अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १०:५० | Colorodo: 23:05

नेपाल प्रवेशमा रोक लगाएपछि गौरीफण्टा नाकामा झडप, केही प्रहरी घाइते

बिआरटीनेपाल २०७६ चैत १० गते २२:२६ मा प्रकाशित

नेपाल भारत सीमा नाका गौरीफण्टामा भारतबाट नेपाल फर्किरहेका नेपालीहरूलाई प्रहरीले रोक्न खोजेपछि स्थिति तनावग्रस्त बनेको छ । ठुलो सङ्ख्यामा भारतबाट आएका नेपालीहरूले नेपाल प्रवेश गर्न खोजेका थिए । तर उनीहरूलाई प्रहरीले सीमामै रोक्न खोजेपछि झडप भएको हो । झडपमा परी केही प्रहरी सामान्य घाइते भएका छन् ।

सरकारले मुलुकभर मांगलबार बिहान देखि ‘लकडाउन’ गरेको छ । यसै बेला भारतका विभिन्न सहरहरूबाट नेपाल आउँदै गरेका नेपालीहरू सीमा नाकामा बिचल्लीमा परेका छन् । कैलालीको भारतसँग सीमा जोडिएको गौरीफण्टा नाका र कञ्चनपुरको गड्डाचौकी नाकाबाट नेपाल भित्रिरहेका सयौँ नेपाली बिच बाटोमै अलपत्र भएपछि बिचल्लीमा परेका हुन् ।

नेपालमा लकडाउन गरिएपछि उनीहरूलाई नेपाल प्रवेश गर्न दिइएको छैन । विश्वव्यापी महामारीका रूपमा फैलिँदै गएको कोरोना भाइरसको संक्रमण भारतमा पनि बढ्दै गएपछि अहिले सुदूरपश्चिम प्रदेशसहित विभिन्न ठाउँका नागरिकहरू आ आफ्नो गाउँघर तिर फर्किरहेका छन् ।

गौरीफण्टा सीमा नाकामा राति नै पुगेको भए पनि उनीहरूलाई नेपाल प्रवेशमा रोक लगाइएको छ । उनीहरूले खाना र पानी समेत नपाएको भन्दै आक्रोश पोखेका छन् । सीमामा रहेका नेपालीहरूको व्यवस्थापनका लागि पहल भइरहेको जिल्ला प्रशासन कार्यालय कैलालीले जनाएको छ । देशसंचारबाट

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू