अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०९:१३ | Colorodo: 21:28

कश्मीर मामिला समाधान गर्न राष्ट्रसंघले गरेको आग्रह भारतद्धारा अस्विकार

बिआरटीनेपाल २०७६ फागुन ५ गते ६:४९ मा प्रकाशित

कश्मीर मामिला समाधान गर्न पाकिस्तानसँग वार्ताका लागि संयुक्त राष्ट्रसंघले गरेको आग्रह भारतले अस्वीकार गरेको छ ।आइतबार पाकिस्तानको चार दिने भ्रमणमा आएका संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेर्रेसले वार्तामार्फत कश्मीरको समस्या समाधान गर्न गरेको आग्रह भारतले अस्वीकार गरेको हो ।

इस्लामावादमा पाकिस्तानका विदेशमन्त्री शाह महमुद कुरैशीसँगको संयुक्त पत्रकार सम्मेलनमा उहाँले दुई मुलुकबीच जारी तनावलाई लिएर राष्ट्रसंघ चिन्तित रहेको भन्दै संयमतापूर्वक तनाव कम गर्न आग्रह गर्नुभएको थियो । महासचिव गुटेर्रेसले राष्ट्रसंघको बडापत्र र सुरक्षा परिषद्को प्रस्तावअनुसार नै संवादमार्फत शान्ति र स्थिरतासम्म पुग्न सकिने भन्दै यो मामिलामा पहल गर्न आफु तयार रहेको बताउनुभयो ।

तर यसका लागि दुई देश सहमत हुनु आवश्यक रहेको उहाँको भनाइ थियो । यता भारतले भने महासचिव गुटेर्रेसको पहललाई खारेज गरिदिएको छ । भारतीय विदेशमन्त्रालयका प्रवक्ता रवीश कुमारले भारतको धारणामा कुनै बदलाव नआएको बताउनुभएको छ । उहाँले जम्मू–कश्मीर भारतको अभिन्न अंग रहेको र यसलाई पाकिस्तानले जर्बजस्ती कब्जा गरेको भन्दै यो मामिलामा आफुहरुलाई कुनै पनि मध्यस्थता जरुरी नरहेको बताउनुभयो ।

प्रवक्ता रवीशले भारतमा आतंकवाद फैलाउनबाट रोक्न राष्ट्रसंघले पाकिस्तानलाई दबाव दिनुपर्नेमा जोड दिनुभयो । महासचिवमा निर्वा्चित भएपछि गुटेर्रेसको पाकिस्तानको पहिलो भ्रमण हो । पाकिस्तान सरकार र राष्ट्रसंघीय शरणार्थी उच्चायोगको कार्यालय (युएनएचसिआर) ले संयुक्त रुपमा आयोजना गरेको ४० औँ वार्षिक कार्यक्रमलाई उहाँले सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू