस्पतालसँग मात्रै पर्याप्त पीपीई छ।

पीपीईको प्रयोगबिना कोरोना सङ्क्रमितको उपचार गर्दा चिकित्सक र स्वास्थ्यकर्मीहरुमा समेत संक्रमण सर्ने सक्ने सम्भावना हुन्छ। त्यसैले यी स्वास्थ्य उपकरणको अभावमा चिकित्सकहरूले कोरोना सङ्क्रमितको उपचारमा संलग्न हुने सम्भावना कम हुन्छ।

‘हाल यो सामाग्री विश्वभर अभाव छ। हामी यी सामान ल्याउने प्रयास गरिरहेका छौँ। सम्भवतः दुई हप्तामा यी सामाग्रीहरू भित्रिनेछन्,’ निर्देशक राजभण्डारीले भने।

उनले भनेजस्तै पीपीईको अभाव नेपालको मात्र समस्या भने होइन। कोरोना भाइरस संक्रमण विश्वव्यापी रूपमा फैलिएसँगै विकसित राष्ट्रहरूमा समेत यसको अभाव देखिएको छ। विश्व स्वास्थ्य सङ्गठनले लेखेको छ – कोरोना भाइरसको बढ्दो सङ्क्रमणका कारण पर्सनल प्रोटेक्टिभ इक्युप्मेन्टको अभाव विश्वव्यापी समस्या बनेको छ। मानिसले आत्तिएर पनि यसको खरिद गरिरहेका छन्। केहीले भने किनेर दुरुपयोग समेत गरेका छन्। तर, स्वास्थ्य कर्मीका लागि भने पीपीई नै सुरक्षाको एक मात्र उपाय हो। उनीहरूले आवश्यक पीपीई पाउँदा आफू मात्र होइन बिरामीहरूलाई समेत संक्रमणबाट जोगाउन सक्छन्।

तर, पीपीई, मास्क, पन्जा, फेस सिल्ड, रेस्पिरेटर्स, एप्रोन लगायतको अभाव अर्को चुनौती बनेको छ।

यही साताको सुरुवातदेखि अमेरिकास्थित मिनिसोटाका सामुदायिक स्वास्थ्य संस्थाहरू त बन्द नै हुन थालेको छ। त्यो पनि आवश्यक मास्कको अभावकै कारण। न्यु योर्क टाइम्सले जनाए अनुसार बार्न्स जेविस अस्पतालका डाक्टरहरूसँग पातलो खालका कागजी मास्क प्रयोग गरिरहेका छन्। त्यस्तै लस एन्जलसको एक अस्पतालमा आकस्मिक कक्षमा खटिएका डाक्टरलाई मिति गुज्रिएको मास्क दिइयो। उनीहरूले त्यसलाई लगाउन खोज्दा मास्कको इलास्टिक नै चुँडियो।

डाक्टर फैजाह ए बक्सले भनेका छन्, ‘आवश्यक सुरक्षा उपकरणको अभावले म आफै सुरक्षित हुन सकेको छैन। थाहा छैन म आफ्ना प्यासेन्टलाई कसरी जोगाउँछु।’

विश्वव्यापी महामारी फैलँदो अवस्थामा विश्व स्वास्थ्य सङ्गठनले आवश्यक सुरक्षा उपकरण उत्पादकलाई ४० प्रतिशतले उत्पादन बढाउन अपिल गरेको छ।

तर, नेपालको हकमा पीपीई अभाव होइन उपलब्धै नहुनु ठुलो समस्या बन्यो। महावीर पुनले समेत आफूले यसबारे आफू पूर्व जानकार नभएको जनाउँदै लेखेका छन्, ‘डाक्टरहरूले कोरोनाको बिरामी जाँच गर्दा लगाउने ड्रेसलाई पीपीई भन्दा रहेछन्। त्यसको अति नै आवश्यक परेको रहेछ। त्यो नलगाईकन डाक्टरहरूले कोरोना बिरामी जाँच गर्न नमिल्ने रहेछ।’ साभार: पहिलो पोस्ट फोटो: गुगल सर्च

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू