अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०९:२६ | Colorodo: 21:41

अनेसास कोरियाको बृहत् साहित्य मेला भव्य रूपले सम्पन्न

बिआरटीनेपाल २०७६ माघ १२ गते ९:५९ मा प्रकाशित

सौल, कोरिया । अनेसास कोरियाद्वारा आयोजित ‘बृहत् साहित्य मेला’ भव्य रूपले सम्पन्न भएको छ। शनिवार कोरियाको राजधानी सौलस्थित शुभेच्छा होटेलको सभा हलमा सो कार्यक्रम सम्पन्न भएको हो ।कोरियन चाड सलनालको अवसरमा गरिएको काव्य-सुधा अन्तर्गतको १२ औँ शृङ्खलामा नौ जना स्रष्टाहरूको विशेष रचना वाचन रहेको थियो ।

आयोजकले कविता, गजल र मुक्तकलाई एउटै मञ्चमा उभ्याएर नयाँ स्रष्टाहरूलाई ऊर्जा र प्रेरणा दिएको छ । प्रवासमा रहेर पनि आफ्ना सिर्जनाहरूलाई सुन्दर र कलात्मक मनोभावहरूले उच्छवासित गर्ने स्रष्टाहरूमा क्रमशः कवितातर्फ- मिलन कान्छा किराँती शकुन आँसु, गङ्गा बस्नेत, गजलतर्फ – जीवन भण्डारी, कमल बाछिटे सुमन तिमलसिना र मुक्तकतर्फ-रामचन्द्र शर्मा, अर्जुन लामा र सुशील अर्याल थिए । स्रष्टाहरूको काव्य शक्तिले सभाहल गुन्जाइमान थियो, दोङ्देमुन तातेको देखिन्थ्यो । कार्यक्रममा प्रमोद सारंगद्वारा लिखित हाइकु सङ्ग्रह ‘ अनूदित आँखाहरू’को लोकार्पण गरिएको थियो ।

सर्जकहरूले देश प्रेम, जीवन बोध, प्रवास पीडा, जीवन दर्शन, राजनीति, प्रेम आकर्षण, उन्माद ,डायस्पोरा लगायत नेपाल भ्रमण वर्ष २०२० सम्मलाई समेटेर रचना वाचन गरेका थिए । करिब ५ घण्टा लामो लगातार कार्यक्रममा शृङ्गारिक मुक्तकहरूले मनोरञ्जन प्रदान गर्दा तनाव हराएको देखिन्थ्यो । सो कार्यक्रममा तीन दर्जनको हाराहारीमा सर्जकहरूको बाक्लो उपस्थिति रहेको थियो । कार्यक्रममा सर्जकहरूलाई हौसला र सम्मान गर्ने उद्देश्यले प्रशंसा-पत्र पनि प्रदान गरिएको थियो ।

समाजसेवी जुनु गुरुङको प्रमुख आतिथ्यमा सम्पन्न सो कार्यक्रममा विभिन्न संघसस्थाका पदाधिकारीहरूको आतिथ्य रहेको थियो ।अनेसास कोरियाका वरिष्ठ उपाध्यक्ष डीआर न्यौपाने सूर्यले कार्यक्रम सञ्चालन गरेका थिए भने कार्यक्रमको सभापतित्व अनेसास कोरियाका अध्यक्ष प्रमोद सारंगले गरेका थिए । भर्खरै जापानमा भएको तेस्रो च्याप्टर सम्मेलनमा दोस्रो उत्कृष्ट च्याप्टर पुरस्कार प्राप्त गरेको अनेसास कोरियाले नयाँ वर्षको आगमनसँगै योग गुरु/ शान्ति दूत आचार्य राजन शर्मा (भीमसेन सापकोटा)को आतिथ्यमा ‘कोरियामा तनाव व्यवस्थापनको तालिम र योग साधना’ को कार्यक्रम सम्पन्न गरिसकेको छ । आगामी कार्यक्रम भने कोरिया व्यापी कविता प्रतियोगिता, पुस्तक विमोचन र रचना वाचन कार्यक्रम रहेको आयोजक समितिले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू