अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०३:५४ | Colorodo: 16:09

ओस्कार अवार्ड २०२०– दक्षिण कोरियन फिल्म “पारासाइट” ठहरियो सर्वाेत्कृष्ट चलचित्र

बिआरटीनेपाल २०७६ माघ २७ गते ७:३८ मा प्रकाशित

हलिउड चलचित्रको सर्वाधिक सम्मानित एकेडेमी अर्थात ओस्कार अवार्डमा यो वर्ष पारासाइट सर्वोत्कृष्ट चलचित्र ठहरिएको छ । बोङ्ग जून–होको निर्देशनमा बनेको चलचित्रले सर्वोत्कृष्ट चलचित्रको अवार्ड जितेको हो । सर्वोत्कृष्ट निर्देशकको अवार्ड पारासाइटका निर्देशक बोङ्गले नै जितेका छन् । सर्वोत्कृष्ट चलचित्रमा पारासाइटले १९१७, जोकर, वन्स अपअन अ टाइम इन हलिउड, लिटल वुमन, म्यारिज स्टोरी, द आइरिस म्यान, जोर्जो याबिट तथा फोर्ड भर्सेज फरारीलाई पछि पारेको हो ।

दक्षिण कोरियन चलचित्रले सर्वोत्कृष्ट चलचित्रको अवार्ड जितेको हो । ओस्कारको इतिहासमा अंग्रेजी भाषा भन्दा बाहिरको चलचित्रले सर्वोत्कृष्ट चलचित्रको अवार्ड जितेको यो पहिलो पटक हो । पारासाइटले सर्वोत्कृष्ट अन्तर्राष्ट्रिय अर्थात अंग्रेजी भाषा भन्दा बाहिरको चलचित्रको अवार्ड पनि जितेको छ।

अमेरिकाको लस एन्जलसमा रहेको डल्बी थिएटरमा नेपाली समय अनुसार सोमबार बिहान भएको ९२ औँ संस्करणको ओस्कार अवार्डमा जोकरका लागि वाकिन फिनेक्सले सर्वोत्कृष्ट अभिनेताको अवार्ड जितेका छन् । उनले जोकरकै लागि गोल्डेन ग्लोब र बाफ्टा अवार्ड पनि जितेका थिए । उनले ओस्कारमा ‘वन्स अपअन अ टाइम इन हलिउड’ का लियोनार्डो डिक्याप्रियोसहितलाई पछि पारेका हुन् ।

सर्वोत्कृष्ट अभिनेत्रीको अवार्ड जुडीका लागि रेने जेल्वेगरले जितेकी छिन् । उनले गोल्डेन ग्लोब अवार्ड पनि जितेकी थिइन् । ब्राड पिटले सर्वोत्कृष्ट सहअभिनेता तथा म्यारिज स्टोरीका लागि लोरा डर्नले सर्वोत्कृष्ट सहअभिनेत्रीको अवार्ड जितिन् ।

प्रतिक्रिया